‘अन्तराष्ट्रिय एकल नाटक महोत्सव’ भव्य रुपमा सम्पन्न् - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘अन्तराष्ट्रिय एकल नाटक महोत्सव’ भव्य रुपमा सम्पन्न्



 

कठमाडौं । सर्वनाम थिएटरले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तराष्ट्रिय एकल नाटक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । चैत १९ गतेदेखि सुरु भएको महोत्सवको अन्तीम दिन ३ ओटा नाटक प्रदर्शन गरिएको थियो । नेपालको एउटा र हङकङको दुई ओटा नाटकहरु मञ्चन भएका थिए ।

 

बिरेन्द्र हमालद्वारा निर्देशित नेपाली नाटक देउकासीको मञ्चन गरिएको छ । पुरु लम्सालको लेखन रहेको उक्त ४० मिनेटको नाटकमा सुशिला थापाले अभिनय गरेकी थिइन् । ६५ वर्षीय अविवाहित महिलाको कथालाई नाटकमा देखाईएको थियो ।

 

दुई नाटकहरु हङकङको तर्फबाट प्रदर्शन गरिएको थियो ।  ‘सीटी फ्लेस’ र ‘फिप्टी ईअर्स रिमेनिङ अनचेन्ज्ड’को प्रदर्शन गरिएको थियो । ‘सीटी फ्लेस’मा हङकङकी ईदि लम फुन हिउको लेखन निर्देशन, तथा अभिनय रहेको थियो । करीब ३० मिनेटको नाटकमा एउटी केटी शहरमा ठाउँ खोज्दै जाँदा कुनै पनि ठाउँ उसले नपाएको कथालाई नाटकमा उतारिएको छ ।

 

अर्को नाटक ‘फिप्टी ईअर्स रिमेनिङ अनचेन्ज्ड’मा मक चिउ युले प्रस्तुत गरेका थिए । उनकै लेखन, निर्देशन तथा अभिनय रहेको नाटकमा मकले दर्शकहरुलाई मज्जाले हँसाउन सफल भएका थिए ।

 

कार्यक्रममा बोल्दै लण्डनबाट नाटक मञ्चनका लागि आएका निर्देशक माईकल उडउडले एस महोत्सवले सम्पूर्ण देशहरुलाई एकैठाउँमा भेला गराएको र नेपाललाई नजिकबाट चिन्न सहयोग गरेको बताए । उनले यति ठूलो अवसर दिएकोमा अशेष मल्ल र सर्वनाम परिवार धन्यवाद ज्ञापन गरेका छन् । महोत्सवमा सहभागी सबै स्वदेशी तथा विदेसी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । भारतीय रंगकर्मी अजित दासले सर्वनामबाट आफुले पाएको प्रमाणपत्र कागज मात्र नभई भावना भरिएको भन्दै मञ्चमै भावविहल भएका थिए ।

 

महोत्सवको समापन गर्दै सर्वनाम थिएटरकी प्रबन्ध निर्देशक डा. सावित्री कक्षपतीले सर्वनामले शुन्य बजेटमा पनि अन्तराष्ट्रिय स्तरको महोत्सवको आयोजना गर्न सफल भएकोमा सम्पूर्ण रंगकर्मी तथा स्वयंसेवकलाई धन्यवाद व्यक्त गरेकी छन्् ।

 

चार दिनसम्म चलेको महोत्सवमा १४ नाटक मञ्चन भएका थिए । बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, हङकङ, स्कटल्याण्ड, नेदरल्याण्डलगायत दर्जन देशका तीन दर्जनभन्दा बढी कलाकार तथा रंगकर्मी महोत्सवमा सहभागी भएका थिए ।