प्रचण्डले भने: अब बाटो चाहिन्न, सुरुङ खन्ने हो - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

प्रचण्डले भने: अब बाटो चाहिन्न, सुरुङ खन्ने हो



काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युगमा राजमार्ग नचाहिने बताएका छन् । उनले नयाँ युगमा सुरुङ मार्गको आवस्यकता भएको बताएका हुन् ।

विकास निर्माणका कतिपय कुराहरू पुरानो भइसकेको भन्दै प्रचण्डले अब राजमार्गको ठाउँमा टनेल बनाउने, रेल पनि फास्ट स्पीडको कुदाउने र पर्यटकीय सम्भावना पनि नयाँ ढंगबाट खोज्नुपर्ने बताएका हुन् ।

आइतवार राजधानीमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेपाल राजमार्गको युगमा नभई टनेलको युगमा रहेको बताएका हुन् ।

‘हामी राजमार्गको युगमा होइन, टनेलको युगमा छौं,’ प्रचण्डले भने, ‘२०० किलोमिटरलाई सय किलोमिटरमा झार्ने, रेल पनि पुरानो खालको होइन हाई स्पीडको कुदाउने जस्ता कामहरू हाम्रो प्राथमिकतामा हुनेछन् ।’

प्रचण्डले बहुदलीय जनवाद या माओवादको कुरा गर्दा एकताको औचित्य पुष्टि नहुने दाबी गरे ।

‘संसारले हामीलाई हेरिरहेको छ, हामीलाई पछाडि फर्काउन खोजिरहेको छ,’ उनले भने, ‘हामी पछाडि फर्किन खोज्ने हो भने त्यसले राजनीतिक स्थायित्व पनि हुँदैन । हामी नेताहरू विकसित हुन चाहेका छौं, परिमार्जित हुन चाहेका छौं ।’

जनताको जनवादमार्फत विकास र समृद्धिको बाटोमा अघि बढेको दाबी गर्दै प्रचण्डले पुराना सिद्धान्त र कार्यक्रमहरूमाथि गम्भीर समीक्षा गरेर नै तत्कालको कार्यक्रमका रूपमा जनताको जनवादमार्फत समाजवाद निर्माण गर्ने कार्यक्रमको तय गरिएको बताए ।

तत्कालीन माओवादीले हेटौंडा सम्मेलनमा पारित गरेको ‘उत्पादन ब्रिगेड’को अवधारणा अब कार्यान्वयन हुने समय आएको प्रचण्डले बताए ।