विश्वकप खेल्ने ७ स्टार फुटबलर र उनीहरुबारे जानकारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्वकप खेल्ने ७ स्टार फुटबलर र उनीहरुबारे जानकारी



एजेन्सी । यतिबेला संसारका फुटबल फ्यानहरुको ध्यान नजिकिँदै गरेको विश्वकप फुटबलमा केन्द्रीत छ । जुन १४ देखि जुलाई १५ सम्म रसियाका विभिन्न १२ रंगशालामा हुने विश्वकपमा विश्वका चर्चित र स्टार खेलाडीले यो पटक कस्तो प्रदर्शन गर्लान् भन्ने चासो फुटबलप्रेमीको छ ।

२१ औं संस्करणको फिफा विश्वकप फुटबलमा त्यस्ता विश्व चर्चित खेलाडीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउँदै छन्, जुन खेलाडी यो भन्दा अघिल्लो विश्वकपहरूमा समेत निरन्तर चर्चामा रहेका थिए । विश्वका स्टार खेलाडीहरूको जम्काभेट हुने विश्वकप नजिकिँदै गर्दा यतिबेला संसार फुटबलमय बनेको छ भने फुटबल फ्यानका आइडल खेलाडीले कस्तो प्रदर्शन गर्लान् भन्ने जिज्ञासाले थप रोचक बनाएको छ ।

लियोनल मेस्सी

लियोनल मेस्सी भन्नेबित्तिकै संसारभरका मान्छेले चिन्छन् भने फुटबलमा लागेका खेलाडीले आफ्नो आइडल खेलाडी तथा भगवानको रुपमा मेस्सीलाई मान्छन् । हुन पनि मेस्सी त्यस्ता खेलाडी हुन् जसलाई गोल मेसिनको रुपमा परिचित छन् ।

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी मेस्सी फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्विया विरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो ।

सन् २०१० मा अर्जेन्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पारजित भएको थियो ।

सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरान विरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरिया विरुद्ध २ गोल गरेका थिए ।

त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पु¥याउदा नेदरल्याड्स विरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बुट जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए ।

मेस्सीलाई फेरी पनि अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो । यो पटक भने उनी विश्वकपको उपाधि आफ्नो टिमलाई दिलाउन कतिको सक्षम छन् त ?

मेस्सी सन् १९९४ मा पहिलो पटक न्यूवेल वल्ड ब्वाइज फुटबल क्लबमा आवद्ध भएका थिए । त्यसपछि २००१ देखि स्पेनिस फुटबल क्लब बार्सिलोनामा आवद्ध भए । अहिलेपनि मेस्सी बार्सिलोनामै आवद्ध छन् । बार्सिलोनाबाट थुप्रै विश्व कीर्तिमानी गोल गरेका मेस्सी अर्जेन्टिनाका सिनियर टिमबाट ६३ गोल गसिकेका छन् ।

मेस्सीले सन् २०१६ मा कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अन्तर्राष्ट्रिय खेलबाट राजिनामा दिने निर्णय गरेका थिए । जुन महिनामा सन्यास घोषणा गरेका मेस्सीले सेक्टेम्बरमा सन्यास फिर्ता लिएका थिए ।

क्रिष्टियानो रोनाल्डो

विश्वकप फुटबलमा चर्चित अर्का खेलाडी हुन् पोर्चुगलका कप्तान क्रिष्ट्रियानो रोनाल्डो । सन् २००३ देखि राष्ट्रिय टोलिमा आबद्ध भएका रोनाल्डोले सन् २००६ मा जर्मनीमा भएको विश्वकप खेलेका थिए ।

क्वाटरफाइनलको खेलमा इंग्ल्याण्ड र पोर्चुगलबीचको खेलमा गोलरहित बराबरी हुदाँ पेनाल्टी सुटआउट गरिएको थियो भने रोनाल्डोको विश्वकपमा पहिलो गोल सोही खेलमा पेनाल्टी मार्फत नै भएको थियो । इंग्ल्याण्डलाई पेनाल्टीमा ३–१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

