बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

बन्दुक बिसाएपछि बाख्रापालनबाट जिल्लाकै उत्कृष्ट कृषक



कविता उपाध्याय/रासस 

रोल्पा । दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बनेका छन् । ‘बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,’ उनले भने । बाख्रा पालनबाट वलीको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि नौलो आयाम थपिएको छ ।

हाल उनीसँग १७८ वटा उन्नत जातका बाख्रा छन् । रुटिनअनुसार उनी हरेक दिन बिहान ३ बजे उठ्छन् । राति ११ बजे उनको दैनिकी समाप्त हुन्छ । बाख्रापालनका लागि उनीसँग कामदार छैनन् । श्रीमान्–श्रीमतीले सबै जिम्मेवारी पूरा गर्दै आएका छन् । ‘सरकारी जागिरमा त गयल हुइन्छ, अरूको अण्डरमा बस्नुपर्छ, तर यसमा त इच्छाअनुसार चल्न पाइन्छ । त्यसैले मेरा लागि सबैभन्दा ठूलो सौभाग्य यही हो,’ उनले भने ।

वलीका अनुसार उनका बुबाले वर्षौं पहिलेदेखि स्थानीय जातका बाख्रापालन तथा स्याउखेती गर्दै आएका थिए । तर सोचेअनुरुप आम्दानी हुन सकेन । धेरै मिहेनत गर्यो थोरै उपलब्धि हात पर्ने भएपछि कहिलेकाहीँ उनका बुबालाई आफूले रोजेको व्यवसायले निराश बनाउँथ्यो । तर रोजीरोटीका लागि वलीका बुबाले विभिन्न चुनौतीका बीच १०÷१५ वटा बाख्रापालन तथा स्याउ खेतीलाई नै निरन्तरता दिइरहे, जसबाट उनको परिवारमा सामान्य गुजारा त चल्यो तर वास्तविक उपलब्धि हासिल हुन सकेन ।

वलीले वि.सं. २०५२ मा जनकल्याण उच्च माध्यमिक विद्यालय, थारमारे, सल्यानबाट एसएलसी उत्तीर्ण गरेका हुन् । देशमा सशस्त्र युद्धको शुरुआत भइसकेको थियो । वि.सं. २०५३ चैत १९ गते वली नभएको मौका पारी अज्ञात समूहले रातको समयमा घरभित्रै पसी बिनाकारण उनका बाबुका हातखुट्टा भाँचिदिए । कस्ले र किन घटना घटायो भन्ने बारेमा उनको परिवारमा कुनै किसिमको जानकारी भएन । यसरी पीडित भएका वली त्यसको केही समयपछि जनमुक्ति सेनामा आबद्ध भएका थिए ।

बन्दुक बोकेर निस्किएका वलीले रोल्पा, रुकुम, दाङ, सल्यान, प्यूठान, जाजरकोट, बाँके, बर्दिया, अछाम लगायतका जिल्लामा जनमुक्ति सेनाको भूमिका निर्वाह गरे । तर दुर्भाग्य– कि मर्छु कि मार्छु भन्ने अठोटका साथ जनमुक्ति सेनाको जिम्मेवारी बोकेका वलीको बन्दुकले जाजरकोटको पाँचकटिया प्रहरी चौकी आक्रमणका क्रममा विश्राम लियो । वली सो आक्रमणमा परी गम्भीर घाइते भए । यसरी घाइते भएका वलीलाई उनको पार्टीले उपचारका लागि भारतको राजस्थान पुर्यायो । त्यहाँ वलीको उपचार भयो र बिस्तारै उनको स्वास्थ्यमा सुधार हुन थाल्यो ।

रमाइलो कुरा त के छ भने वलीको उपचारमा संलग्न डाक्टरले अस्पताल नजिकै बाख्रापालन सञ्चालन गर्दै आएका रहेछन् । करिब ३०÷३५ जना नेपाली कामदार राखेर व्यवसाय सञ्चालन गरेको थाहा पाएपछि उनी त्यसतर्फ आकर्षित बन्दै गए । डा. स्वयंले नै सञ्चालन गरेको फार्ममा काम गर्न पाएपछि उनी पनि त्यो फार्ममा जोडिए ।

