भारतको कदमप्रति राष्ट्रिय सम्पदा संरक्षण समितिको आपत्ति - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

भारतको कदमप्रति राष्ट्रिय सम्पदा संरक्षण समितिको आपत्ति



काठमाडौं- भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभागहरू कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रूपमा देखाएकोप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका महासचिव सुनिल पाण्डेले एक विज्ञप्ति प्रकाशित गरी यस्तो ध्यानाकर्षण गराएका हुन् ।

महासचिव पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबिच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्ताबेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढङ्गबाट चालिएको यो कदमको हामी घोर भर्त्सना गर्दछौँ ।’

‘मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, प्रतिपक्षी दलहरू तथा सबै नेपाली नागरिक एकसाथ उभिनु पर्छ । यथाशीघ्र यसबारे कूटनीतिक पहल गरी नेपाली भूमि भारतको नक्साबाट हटाउन लगाउन हामीसबैको ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा उल्लेख छ ।