जीवी रोड,नेपाली चेली अनि हाम्रो सरकार ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जीवी रोड,नेपाली चेली अनि हाम्रो सरकार !



दीपक घिमिरे

मैले यो विषयमा लेख्न थाल्दा अलिकति इज्जतको डर मानेको छु । अलिकति लाज अनि अलिकति हीनताबोध नहुने त कुरै भएन ।

मैले लेखेको बा ले पढेर म माथि शङ्का गर्नु हुँदैन किनकि मेरा बा लाई म कस्तो हु भन्ने थाहा छ । मेरा साथी भाइले म माथि शङ्का गर्दैनन किनकि उनीहरूको नजरमा म कस्तो हु थाहा छ । मात्र मलाई नचिन्ने तर यो पढ्नेले भन्ने छन् “ यो पनि जीवी रोडका ती कोठी मा गएर मस्ती गरेछ । ”

भारत छिमेकी मुलुक हो । आवत जावत गर्न भिसा या पासपोर्टको को आवश्यकता पर्दैन । तर धनको आवश्यकता पर्दछ । त्यै धनको कमीका कारण अहिले सम्म भारत प्रवेश गर्ने अवसर प्राप्त भएको थिएन । भाग्यले कहिले कहाँ त कहिले कहाँ र्पुयाउने सिलसिला सँगै यो पटक भारतको राजधानी दिल्ली र्पुयाइदियो ।
चार जना साथी सँगै दिल्ली पुगेपछि हाम्रा आ(आफ्नै इच्छा थिए दिल्ली घुम्ने । कोही कहाँ जाने सपना देख्थे त कोही कहाँ जाने । म दिल्ली गेट हेर्ने सपना देख्थे , अर्को एक जनाले भने जीवी रोड जानु पर्छ ।

नेपालमा छँदा सुनेको एउटा गल्ली थियो जीवी रोड । कस्तो होला , के होला भन्ने उत्सुकुता सँगै जीवी रोड बारे यत्ति थाहा थियो कि त्यो ठाउँमा नेपाली चेली पनि आफ्नो शरीर बेच्दै गरेको भेटिन्छ्न । मनमा जीवी रोड बारे कौतुहलता भएपछि साथी सँगै जीवी रोड निस्किए । नयाँ अनुभव लिन ।

पत्रकार विजय कुमार पाण्डेले आफ्नो पुस्तक खुसीमा दाङको वादी बस्तीको बारेमा लेखेका थिए । उनी पक्रैयाको बेग्लै दुनियाँ हेर्न पुगेको अनुभव खुसीमा समावेश गरेका थिए । त्यस्तै नौलो अनुभव संगाल्न मपनी जीवी रोड निस्किए । लाजै नमानी ।

नेपालबाट बर्से्िन हजारौँ चेली भारतमा बेचिन्छन भन्ने सुनेको थिए । तर कहाँ बेचिन्छन , कसले किन्छ ? त्यो सबै मेरा लागी कौतूहलताका विषय थिए । यिनै विषय मेट्न म जीवी रोड पुगे ।पचासौ वर्ष पुराना घर , पुरानो गल्ली अनि फोहर बस्ती रहेछ जीवी रोड । सडक छाडेर फुटपाथमा हिडदै गर्दा एउटी भारतीय मूलकी अन्टिले मेरा पाखुरा च्याप्पै समातेर भनिन “ मेरे साथ चल ! ”

म आत्तिए , उसको पञ्जा बाट फुत्किन साथीको सहारा लिनु र्पयो । पञ्जा बाट फुस्कियपछी म रोडको पल्लो छेउबाट हिडन थाले । किनकि यो साइडमा घर थिएनन , मात्र पर्खाल थिए ।

यो छेउबाट हिडन पनि त्यस्तै समस्या । घरको माथि झ्यालबाट भोका ब्वाँसाले झैँ उस्तै अन्टि हरूले बोलाउने । “ आजा रे ! यिधर आजा । ”

हरेक घरको झ्यालबाट हातहरू निकालेर सडकमा हिँडेका मान्छे बोलाउँदै बसेका मान्छे देखेर अचम्मित पर्दै थिए । एउटा दुब्लो नेपाली आएर भन्यो “ नेपाली हो ? “
मैले मुन्टो हल्लाउदै भने “ हो ! ”

