नेपालमा ४ हवाईरुट थपिए, कहाँ कहाँ हेर्नुहोस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालमा ४ हवाईरुट थपिए, कहाँ कहाँ हेर्नुहोस



काठमाडौं । पूर्व तथा पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि थप चार वटा प्रवेश विन्दु थपिएका छन्। अन्तर्राष्ट्रिय उडानमा नेपाललाई थप प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्ष सहमत भएसँगै नयाँ रुट थपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणको प्राविधिक टोलीबीच काठमाडौंमा बिहीबार र शुक्रबार भएको छलफलमा नयाँ रुटको विषयमा सहमति भएको हो। सहमतिपत्रमा नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा एयर नेभिगेसन विभागका प्रमुख नरेन्द्रबहादुर थापा क्षेत्री र भारतीय विमानपत्तन प्राधिकरणको एयर नेभिगेसन विभागका अनिलकुमार दत्ताले हस्ताक्षर गरेका थिए।

नेपाल र भारतीय पक्षबीच सन् २०१६ को डिसेम्बरदेखि नयाँ हवाई मार्गबारे छलफल सुरु भएको थियो।

दुई पक्षीय वार्तामा भारतीय पक्षले काठमाडौं-विराटनगर, काठमाडौं-जनकपुर, काठमाडौं-जनकपुर-पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा मात्रै प्रवेश दिने गरी सहमति भएको श्रेष्ठले जानकारी दिए।

यसअघि काठमाडौं-विराटनगर हुँदै जहाज बाहिरिन मात्रै पाउने अवस्था थियो। अब भने पूर्वबाट आएका जहाज विराटनगर विन्दुबाट पनि नेपाल प्रवेश गर्ने पाउने छन्। यस्तै काठमाडौं-जनकपुर हुँदै कलकत्ता जान पाउन जनकपुर प्रवेश विन्दुलाई पनि भारतीय पक्षले दुईतर्फी बनाउने सहमति दिएको छ।

काठमाडौं-जनकपुर-पटनाबीचको एकतर्फी रुटलाई पनि दुईतर्फी बनाउन प्राविधिक टोलीबीच सहमति भएको छ। यसका लागि भने दुई पक्षले नै उडान सुरक्षा मूल्यांकन गरी सोही आधारमा लागू गर्ने सहमति भएको प्रवक्ता श्रेष्ठले बताए।

जहाज बाहिर जान मात्रै पाउने महेन्द्रनगर विन्दुलाई दुईतर्फी बनाउँदा भने भारतीय पक्षले सीमित उचाइबाट मात्रै नेपाल प्रवेश गर्न पाउने सहमति दिएको छ। दुई पक्षीय सहमतिमा यो विन्दुबाट १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा मात्रै जहाज नेपाल प्रवेश गर्न पाउने उल्लेख गरिएको छ।

यो सहमतिबाट अन्तर्राष्ट्रिय उडान गर्ने लामो दूरीबाट आउने र ठूला जहाज भने महेन्द्रनगर प्रवेश विन्दुबाट नेपाल आउने पाउने छैनन्। महेन्द्रनगर विन्दुबाट साना जहाज तथा क्रसर बोर्डर फ्लाई मात्रै हुन पाउने छन्। सहमतिले नेपालगञ्ज विमानस्थलबाट दिल्ली उडान गर्न भने सहजता भएको छ।

चार वटा नयाँ प्रवेश विन्दु थपिए पनि नेपालमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक हवाई रुटको विषयमा भने भारतले सेप्टेम्बरसम्मको समय माग गरेको छ। बन्दै गरेका विमानस्थलबाट बढी उचाइमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुयानका लागि पश्चिमको नेपालगञ्ज तथा महेन्द्रनगरबाट प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भने भारतीय पक्षले प्राविधिक मूल्यांकन पूरा नभइसकेको भन्दै समय मागेको हो।

नयाँ हवाई रुट दिने विषयमा सहमति भए पनि जहाज प्रवेशका लागि भने अझै एक वर्षभन्दा बढी समय लाग्ने प्राधिकरणको भनाइ छ। सबैभन्दा पहिले एयर सेफ्टी एसिसमेन्ट गनुपर्ने हुन्छ। सेफ्टी एसिसमेन्ट सकिएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मा पठाउनुपर्ने हुन्छ। आइकोओले पारित गर्न तीन महिना भन्दा बढी समय लगाउँछ। त्यसपछि अन्य तयारी गर्न दुई महिनाभन्दा बढी समय लाग्ने प्राधिकरणको भनाइ छ।

नयाँ हवाई प्रवेश विन्दुको विषयमा भारतीय पक्षले आलटाल गर्दै आएपछि वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुई पक्षीय छलफलमा नयाँ हवाई प्रवेश विन्दुको विषय छिट्टै टुंगो लगाउने सहमति भएको थियो।

नेपाल प्रवेश गर्ने प्रमुख रुट

नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने अवस्था थियो, जसका कारण सिमरामा हवाई ट्राफिक बढ्दो थियो।

जनकपुर र विराटनगर विन्दुमा सहमति भए पनि नेपालगञ्ज विन्दुबारे सहमति हुन सकेको छैन। महेन्द्रनगरबाट पनि साना र क्रसर बोर्ड फ्लाई गर्न सकिने गरी मात्रै हवाई प्रवेश विन्दु दिने विषयमा भारत सहमत भएको छ।

नेपालगन्ज प्रवेश विन्दुका विषयमा भारतीय पक्ष सकारात्मक छैन। भारतीय पक्षले नेपालगन्ज प्रवेश विन्दु दिन त्यस क्षेत्रमा आर्मी बेस क्याम्प रहेको भन्दै आलटाल गर्दै आएको थियो। भारतीय पक्षले प्राविधिक मूल्यांकन पूरा नभएको भन्दै डिसेम्बरसम्मको समय माग गरेको छ। नेपालमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सबैभन्दा उपयुक्त नेपालगन्ज प्रवेश विन्दु हो।

अहिले नेपालको पूर्वमा पर्ने बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड , सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। यसैगरी पश्चिमबाट आउने जहाज दिल्ली, हुँदै गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन्। भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्।

नेपालमा पोखरा, भैरहवा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छन्। यी विमानस्थलमा आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो परिरहेको थियो। नेपालगन्ज प्रवेश विन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटो पर्ने र सिमराको बढ्दो ट्राफिक जाम कम हुने प्राधिकरणका उपमहानिर्देश राजन पोखरेल बताउँछन्। नेपालगन्जबाट इन्ट्री पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै-विस्तारै उचाई घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्ने सकिने उनको भनाइ छ।
अन्नपूर्णपोष्टबाट