यस कारण केपी ओली राष्ट्रबादी र गणतन्त्रबादी नेता होइनन् । - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यस कारण केपी ओली राष्ट्रबादी र गणतन्त्रबादी नेता होइनन् ।



कर्ण बहादुर अधिकारी।

हरेक सकरात्मक पक्षको पछाडि केही नकरात्मक पक्ष र नकरात्मक पक्षको पछाडि केही सकरात्मक पक्ष लुकेकै हुन्छ वा भेटिन्छ नै।२०१७ सालको चुनावमा दुई तिहाई बहुमत,२०४८ साल र ५६ सालमा बहुमत साथै २०७० सालको संविधान सभा चुनावमा नेपालको ठुलो दल बन्न सफल भएको नेपाली काँग्रेसले आफ्नै कमी कम्जोरी र बाम गठबन्धनका कारणले गर्दा २०७४ सालको प्रदेश र प्रतिनिधि सभाको चुनावमा नराम्रो किसिमले हार ब्यहोर्नु पर्‍यो भने बाम गठबन्धन गरेका एमाले र माओवादीले नेपालको राजनीति इतिहासमा नै पहिलो पटक दुई तिहाई ल्याउन सफल भयो।

बाम गठबन्धन सफल हुनुमा यिनीहरू जनता माझ जाँदा आशा लाग्दा चुनावी एजेन्डा,पार्टी एकिकरण,गठबन्धनलाई नेतृत्व गर्न सक्ने क्षमता र काँग्रेसको कमी कम्जोरी लिएर गएकै कारण नेपाली जनताले विश्वासका साथ हिजोको कुराहरू बिर्सिएर मतदान गरी विजयी गराए।खैर नेपालको राजनीतिमा जे जस्तो उथल पुथल भए पनि दक्षिण एसियामा यस पटक भने नेपालका कम्युनिस्टहरूले तहल्का मच्याई छाडे।

लोकतन्त्रमा विश्वास राख्ने नेपालका पार्टीहरू भएकै कारण नेपालको संसदीय प्रणाली अनुसार चले पश्चात् जीत हार हुनु र स्वीकार गर्नु स्वभाबिकै हो।वास्तवमा क्षणिकको लागि भए पनि बाम गठबन्धनको चुनावी परिणामले नेपाली जनतालाई खुसी तुल्याएको छ तर यसले लामो समय सम्म खुसी देला भन्ने चाहिँ लाग्दैन।राष्ट्रबादी पार्टी र नेता हुँ भन्दै नेपाली जनताको माझमा पुगेका केपी ओलीलाई मैले भने राष्ट्रबादी नेता भन्न सक्दिन यिनी राष्ट्रबादी नभएर एक कुख्यात अबसरबादी नेता मात्र हुन।यिनको मन मस्तिष्कमा नै कसरी काँग्रेसलाई साईजमा ल्याउने भन्ने योजना थियो र सोही मुताबिक माओवादी केन्द्रसंग गठबन्धन गरेका केपी ओलीको व्यवहारले नै यिनी राष्ट्रबादी र गणतन्त्रबादी होइनन् भन्ने कुरालाई प्रमाणित गर्दछ।यस कारण केपी ओली राष्ट्रबादी र गणतन्त्रबादी नेता होइनन्।

१. नेपाली जनतामा माझ जाँदा जहिले पनि भारतद्वारा लगाइएको अघोषित नाकाबन्दीमा राष्ट्र राष्ट्रियताका लागि भारत सामु घुडा नटेकेको भन्ने केपी ओली अनन्त गएर देश द्रोही राजेन्द्र महत्तोसंग साठ गाठ गरी काँग्रेसका नेता बिमलेन्द्र निधिलाई हराएर महत्तोलाई बाम गठबन्धनका मत दिएर विजय गराई छाडे।नाका बन्दीको मुख्य योजनाकार नै महत्तो थिए।भारतमा गएर नाकाबन्दी गर्नु पर्‍यो भन्दै कोलाहल मच्चाउने महत्तोलाई विजय गराउने ओली कसरी राष्ट्रबादी।महन्त ठाकुर र ह्रदयश त्रिपाठीलाई काधमा बोक्ने कसरी भए राष्ट्रबादी।

२. गुण्डा नाईके भनेर चिनिएका दीपक मनाङ्गेलाई एमालेका केपी ओलीले टिकट दिने भन्ने हल्ला भए पछि सर्वत्र विवादमा मुछिएका केपी ओलीको योजनामा दीपक मनाङ्गेलाई स्वतन्त्र उमेदवारमा उठाईयो र बाम गठबन्धनका भोटकै कारण मनाङ्गे मनाङ्बाट प्रदेश सभामा विजयी भए।