उसले एक दर्जन देशको नाम लिँदै भन्यो “ कुन देशको केटी चाहियो ? ”
म हाँसे मात्र ।उ हुक्क परेर गयो , अर्को कष्टमर समात्न ।

हिडदै थियौ , सँगै आएका दाइले भने “ यो अरसठ्ठि नम्बर हो । यहाँ नेपाली केटी पाइन्छ । ”
हामी अरसठ्ठि नम्बरको माथि गयौ ।

साँघुरो गल्ली , अँध्यारो कोठा अनि भत्किन आटेका घर । गर्मी र भिडभाँड उस्तै । बल्ल बल्ल तेस्रो तल्लामा पुगेपछि देखियो बिचित्रको संसार ।

एउटा हल कोठा , कोठामा ठुला सिसा । वरिपरि बस्ने काठका बेन्च । बेन्च माथि नेपाली केटी अनि केटी सँगै नेपाली , भारतीय केटाहरू । भीडको कुरै नगरौँ ।

नेपाली केटी देखेर अचम्म परे । छेउमा उभिए किनकि बस्ने ठाउँ थिएन । चिनेका मान्छे भेटिन्छन कि भनेर डर अनि लाज उस्तै । न्यापकिन पेपरले मुख छोपे अनि हेरे चर्तिकला ।

सँगै गएका दाइलाई सोधे “ यस्तो नर्कमा बस्नु भन्दा यी केटीहरू किन भाग्दैनन दाइ ?”
उनले सिसी क्यामरा देखाउँदै भने “ सबै तिर सिसी क्यामरा छ । तल बाउन्सरहरु छन् । बजार जानू परे पनि एक्लै जान पाउदैनन । झन् भाग्ने त सपना मा पनि नसोचे भो । ”

मलाई नेपाली चेलीको त्यो अवस्था देखेर टीठ लाग्यो ता गर्न के नै सक्थे र ?
“ सरकारले चाह्यो भने त फर्काउन सक्छ होला नि है ? ” मैले ती दाइलाई फेरि प्रश्न गरे ।
“ यी केटीहरू अब आफै फर्कन चाहदैनन । पहिले बाध्यता भयो अब रहर । समाजले तिरस्कृत गरिसकेपछी यिन्को संसार यही हो भाइ । ”

दाइले यस्तै उत्तर दिँदा दिँदै एउटी केटी दुईजना सँग बसेर आइसकि ।

(लेखक घिमिरे)

दैनिक दर्जनौँ केटा सँग बस्ने उनीहरूको रहर पक्कै होइन । नेपाली चेलीको दर्दनाक अवस्था आफ्नै आँखाले देखेपछि मैले नेपाली सरकारलाई पनि धिक्कारे ।

छिमेकी मुलुकमा हजारौँ नेपाली चेली शरीर बेच्न बाध्य छन् तर नेपाल सरकार एउटा एनजिओ चलाउने मान्छेलाई फुल माला पर्हियाउदै चेलिबेटी बेचबिखन विरुद्ध कटिबद्ध भएको ढ्वाँङ फुक्दछ । किन जाँदैन जीवी रोड ? किन पहल गर्दैन नेपाली चेली फर्काउने ?

नाकामा कर्मचारी राख्दैमा या बर्से्िन हजारौँ डलर विदेशी सहायता भित्राउदैमा चेलिबेटी बेचबिखन रोकिँदैन । सरकारले चेलिबेटी बेचबिखनको मुद्धामा अपराधी साबित भएकालाई कडा सजाय दिने अनि बेचियकालाई घर फर्काउने पहल नगरे सम्म जीवी रोडमा नेपाली चेलीको चीत्कार रोकिँदैन ।

पहिले बाध्यताले जीवी रोड बस्छन अनि पछि सामाजिक तिरस्कारको सिकार भएर बस्छन । नेपाली हुनुमा हीनताबोध त त्यति बेला हुनेछ जोतिबेला एउटा घिनलाग्दो भारतीय सँग नेपाली चेलीले मोलमलाई गरेको आफ्नै आँखाले देखिनेछ ।

हल गर सरकार ! हामी हाम्रा चेली तीन सय भारुमा बिकेको देख्न सक्दैनौ ।

(उक्त लेखलाई हिमालपोष्टको अनुमति बिना कुनै पनि अनलाईनमा साभार गरिएको पाईएमा स्वयम् क्षतिपूर्तिको भागिदारी हुनु पर्ने छ )