व्यङ्ग्य कविता : सरकारलाई सघाउनुहोस् - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

व्यङ्ग्य कविता : सरकारलाई सघाउनुहोस्



–लक्ष्मण गाम्‍नागे       

छाप्रोमा पानी चुहिए भाँडो थाप्‍नुहोस्
जाडो भए गुन्द्रीमाथि गजरा खाप्‍नुहोस्
खबरदार ! आवाज ननिकालीकन दाँत किट्नुहोस्
गन्ध नफैलिने गरी ढिँडो फिट्नुहोस्
सम्मृद्ध नेपाल बनाउनु छ
कृपया भनेको टेर्नुहोस्
एक वर्षे बालकजस्तो कलिलो सरकारको
लँगौटी खुस्किएको नहेर्नुहोस्
सातै प्रदेशका सत्रसय जन्तीहरू
हाम्रा माननीय मन्त्रीहरू
भर्खर भान्सामा पसेका छन्
पलेँटी कसेर बसेका छन्
उनीहरूले डकारेको सुनेर
तपाईँ पनि अघाउनहोस्
आउनुहोस् आउनुहोस् आउनुहोस्
नेपाल सरकारलाई सघाउनुहोस् ।

सडकका माझैमा खाल्डो देखिए पनि
पेटीमै पोखरी भेटिए पनि
चिन्ता नगर्नुहोस्,
पाइन्ट सुर्किनुहोस्, सारी तान्नुहोस्
बुरुक्क उफ्रिएर लङजम्प पारी हान्नुहोस्
उफ्रिँदा खाल्डोमै पर्नुभयो भने
अथवा ढलमै झर्नुभयो भने
महानगरपालिकालाई गाली नगर्नुहोस्
बरु त्यति नाथे खाल्डो पनि नाघ्‍न नसकेकोमा
आफ्नै पुर्पुरोमा मुड्कीले हान्नुहोस्
धार्मिक बन्नुहोस्, आध्यात्मिक बन्नुहोस्
आफू निस्किएर,
खाल्डोमा खसेका अरूलाई पनि तान्नुहोस् ।
आउनुहोस् आउनुहोस् आउनुहोस्
नेपाल सरकारलाई सघाउनुहोस् ।

हिँड्दा हिँड्दै कहिलेकाहीँ
अचानक फूटपाथमा पसल कुल्चिइन सक्छ
साहुजीले सडकतिर घुर्चिन सक्छ
कदाचित त्यही बेला मोटरले हिर्कायो भने
कतै हाड करङ मर्कायो भने
गुरुजी ‘सरी’, ‘सरी’ भन्नुहोस्
धन्य बाँचे हे हरि, हरि ! भन्नुहोस् ।

सरकारै सरकार छन् सडकभरि
सरकारसँग मुखमुखै नलाग्‍नुहोस्
खुट्टो खोच्याउँदै बरु भाग्‍नुहोस् तर नजाग्‍नुहोस् ।
आउनुहोस् आउनुहोस् आउनुहोस्
नेपाल सरकारलाई सघाउनुहोस् ।

फोहोरको रास अगाडिबाट हिँड्दा
नाक ट्याप्प थुन्नुहोस्
बरु सासै जाओस् तर वाक्कउक्क नगर्नुहोस्
महानगरीय सभ्यता बचाउनुहोस्,
फोहोर पचाउनुहोस्
आफ्नो भागको धुवाँ–धुलो
आफ्नै फोक्सोमा अटाउनुहोस्
डाक्टरले लेखिदिएका ओखती नछुटाइ खाइरहनुहोस्
बेला बेला जचाउन अस्पताल धाइरहनुहोस्
दिसा जचाउनुहोस, पिसाव देखाउनुहोस्,
डकार र खकारमा पनि नाम लेखाउनुहोस्
आफ्नो औषत आयुलाई जसरी पनि बढाउनुहोस्
सरकारका विरोधीहरूलाई जसरी पनि लडाउनुहोस्
आउनुहोस् आउनुहोस् आउनुहोस्
नेपाल सरकारलाई सघाउनुहोस् ।