योग खेलकुदको राष्ट्रिय प्रतियोगिता हुने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

योग खेलकुदको राष्ट्रिय प्रतियोगिता हुने



काठमाडौंः नेपाल योग खेलकुद सङ्घको आयोजनामा यही २०७४ माघ ३, ४ र ५ गते ‘प्रथम राष्ट्रिय योग खेलकुद प्रतियोगिता’ हुने भएको छ । सङ्घको केन्द्रीय समिति र जिल्ला शाखाहरूको बैठकले सुनसरी जिल्लाको इटहरीमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको अध्यक्ष डा. सूर्यबहादुर के.सी.ले जानकारी दिनुभयो ।

११ देखि १७, १८ देखि ४९ र ५० वर्ष माथि गरेर ३ उमेर समूहका प्रतियोगीले यसमा भाग लिनेछन् । माघ १ गते पर्ने राष्ट्रिय योग दिवस सप्ताह भित्रै हुने यो प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १५० को सङ्ख्यामा खेलाडी सहभागी हुने छनोट समितिका संयोजक योगी मणिराज डाँगीले बताउनुभयो ।

‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने सन्देशका साथ आयोजना गरिएको यो प्रतियोगितामा पुरुष र महिलाको छुट्टा छुट्टै प्रतिस्पर्धा गराइनेछ । राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा यो प्रतियोगिता गर्न लागिएको जानकारी दिँदै सङ्घका महासचिव चूडामणि शर्माले आगामी दिनमा हुने दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालबाट प्रतिनिधित्व गराइने बताउनुभयो ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रचारप्रसार उपसमितिका संयोजक दीपककुमार शर्माले योग खेलकुद प्रतियोगितालाई जनमानसले कौतूहलताका साथ हेरिरहेको जनाउनुभयो । शिव सभ्यता, बुद्ध सभ्यता र जनक सभ्यताको पुण्यभूमि नेपालमा राष्ट्रिय योग दिवसकै सन्दर्भमा यो प्रतियोगिता हुनु महत्त्वपूर्ण पाटो रहेको पनि संयोजक शर्माले बताउनुभयो ।