यस्तो हुनुपर्छ मुटु रोगीको दशैंको खानपिन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्तो हुनुपर्छ मुटु रोगीको दशैंको खानपिन



बिनिता पन्त, डाइटिसियन

मुटु रोगको समयमै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचसँगै नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्छ । दशैँमा खाइने खानाका कारण ‘हर्ट अट्याक’ र ‘कोलेस्टेरोल’ बढ्ने सम्भावना अधिक हुन्छ ।

मुटु रोग लाग्नुका कारणमा चिल्लो तथा मसलायुक्त खानेकुरा, चिनी तथा चिनीजन्य पदार्थको बढी प्रयोग, मासुका परिकार बढी खाने बानी, धूमपान र मद्यपानको आदत, अनियमित खानपान, जङ्कफुड र फास्टफुड खाने प्रवृत्ति आदि पर्दछन् । स्वस्थ व्यक्तिले पनि धूमपान र मद्यपान त्याग्ने, तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, स्वस्थ्यकर खाना खाने र रक्तचाप नियन्त्रणमा राख्ने गर्नुपर्दछ ।

मुटु रोग लागिसकेको छ भने, कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्बोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अन्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ ।

एक ग्राम तेलबाट ९ क्यालोरी शक्ति पाइने भएकाले तौल बढ्ने सम्भावना बढी हुन्छ । त्यसैले तेलको प्रयोग कम गर्नुपर्छ । स्वस्थ व्यक्तिले पनि ‘स्याच्युरेटेड फ्याट’ अर्थात् सामान्य तापक्रममा ठोस हुने चिल्लो (घ्यू, नौनी, बोसो आदि) पदार्थको प्रयोग धेरै कम गर्नुपर्छ । चिल्लो पदार्थको अत्याधिक प्रयोग गर्दा रक्त धमनीमा जम्न गई ‘क्रोनरी आर्टरी’ रोग छिटो लाग्ने सम्भावना रहन्छ ।

यसैगरी, ‘पोलिअनस्याच्युरेटेड प्mयाटी एसिड’ बढी भएका चिल्लो पदार्थ र तेल ठीक मात्रामा प्रयोग गर्नुपर्छ । सनफ्लावरको तेलले रगतमा नराम्रो कोलेस्टेरोल घटाए पनि मुटुका लागि सुरक्षित मानिएको राम्रो कोलेस्टेरोल नबढाउने भएकाले यस्ता तेल धेरै मात्रामा प्रयोग गर्नु स्वास्थकर हुँदैन ।

मोनोअनस्याच्युरेटेड प्mयाटी एसिड बढी भएका तोरी, बदाम, ओलिभको तेल मुटुका लागि राम्रो मानिन्छ ।

‘ओमेगा–३ फ्याटी एसिड’ हाम्रो शरीरलाई अत्यावश्यक चिल्लो पदार्थ हो । यो पदार्थ शरीरमा नबन्ने भएकाले खानाबाट नै प्राप्त गर्नुपर्छ । यसले रगतमा ‘ट्राइग्लिसराइड’को मात्रा घटाउनुका साथै रगत जम्ने प्रक्रियालाई रोक लगाउँछ र रक्तचाप कम गराउँछ । तसर्थ यसको राम्रो स्रोत माछा, तोरीको तेल नियमित रूपमा प्रयोग गरेमा बढी फाइदा पुग्छ । यो पदार्थ केही मात्रामा हरिया सागसब्जी, भटमास, कालो दाल र मेथीबाट पनि प्राप्त गर्न सकिन्छ ।

स्वाथ्यखबरबाट