यद्यपी सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग १–० गोलअन्तरले पराजित भएको थियो ।

दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकप फुटबलमा पनि रोनाल्डोले गोल गरेका थिए । समूह चरणको खेलमा उत्तर कोरियालाई पोर्चुगललले ७–० गोलअन्तरले पराजित गर्दा रोनाल्डोले एक गोल गरेका थिए ।
समूह जी बाट उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको पोर्चुगल स्पेनसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

सन् २०१४ को विश्वकप पोर्चुगलको लागि भने विर्सन लायक बनेको थियो । आफ्नै कप्तानीमा पोर्चुगल समूह चरण पनि पार गर्न नसक्दा रोनाल्डोलाई त्यसबेला निकै पिर परेको थियो । पहिलो खेलमा नै जर्मनीसँग ४–० गोलअन्तरले हार ब्यहोरेको पोर्चुलले समूह चरणबाटै बाहिरिएको थियो । यद्यपी समूह चरणको अन्तिम खेलमा पोर्चुलले घानालाई २–१ गोलअन्तरले पराजित गर्दा रोनाल्डोले पनि एक गोल गरेका थिए ।

रोनाल्डोले अहिलेसम्म २००६, २०१० र २०१४ को विश्वकप गरी जम्मा ३ गोल मात्रै गरेका छन् ।

सन् १९९२ देखि १९९५ सम्म आन्द्रोन्हीहा क्लबबाट व्यावसायिक फुटबल शुरु गरेका थिए । त्यस्तै उनी विभिन्न क्लबमा आवद्ध भए । उनले इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडमा सन् २००३ देखि २००९ सम्म खेले । त्यसपछि उनी २००९ देखि हालसम्म स्पेनको रियल मड्रिडसँग आवद्ध छन् ।

राष्ट्रिय टिमबाट उनले १२९ खेलमा ८३ गोल गरिसकेका छन् ।

नेयमार

लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डोपछि आउने नाम हो, नेयमार । ब्राजिलियन स्टाइकर नेयमार त्यस्ता खेलाडी हुन् जतिबेला पनि आफ्नो टिमलाई जित दिलाउने क्षमता राख्छन् ।

नेयमारले आफ्नै भूमिमा भएको सन् २०१४ को विश्वकप फुटबल खेलेका थिए ।

समूह एचमा रहेको ब्राजिलले आफ्नो पहिलो खेलमा क्रोसियालाई ३–१ गोलअन्तरले पराजित गर्दा नेयमारले २ गोल गरेका थिए ।

त्यस्तै, समूह चरणकै अर्को खेल ब्राजिलले क्यामरुनलाई ४–१ गोलअन्तरले पराजित गर्दा नेयमारले यो खेलमा पनि २ गोल गरेका थिए । समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको ब्राजिलको भेट चिलीसँग भएको थियो । प्रि–क्वाटरफाइनलमा चिलीलाई पेनाल्टीमा ३–२ गोलअन्तरले पराजित गर्दा नेयमारले १ गोल गरेका थिए ।

क्वाटरफाइनलमा कोलम्बियालाई २–१ गोलअन्तरले पराजित गर्दै ब्राजिल सेमिफाइनलमा पुगेको थियो । तर, आफ्नो कप्तान थिएगो सिल्भा र नेयमार जस्ता प्रभावशाली खेलाडी विना नै मैदानमा उत्रिएको ब्राजिल जर्मनी विरुद्ध ७–१ गोलअन्तरको नराम्ररी हार ब्यहोरेको थियो । कोलम्बियाको खेलको दौरानमा नेयमार गम्भिर घाइते हुन पुगेपछि सेमिफाइनलको खेल गुमाएका थिए ।

