भित्री मोह यस्तो: राष्ट्रपतिमा दौडधुप, भण्डारीको दोहोरिने इच्छा, खनाल आकांक्षी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भित्री मोह यस्तो: राष्ट्रपतिमा दौडधुप, भण्डारीको दोहोरिने इच्छा, खनाल आकांक्षी



काठमाडौं। संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनाउने÷बन्न राजनीतिक दल र नेताहरू भित्री तयारीमा जुटेका छन् । निर्वाचन आयोगले २१ फाुगनका लागि मिति प्रस्ताव गरेसँगै आकांक्षीसहित दलहरू गुपचुप रूपमा भित्रभित्रै सहमति खोज्ने गरी अघि बढ्ने तयारीमा लागेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् । एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नै राष्ट्रपति पदका लागि कार्यकाल दो¥याउन चाहेकी छन् । उनले माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दो-याउन चाहेको स्रोतले बताएको छ ।

एमालेबाट राष्ट्रपतिका लागि बलियो दाबेदारका रूपमा वरिष्ठ नेता झलनाथ खनालसमेत देखिएका छन् । खनालले सार्वजनिक कार्यक्रमहरूमा पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने बताउँदै आएका छन् ।

पूर्वसभामुख सुवास नेम्वाङसमेत एमालेबाट राष्ट्रपतिका दाबेदार मानिन्छन् । अर्कातर्फ माधव नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ तर उनी सक्रिय राजनीतिमा नै जोड दिने तयारीमा छन् ।

कांग्रेसभित्र भने संसद्मा गणीतीय रूपमा कमजोर रहेकाले राष्ट्रपतिका लागि उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा एमालेमा जस्तो चर्चा छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘हामी संसद्मा गणितमा कमजोर छौं, त्यसकारण अहिले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा सोचिसकेका छैनौं । उम्मेदवारी दिने नदिने भन्ने विषयमा केही दिन पछि टुंगोमा पुग्छौं ।’

माओवादी केन्द्रका केही नेताले समेत प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई सघाएकाले राष्ट्रपतिमा आफ्नो दलको दाबी हुन सक्ने बताउँदै आएका छन् ।

माओवादी केन्द्रका नेता मातृका यादवले मन्त्रिपरिषद् विस्तारलगायत धेरै विषयमा छलफल हुन बाँकी रहेकाले राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने विषयमा समेत अहिले गम्भीर छलफल हुन नसकेको बताए । तथापि, शीर्ष नेतृत्व भने एकतासँग जोडेर राष्ट्रप्रमुख आफ्नो दलले पाउनुपर्ने लबिङमा छन् ।

एमाले र माओवादी केन्द्र गठबन्धनले सरकार र पार्टीको नेतृत्व तथा राष्ट्रपतिका विषयमा पर्याप्त छलफल भएपछि प्रधानमन्त्री नियुक्ति प्रक्रियामा लागेको एमाले उच्च स्रोतको दाबी छ । तर, भागबन्डाको विषयमा भने एकता प्रक्रियामा रहेका दुवै दलले औपचारिक रूपमा बोल्न चाहेका छैनन् ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि २१ फागुन र उपराष्ट्रपति निर्वाचन ३ चैतमा गर्ने गरी दलहरूसँग परामर्श गरेको छ । सो मितिका विषयमा आयोगले बिहीबार दलका नेतासँग परामर्श गरेको हो । आयोगले संघीय संसद् र प्रदेशसभा गठन भएको ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोकी सरकारलाई सोबारे जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।