विश्वकप अघिको मैत्रीपूर्ण खेलमा को को भए बिजयी ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा को को भए बिजयी ?



काठमाडौं । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी, स्वीट्जरल्याण्ड, इरान र क्रोएसिया विजयी भएका छन् ।

लिभरकसेलको बे एरिनामा गएराति भएको खेलमा जर्मनीले साउदी अरबलाई २–१ गोलले हराएको छ । खेलको आठौं मिनेटमै युवा स्ट्राइकर टिमो वेर्नरले गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो ।

४३ औं मिनेटमा साउदी अरबका ओमार हासावीले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

खेलको निर्धारित समय सकिनु ६ मिनेटअघि ताइसिर अल जासीमले साउदी अरबका लागि सान्त्वना गोल फर्काए ।

गएराति नै भएको अर्को मैत्रीपूर्ण खेलमा स्वीट्जरल्यान्डले एसियाली मुलुक जापानको टोलीलाई २–० ले हरायो ।

स्वीट्जरल्यान्डको जितमा रिकार्डो रोड्रिगुइजले पेनाल्टीमार्फत एक गोल गरे भने ह्यारिस सेफरोभिकले अर्को गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

गएराति नै भएका अन्य मैत्रीपूर्ण खेलमा इरानले लिथुवानियालाई १–० ले हराएको छ भने क्रोएसियाले सेनेगललाई २–१ ले पराजित गरेको छ । त्यस्तै पोल्याण्ड र चिलीले २–२ गोलको बराबरी खेलेका छन् ।