नेयमारले २०१४ विश्वकपमा ५ गोल गरेका थिए ।

नेयमार १७ बर्षको उमेरदेखि नै व्यावसायिक फुटबल क्लब सान्टिष्टाबाट खेल्न थालेका थिए । यो उनी सन् १९९९ देखि २००३ सम्म रहे । २००९ देखि २०१३ सम्म सान्तोषबाट खेलेका नेयमार २०१३ देखि २०१७ सम्म बार्सिलोनामा मेस्सी, लुइस स्वारेजसँगै खेले । अहिले उनी पेरिस सेन्ट जर्मन क्लबमा कीर्तिमानी रकममा २०१७ देखि खेलिरहेका छन् ।

सन् २०१० देखि सिनियर टोलीबाट खेलेका नेयमारले ८३ खेलमा ५३ गोल गरेका छन् । क्लबका लागि खेल्दै गर्दा घाइते भएका नेयमार आउँदो महिना रसियामा हुने विश्वकपका लागि आफूलाई फिट हुने तरखरमा छन् ।

थोमस मुलर

थोमस मुलर एक चर्चित खेलाडी हुन् । उनको सशक्त योगदानमा जर्मनीले ठूला उपलब्धी पनि हासिल गरेको छ । थोमस मुलर त्यस्ता खेलाडी हुन् जसले विश्वकपमा सधै तहल्का मचाउछन् ।

२८ वर्षीय मुलरले २०१० र २०१४ मा दुई पटक विश्वकप खेले । दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० को विश्वकपमा जर्मनीले समूह चरणको पहिलो खेलमा अष्ट्रेलियालाई ४–० गोलअन्तरले पराजित गर्दा मुलरको पनि १ गोल सामेल थियो । खेलको ६८ औं मिनेटमा मुलरले गरेको गोल नै उनको विश्वकपमा पहिलो गोल थियो ।

समूह चरणमा १ गोल गरेका मुलरले प्रि–क्वाटरफाइनलमा भने इंग्ल्याण्ड विरुद्ध दुई गोल गरे । इंग्ल्याण्डलाई ४–१ गोलअन्तरले पराजित गर्दै जर्मनी क्वाटरफाइनलमा पुग्दा मुलरले खेलको ६७ र ७०औं मिनेटमा गोल गरेका थिए ।

लियोनल मेस्सी रहेको अर्जेन्टिनालाई क्वाटरफाइनलमा जर्मनीले ४–० गोलअन्तरले पराजित गर्दा मुलरले पनि एक गोल गरेका थिए । सेमिफाइनलमा जर्मनी स्पेनसँग १–० गोलअन्तरले पराजित विश्वकपबाट बाहिरिएको थियो ।
विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा उरुग्वेलाई ३–२ गोलअन्तरले पराजित गर्दा मुलरले खेलको १९औं मिनेटमा गोल गर्न भ्याए ।

मुलरले आफ्नो पहिलो विश्वकपमा नै दमदार प्रदर्शन गर्दै ५ गोल गर्न सफल भए । मुलरले २०१० को उत्कृष्ट युवा खेलाडी बन्दै गोल्डेन बुट प्राप्त गरेका थिए ।

ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकप नजिकिँदै थियो मुलरको चर्चा पनि उतिनै बढ्दै थियो । नभन्दै पहिलो खेलमा नै जर्मनीले क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई ४–० गोलअन्तरले पराजित गर्दा मुलरले ह्याट्रिक गोल गरे ।

मुलरले खेलको १२औं मिनेटमा नै पेनाल्टीबाट गोल गरेका थिए । त्यस्तै, खेलको पहिलो हाफको थप गरिएको अतिरिक्त समयमा र ७८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । शानदार सुरुवात गरेका थोमस मुलरले समूह चरणको अन्तिम खेलमा अमेरिका विरुद्ध उनकै निर्णायक गोलमा जर्मनीले जित हात पारेको थियो ।

सेमिफाइनलमा आयोजक ब्राजिल विरुद्ध ७–१ गोलको ठूलो अन्तरले पराजित गर्दा मुलरको एक गोल पनि सामेल थियो ।

फाइनलमा विश्वका महान खेलाडी लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले उपाधि उचाल्दा मुलर पहिलो रोजाईका खेलाडी थिए । विश्वकप जर्मनीले जित्दा मुलरको निकै ठूलो योगदान थियो ।
मुलरले दुई वटा विश्वकपमा गरेर अहिलेसम्म १० गोल गरिसकेका छन् । कतिपय विश्लेषकले मुलरले विश्वकपमा विश्व कीर्तिमान राख्ने बताउदै आएका छन् । मुलरको रुस विश्वकपमा भने कस्तो प्रदर्शन होला ?

