यसरी जुरेको रैछ नेपालको नाम - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

यसरी जुरेको रैछ नेपालको नाम



काठमाडौं,

हाम्रो देशको नाम नेपाल कसरी रहन गयो भन्नेमा थरीथरीका मत छन् । ने नाम गरेका ऋषि बस्ने ठाउँबाट नेपाल रहन गएको एउटा भनाइ छ । अर्को मान्यता अनुसार तिब्बती भाषा नियमपालबाट यो शब्द आएको हो । यसको अर्थ हुन्छ, पवित्र भूमी । अर्काथरीको भनाइमा ने को अर्थ ऊन र पालको अर्थ तिरपालबाट आएको हो ।

धेरै लामो समय पहिला, नेपाल धेरै मात्रामा ऊनको उत्पादन गथ्र्यो र तिरपालको घरको प्रयोग ऊन राख्नलाई गरिन्थ्यो । झापाका एकजना अनुसन्धानकर्ता हरिध्वज तिमिल्सिना खत्रीको नयाँ पुस्तकमा नेपालको नाम कसरी जुर्‍यो भन्ने ऐतिहासिक तथ्य समेटिएको छ । अहिले पनि कतिपयले काठमाडौंलाई नेपाल भनेर चिन्ने गर्छन् । बाहिरी जिल्लाका मान्छे काठमाडौं जाँदा ‘नेपाल जाने’ भन्ने चलन हराइसकेको छैन ।

देशभरका गाविसका नाम कसरी जुर्‍यो भन्ने तथ्य केलाउँदै जाँदा तिमिल्सिनाले नेपालको नामबारे पनि ऐतिहासिक तथ्य फेला पार्नुभएको हो । बजारमा आउनै लागेको यो पुस्तकमा नेपालको नामबारे यसरी उल्लेख गरिएको छ :

धेरै वर्ष पहिले चारैदिशा र चारै कोणबाट पहाडै पहाडले छेकबार गरेको काठमाडौंमा आकाशे पानी र खोलानालबाट बगेर आउने अबिरल जल थुप्रियो । निकासको कुनै ठाउँ भएन । त्यसैले पानी जम्दै गएर विशाल सरोबर बन्न पुग्यो । खोलानालाले बगाएर ल्याएको नानाभाँती खाद्य पदार्थको आहार पाइने यस सरोबरमा जलचर प्राणीको रचना सुरु हुन थाल्यो ।

त्यसपछि थलचर तथा उभयचर प्राणीको पनि विकास हुन थाल्यो । यही क्रममा अर्को प्राणीले पनि त्यहाँ आश्रय खोज्यो, त्यो प्राणी थियो हामो पुर्खा मनुष्य । आहाराको सुलभताले लोभिएको मुनष्य प्राणी सरोवरको पानीले नभेट्ने पहाडको फेदीतर्फ ओभानो ठाउँ छानी बस्न थाले ।

त्यस्ता ठाउँमा आफ्नो बसोबास थाल्ने यी मनुष्यलाई नीपालयी भनेर चिनिन थालियो । किनभने नीप शब्दको अर्थ पहाडको फेदी, आलय शब्दको अर्थ वासस्थान वा घर । यस आशयले पहाडको फेदीतर्फ बस्ने जाती नीप र आलय भएर नीपालय भयो । पछि नीपालयलाई नीपाल भनिन थाल्यो । नीपाल नै नेपाल बन्न पुगेको पुस्तकमा उल्लेख छ ।

नीपालयीहरुले बसोबास गरेको यो काल त्रेतायुगीन काल थियो । लेखक तिमिल्सिनाले गरेको अनुसन्धान अनुसार नीपालयबाट शब्दको सहजताले नेपाल कहलिन हजारौं वर्ष लागेको थियो ।-उज्यालोबाट