ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई कारवाही : पराजुली - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई कारवाही : पराजुली



लिबाङ (रोल्पा) । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई कारवाही गरिने बताएका छन् ।

नेपाल पत्रकार महासंघ रोल्पाको संयोजनमा रोल्पाको लिबाङमा आयोजित ‘‘श्रमजिवि पत्रकार ऐन कार्यान्वयनको अवस्था’’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पराजुलीले यस्तो बताएका हुन् ।
‘‘ऐन कार्यान्वयन भएमात्र पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन सकिने र पत्रकारिता क्षेत्रको उल्लेखनीय विकास हुने हुन्छ । तर अझैपनि कतिपय मिडिया हाउसले श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गरेका छैनन्,’’ उनले भने । ऐन कार्यान्वयन गर्नका लागि सबैभन्दा पहिले पत्रकारलाई अनिवार्य रुपमा पारिश्रमिक र कामका बारेमा स्पष्ट खुलाएर नियुक्तिपत्र दिनुपर्ने पराजुलीको भनाइ थियो । पत्रकार जिम्मेवार भएमात्रै ऐन कार्यान्वयन हुन सक्नेमा उनले जोड दिए ।

‘‘ऐनले श्रमजिवी पत्रकार तथा सञ्चार क्षेत्रका लागि धेरै व्यवस्था गरे पनि व्यवस्थाका बारेमा कतिपय मिडिया तथा मिडियाकर्मीहरु जानकार नै छैनन् । कतिपय अवस्थामा जानकार हुँदाहुँदै पनि कार्यान्यवयन हुन नसक्नु दुःखद पक्ष हो,’’ उनले भने, ‘‘यसरी नियमविपरीत श्रम शोषण गर्ने तथा अझै पनि ऐनको पूर्ण कार्यान्वयन नगर्ने मिडिया हाउसलाई सरकारले विभिन्न सेवासुविधाबाट वञ्चित गर्नुपर्छ ।’’

अध्यक्ष पराजुलीले कामअनुसार दाम पाउनका लागि पत्रकारहरुले पनि आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । अबको स्थानीय सरकार हिजोको सिंहदरबार भएको हुँदा स्थानीय सरकारले आगामी दिनमा नीति नियम तथा ऐनकानुन बनाउदा सञ्चारमैत्री बनाउनुपर्ने उनले सुझावसमेत दिए ।