लुइस स्वारेज

लुइस स्वारेजले आफूलाई उच्चकोटीका खेलाडीकै दर्जामा उभ्याएका छन् । बार्सिलोना क्लबबाट ब्यवसायिक फुटबल खेल्दै आएका स्वारेजले आफ्नो देश उरुग्वेलाई विश्वकपसम्म पुर्याउन ठूलो भूमिका खेलेका थिए ।

सन् २०१० देखि विश्वकपमा उरुग्वेबाट खेल्न थालेका स्टाइकर स्वारेजले आफ्नो पहिलो विश्वकपमा नै दमदार उपस्थिति जनाएका थिए । समूह चरणको अन्तिम खेलमा मेक्सिको विरुद्ध स्वारेजकै निर्णायक गोलको कारण उरुग्वे अन्तिम–१६ मा पुगेको थियो ।
प्रि–क्वाटरफाइनलमा दक्षिण कोरिया विरुद्ध उरुग्वेले २–१ गोलअन्तरले जित्दा यस खेलमा पनि स्वारेज नायक बनेका थिए । स्वारेजले खेलको आठौं र ८० औं मिनेटमा गोल गर्दै उरुग्वेलाई क्वाटरफाइनलमा पुर्याएका थिए ।

क्वाटरफइनलमा घानामाथि पेनाल्टी सुटआउटमा ४–२ ले विजयी हुदै उरुग्वे सेमिफाइनलमा पुगेको थियो । तर उरुग्वेले यो विश्वकपमा चौथो स्थान हासिल गरेको थियो ।

सन् २०१० को विश्वकपमा ३ गोल गरेका स्वारेजले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपी विवादमा पर्दै लामोसमय प्रतिबन्धमा पनि परेका थिए ।

यो विश्वकपको समूह डी बाट उरुग्वे उपजिवेता बन्दा समूह चरणमा स्वारेजले २ गोल गरेका थिए । इंग्ल्याण्ड विरुद्धको खेलमा उरुग्वेले २–१ गोलअन्तरले जित्दा ती दुबै गोल स्वारेजको थियो । स्वारेजले खेलको ३९ औं र ८५औं मिनेटमा गोल गर्दै नायक सावित भएका थिए ।

तर यसै विश्वकपमा स्वारेज सबैभन्दा बढि बदनामको सिकार पनि बने । समूह चरणको अन्तिम खेल स्वारेजका लागि काली दिन जस्तै बन्यो । यो सबै उनकै गल्तीको कारण भएको थियो । इटाली विरुद्धको खेलमा स्वारेजले इटालीका डिफेन्डर जर्जियो चेलिनीको काँधमा टोकेका थिए । त्यसपछि उनलाई लामो समय फिफाले प्रतिबन्ध गरेको थियो ।

रुस विश्वकप २०१८ मा पनि उरुग्वेको पहिलो रोजाई कै खेलाडी हुन् स्वारेज । अहिलेसम्म विश्वकपमा ५ गोल गरिसकेका स्वारेजको यात्रा यो विश्वकपमा भने कस्तो रहला ? कतै फेरी बदनाम, या चर्चाको शिखर ? त्यो भने केही दिनपछि थाहा हुनेछ ।

आन्ड्रेस इनिएष्टा

सन् २०१० स्पेनको लागि एकदमै फलदायी वर्ष । स्पेनले फुटबलमा इतिहास रचेको वर्ष हो । दक्षिण अफ्रिकामा सम्पन्न भएको २०१० को विश्वकपको उपाधि पहिलो पटक स्पेनले जित्दा इनिएस्टा नायक बनेका थिए ।