३. पुलिस प्रशासनमा रहेका डिआईजी नवराज सिल्वाल आईजी हुने बेलामा झुट्टा र कृते कागजाच बनाएर नम्बर तल माथि गरेको भन्दै आईजी हुनबाट बन्देज गराएको थियो।निज सिल्वालको सर्वोच्चमा मुद्दा पनि परेकै हो।सुरक्षा निकायमा रहेका व्यक्तिलाई काँग्रेससंग रिस साध्नकै लागि भविष्यमा गृहमन्त्रीको दाबेदार हुन भन्दै ललितपुरबाट एमाले सांसदमा उठाए।बाम गठबन्धनकै कारण यिनी विजयी भए भने काँग्रेसका संसद् उदय सम्शेर पराजित भए।एमाले भित्रै बर्षौ देखि राजनीति गरेकाहरूलाई तिरस्कार गर्दै नयाँ व्यक्तिलाई टिकट दिनु पनि राम्रो थिएन।

४.टिकापुर हत्याकाण्डका प्रमुख योजनाकार भनेर फरार सूचीमा रहेका रेसम चौधरीलाई निर्वाचन आयोगले प्रतिनिधि सभाको उमेदवारका लागि सदर गर्नु पहिलो गल्ती थियो भने एमालेले अझै भनौ बाम गठबन्धनले कम्जोर उमेदवार उठाएर रेसम चौधरीलाई नै समर्थ जनाई मतदान गरी विजय गराई छाडे अब तपाईँ नै भन्नु होस केपी ओली कसरी राष्ट्रबादी?

५.गणतन्त्रका विरोधी र राजतन्त्रका समर्थक राजेन्द्र लिङ्देललाई समर्थन जनाउदै बाम गठबन्धनको सम्पूर्ण भोट लिङ्देललाई दिई गणतन्त्रका अभियन्ता काँग्रेसका सिटौलालाई झापाबाट हराउने खेल खेलेका यिनी कसरी गणतन्त्रबादी भए।यिनी गणतन्त्रबादी नभएर एक अबसरबादी हुन भन्ने प्रमाणित गर्दछ।
नेपाली जनतालाई ५ वर्ष भित्र केरूङ् नाका देखि लुम्बिनी सम्म रेल मार्ग बनाउने छौ भन्दै सपना देखाएका केपी ओलीकै सहपाठी कमरेड माधव नेपालले नै हतारको बेलामा तयार गरिएको घोषणा पत्र अनुसार काम पुरा गर्न नसकिने भनेर भनी सकेका छन्।

एमाले र माओवादी बिचको बाम गठबन्धन केवल चुनावका लागि मात्र हुन सक्छ भनेर मैले विगतमा भनेको थिए।मै जे भनेको थिए त्यही अनरूप यी दुई पार्टी बिच खटपट सुरु भई सकेको छ।बाम गठबन्धनको प्रमुख उद्देश्य भनेकै काँग्रेसलाई सिद्धाउनु थियो त्यो पुरा भएको छ।बाम गठबन्धनको विजय सँगै अब नयाँ सरकार ३५ दिन भित्र बनाउनु पर्ने छ।ठुलो दल भएकै कारण एमालेले सरकारको नेतृत्व गर्छ भन्नेमा दुई मत नै छैन अब कुरो रह्यो पार्टी एकिकरण र अध्यक्षको।सुनेको छु पार्टी अध्यक्ष पनि ओली नै हुन रे अब सबै तिर ओलीकै हाली मुहाली हुने भए पछि माओवादी केन्द्र चिढिन सक्छ।जसको परिणाम यिनीहरूको एकिकरण हुन सक्दैन।एमालेलाई यो पनि डर छ प्रचण्ड पार्टी अध्यक्ष भए एमाले सकिने छ भनेर।खैर जे जस्तो भए पनि जनताले भोट दिएर बाम गठबन्धनको विजयी भएको छ।नेपाली जनता अस्थिर होइन स्थिर सरकार चाहन्छ।५ वर्षका लागि बाम गठबन्धनले सरकार चलाएर देशलाई समृद्धिको बाटो तर्फ लैजाओस र काँग्रेस प्रतिपक्षमा रहेर आफ्ना कमी कम्जोरीलाई सुधार्दै अगाडी बढुन भन्ने कामना गर्दछु।