घाइते भएर उपचारका क्रममा देश छोडेका वलीले स्वास्थ्यमा सुधार आएपछि फार्ममै करिव १८ महिना काम गरे । फार्ममा उनले ठूलो काम गर्नु पर्दैनथ्यो । त्यहाँ भएका पहिलेका कामदारलाई हेरफेर गर्ने वलीको जिम्मेवारी थियो । उनले जिम्मेवारी पूरा गर्ने क्रममा बाख्रापालनसम्बन्धी धेरै कुरा सिक्ने अवसर पाए । त्यहाँ सञ्चालनमा रहेको फार्मबाट करोडौँको आम्दानी भएको देख्दा त्यसबाट प्रभावित भएका वली स्वदेश फर्केर उन्नत जातका बाख्रापालन व्यवसायमा जोडिएका हुन् । आज उनी जिल्लाकै उत्कृष्ट बाख्रापालक कृषकको स्थान लिन सफल भएका छन् ।

यसरी काम सिक्ने अवसर पाएका वलीले घर फर्कने क्रममा एउटा जमुनापारी क्रस जातको बाख्रा र एउटा बोका लिएर घर फर्किएका थिए । त्यतिबेलासम्म उनको घर तथा गाउँमा पनि परम्परागत रुपमा बाख्रापालन व्यवसाय सञ्चालनमा थियो ।

उनले भारतबाट बोका लिएर आएपछि सबैले क्रस गराउन थाले जसका कारण गाउँलेले पनि आम्दानी बढाए, उनको पनि करिब ५ वर्षको बीचमा सम्पूर्ण घरखर्च कटाएर ७० वटा बाख्रा भए । तीमध्ये बोका बेच्दै पाठी राखेर व्यवसाय विस्तार गर्दै आएका वली व्यक्तिगत रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्ने कृषकमा हाल जिल्लामै अग्रस्थानमा छन् ।

स्थानीय जातका बाख्रा हटाएर दुईवटा बाख्राबाट सञ्चालन गरेको व्यवसायले आज विशाल रुप लिएको देख्दा उहाँमा थप हौसला बढ्ने गरेको छ । सम्पूर्ण खर्च कटाएर वार्षिक रु सात लाख बचत हुने गरेको उनले बताए ।

लगनशील भएर जिम्मेवारी पूरा गर्दै गए हरेक क्षेत्रमा सफलता हात पार्न सकिने उनको धारणा छ । मिनेट मिनेटको महत्व बुझ्नेले मात्र सफलता हात पार्नसक्छ उनले भने, ‘हातमा सीप भए कुनै पनि युवा बेरोजगार बस्नु पर्दैन ।’

बाख्रापालन व्यवसायलाई अझ सफल बनाउनका लागि उनले पछिल्ला दिनमा जिल्ला पशुसेवा कार्यालय, रोल्पाबाट पनि सल्लाह, सुझाव लिँदै आएका छन् । पहिले भेटेर एक हजार रुपैयाँ पनि ऋण नदिने साथीले अहिले फोनकै भरमा लाखौँ रुपैयाँ विश्वास गर्न लागेको उनको अनुभव छ । ‘यही काम नै गर्नुपर्छ भन्ने त होइन तर सफल बन्नुपर्छ,’ उनले भने ।

जिल्ला पशुसेवा कार्यालय, रोल्पाका वरिष्ठ पशु चिकित्सक गान्धीराज उपाध्यायका अनुसार सामूहिक रुपमा अन्य कृषक भएपनि व्यक्तिगत फार्ममा उनी जिल्लाकै उत्कृष्ट कृषक हुन् । उपाध्यायका अनुसार उनी मात्र होइन उनी जस्ता हजारौँ कृषक यस क्षेत्रमा आउनुपर्छ ।

हाल रोल्पा जिल्ला बाख्राको पकेट क्षेत्रका रुपमा विकास भइराखेको अवस्था छ । त्यसैले अहिलेका विदेशिएका तथा स्वदेशमै फुर्सदमा रहेका युवालाई यस पेशाप्रति आकर्षण गरी रोजगारी सृजना गर्न सकिन्छ । पछिल्ला दिनमा विदेशबाट फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित बन्दै गएका छन् ।

यसका लागि कार्यालयबाट बोयर बोका वितरण, डाले घाँसको नर्सरी स्थापना, डिपिङ ट्यांक वितरण, बाख्राको कृषक पाठशाला, स्थलगत तालिम र चेतना अभिवृद्धि गर्ने कामहरु भइराखेका छन् । सुधारिएको बाख्राको खोर निर्माण, कृत्रिम गर्भाधान सेवा, बोयर बोकाको ब्रिडर समूह गठनका साथै बोयर बाख्राका पाठापाठी उत्पादन शुरु भई बोयर बोकाको स्रोत केन्द्रका रुपमा पनि रोल्पा जिल्ला विकसित भएको छ ।