समूह चरणको खेलमा चिलीलाई २–१ गोलअन्तरले स्पेनले पराजित गर्दा इनिएस्टाले पनि गोल गरेका थिए । कठिन चुनौतिलाई पार गदै फाइनलसम्म पुगेको स्पेन इतिहास रच्नबाट एक कदम पछि थियो । जसमा फाइनलमा स्पेनले नेदरल्याण्ड्स विरुद्ध विश्वकपको उपाधिको लागि प्रतिस्पर्धा गर्नु पर्ने थियो ।

जुलाई ११, २०१० स्पेनको लागि अविस्मरणीय दिन हो । यो दिन स्पेनिसहरूले सधै सम्झिरहने दिन पनि हो । फाइनल खेलमा इनिइस्टाको गोलबाट स्पेनले नेदरल्याण्ड्सलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि उचालेको थियो । त्यतिबेला हिरो सावित भएका इनिएस्टा अहिले आफ्नो फुटबल करिअरको उतरार्धमा रहेको छ ।

२०१४ मा भने स्पेन समूह चरणबाटै बाहिरिएको थियो । यो विश्वकपमा भने इनिएस्टाको जादु चलेन । ३४ वर्षीय मिड्फिल्डर इनिएस्टाले सन् २००६ देखि विश्वकप अहिलेसम्म ३ वटा विश्वकप खेलिसकेका छन् भने यो विश्वकप उनका लागि अन्तिम हो ।

सन् १९९४ देखि फुटबल करिअर थालेका इनिएस्टाले केही दिनअघि मात्रै बार्सिलोनालाई स्पेनिस ला लिगा लिगको उपाधि दिलाएर विदा भएका थिए । २२ बर्ष सम्म बार्सिलोनाबाट खेलेका इनिएस्टा अहिले जापानिज क्लब भिसेल कोबीमा आवद्ध छन् ।

जेम्स रोड्रिगुएज

जेम्स राड्रिगुएज चर्चित कोलम्वियन खेलाडी हुन् । सन् २०१४ मा कोलम्वियाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा जेम्स राड्रिगुएजको महत्वपूर्ण भूमिका थियो । उनले विश्वकपमा ६ गोल गरेका थिए । सन् २०१४ को सर्वाधिक गोलकर्ता बनेका उनले गोल्डेन बुट पाएका थिए ।

पहिलो पटक विश्वकप खेलेका रोड्रिग्वेजले सर्वाधीक गोलकर्ता बने । सन् २०१४ मा समुह चरणको पहिलो खेलमा ग्रिसलाई ३—१ ले पराजित गर्ने क्रममा रोड्रिग्वेजले १ गोल गरेका थिए । दोस्रो खेलमा आइभेरी कोस्टलाई पराजित गर्ने क्रममा १ गोल गरेका थिए । त्यस्तै समुह चरणको अन्तीम जापानसँगको खेलमा १ गोल गरेका थिए ।

भने दोस्रो राउण्डमा उरुग्वेसँगको खेलमा २ गोल गरे । भने क्वाटर फाइनलमा ब्राजिलसँगको २,१ ले पराजित हुँदा १ गोल गरेका थिए ।

सन् २००५ मा इन्भिगाडो क्लबबाट आफ्नो फुटबल करिअर शुरु गरेकमा रोड्रिग्वेज अहिले रियल मेड्रीडसँग आवद्ध छन् ।

सन् २००६ देखि व्यावसयिक फुटबल शुरु गरेका रोड्रिग्वेजको राष्ट्रिय टोलिको यात्रा भने २००७ बाट मात्र भयो । यू १७ बाट शुरु भएको उनको यात्रा यू २१ बाट २०११ मा खेलेपछि त्यसैबर्षदेखि उनि सिनियर टोलिमा पनि परेका थिए । २०११ सालदेखि अहिलेसम्म रोड्रिग्वेज निरन्तर टिममा छन् । कोलोम्बीयाका लागि हालसम्म उनले खेलेका ६२ खेलमा २१ गोल गरेका छन् ।