यी नेताको योजनामा ज्ञानेन्द्र र योगीबीच भेट भयो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

यी नेताको योजनामा ज्ञानेन्द्र र योगीबीच भेट भयो



काठमाडौं

उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ ।

मृगौलाको उपचार गर्ने भन्दै गत आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका कांग्रेस नेता खड्काले उत्तरप्रदेश आएर पूर्वराजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथबीचको भेटघाटको चाँजोपाँजो मिलाएको उच्च स्रोतले जनाएको छ ।

हिन्दूराष्ट्रको अभियान नै चलाएका नेपाली कांग्रेसका नेता खड्काले मुलुकमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताउँदै आएका छन् । खड्काकै डिजाइनमा पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणमा गएको बताइएको छ ।

खड्काको आग्रहपछि पूर्वराजा शाह दाङ जिल्लामा रहेका गुरु गोरक्ष रत्ननाथ र अम्बिेश्वर मन्दिरको दर्शन गरेर फिर्ता भएका थिए । पूर्वराजा शाहले दाङको घोराहीस्थित चौधेरमा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर पूजा गर्नुको ठूलो रहस्य छ ।

गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरबाट प्रत्येक वर्ष फागुनमा मूर्ति लिएर योगी आदित्यनाथ महन्थ रहेको उत्तरप्रदेशको तुलसीपुरस्थित मन्दिरमा जाने गरिन्छ ।

यो परम्परा झण्डै एक समय वर्षदेखि चल्दै आएको छ । खड्काकै डिजाइनमा पूर्वराजा शाहले योगी आदित्यनाथलाई प्रभावमा पार्न चौघेरामा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर दर्शन गरेका थिए ।

त्यसपछि पूर्वराजा शाह नेपालगञ्जको रुपैडिहवा हुँदै उत्तरप्रदेश पुगेर योगी आदित्यनाथसँग भेटेको खड्काका एकजना सहयोगीले बताए । आउने फागुन महिनामा पनि गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई कृष्णानगर हुँदै तुलसीपुर लगिनेछ ।

माओवादी द्वन्द्व हुनुभन्दा अगाडि घोराहीबाट लमही, गढवा, कोइलाबास हुँदै गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई पूजारीले काखमा राखेर हिँडेर उत्तरप्रदेशको तुलसीपुरसम्म पु-याउने परम्परा थियो ।

माओवादीको धम्कीका कारण हिँडेर जाने परम्परालाई थाँती राखेर बसबाट जाने गरिएको छ । दाङ जाने बेला पूर्वराजा नेपाली कांग्रेसका नेता खड्काको निवास सत्बरिया हुँदै घोराही पुगेका थिए । सत्बरियामा खड्काको घर पर्छ ।

सत्बरियामा केही समय स्थानीयसँग भलाकुसारी गरेर पूर्वराजा शाह लमही हुँदै घोराही गएका हुन् । सत्बरियामा पूर्वराजा शाह आएर केही समय बसेका थिए । तर, खड्काको डिजाइनमा पूर्वराजा शाह आएको सूईको कसैले पाएका छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।