यी हुन् एमालेबाट निर्वाचित मेयर जसले आफ्नै अगाडी युवती कुटपिट हुदा रमिते बने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यी हुन् एमालेबाट निर्वाचित मेयर जसले आफ्नै अगाडी युवती कुटपिट हुदा रमिते बने



कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीसँगको कुराकानीः हास्यास्पद जवाफ

प्रश्नः मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

जवाफः किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

प्रश्नः जाहेरी कसले दिएको हो ?
जवाफः पीडित पक्षले ।

प्रश्नः जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?
जवाफः हिजो नै भयो ।

प्रश्नः कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?
जवाफः हो, म एकैछिन पुगेको थिएँ ।

प्रश्नः कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?
जवाफः अहँ, किन लिनु र ?

प्रश्नः होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?
जवाफः मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

प्रश्नः त्यसो भए किन जानुभएको त चौकीमा ?
जवाफः बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

प्रश्नः ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?
जवाफः हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

प्रश्नः साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?
जवाफः हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

प्रश्नः ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?
जवाफः काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

प्रश्नः त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?
जवाफः हो, भर्खर ४० वर्षको भएँ ।

प्रश्नः युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?
जवाफः त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

प्रश्नः ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?
जवाफः जानकारी भएन ।

प्रश्नः आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?
जवाफः मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

प्रश्नः जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?
जवाफः त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

प्रश्नः गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?
जवाफः मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

प्रश्नः देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?
जवाफः तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस्

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू
भन्नोस् ।
प्रश्नः नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?
जवाफः त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।
नयाँ पत्रिकाबाटः