विश्वकप २०१८ मा यस्तो अत्याधुनिक प्रविधि ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विश्वकप २०१८ मा यस्तो अत्याधुनिक प्रविधि !



यति बेला विश्वकप २०१८ ले विश्व नै फूटबलमय भएको छ । विश्वकप फूटबलका यसपटकका खेलहरू रूसका विभिन्न शहरमा जारी छन् । फिफा विश्वकपका पछिल्ला संस्करणहरू फूटबल खेल मात्र नभई यसमा प्रयोग भएका नयाँ प्रविधिका कारण पनि महत्त्वपूर्ण हुँदै आएका छन् । त्यसैले खेलाडी, प्रशिक्षक र फ्यानका लागि मात्र नभई विश्वकप प्रविधिप्रेमीहरूका लागि समेत विशेष हुने गरेको छ । यसै सन्दर्भमा जारी संस्करणमा के कस्ता प्रविधिको प्रयोग भइरहेको छ भन्ने चासोको विषय बनेको छ । प्रस्तुत छ, फिफा विश्वकप २०१८ मा प्रयोग भएका पाँच अत्याधुनिक प्रविधि ”

भिडियो असिष्टेण्ट रेफ्री (भीएआर)
खेलका क्रममा विभिन्न विवाद उत्पन्न हुन्छन्, जुन स्वाभाविक पनि हो । यसको समाधानमा सामान्यतया रेफ्री नै निर्णायक हुने गर्छन् । तर, कहिलेकाहीँ सही निर्णय लिन रेफ्रीलाई पनि मुश्किल पर्छ । भीएआर यस्तै विवाद समाधानमा सघाउने प्रविधि हो । नामअनुसार नै यो फिल्डमा रेफ्रीको सहयोगीको रूपमा रहन्छ । अनफिल्ड रेफ्री (जो फिल्डमा खेलाडीसँगै हुन्छ)ले गोल, रेड कार्ड, पेनाल्टीलगायतमा शङ्का÷विवाद हुँदा आवश्यकताअनुसार भीएआरको मद्दत लिन सक्छन् । खेलका क्रममा एउटा मुख्य भीएआर र अन्य तीनओटा भीएआर प्रविधिले मोनिटरिङ गरिरहेका हुन्छन् । यस्तै, फाइबर–बेष्ड रेडियो सिष्टमले अनफिल्ड रेफ्री र भीएआरबीच सम्पर्क स्थापित गर्छ । यसबाहेक धेरैओटा क्यामेराले समेत रेफ्रीलाई सही निर्णय लिन सघाउँछन् । जस्तै : शनिवार पेरु र डेनमार्कबीच भएको खेलमा डिबक्स क्षेत्रमा डेनमार्कको खेलाडीको ह्याण्ड भएको थियो, तर, रेफ्रीले थाहा पाएनन् । पेरुका खेलाडीले ह्याण्ड भएको दाबी गरेपछि रेफ्रीले भीएआर प्रविधिमार्फत खेल हेरे र ह्याण्ड भएको स्पष्ट देखिएपछि पेरुले पेनाल्टी पाउने निर्णय गरे ।

पर्फर्मेन्स एण्ड ट्र्याकिङ सिष्टम
विश्व फूटबल महासङ्घ (फिफा)का अनुसार जारी विश्वकपमा इलेक्ट्रोनिक पर्फर्मेन्स एण्ड ट्र्याकिङ सिष्टम (ईपीटीए)को प्रयोग भएको छ । सहभागी ३२ ओटै टीमका प्रशिक्षक ईपीटीएसको पहुँचमा छन् । ईपीटीएस ट्याब्लेट–बेष्ड सिष्टम हो, जसले खेलका क्रममा प्रयोग भएका क्यामेरा र वेयरेबल टेक्नोलोजीसँग मिलेर काम गर्छ । प्रत्येक टीमका प्रशिक्षक र अधिकारीहरूलाई यस्ता तीनओटा ट्याब्लेट दिइएको छ, जसले खेलाडीको बल पास, ट्याकल र अन्य अवस्थाबारे सूचित गर्दछ ।

बायोमिटर एण्ड क्याशलेश पेमेण्ट्स
फूटबल भन्नेबित्तिकै स्वाभाविक रूपमा त्यसका फ्यान हुन्छन् । यीमध्ये अधिकांशको चाहना फूटबल स्टेडियममै गएर खेल हेर्ने हुन्छ । जारी विश्वकप रूसमा भइरहेकाले त्यहाँ पुग्ने फ्यानका लागि बायोमिटर तथा क्याशलेश पेमेण्ट्स सुविधा दिइएको छ । खेल भइरहेको ठाउँमा केही किन्नुपरेमा यसले सहज हुनेछ । पीओएस (पोइण्ट अफ सेल) टर्मिनलले स्मार्टफोन तथा स्मार्टवाचको माध्यमबाट पेमेण्ट गर्न सघाउँछ । यस्तै, प्रयोगकर्ताले बायोमेट्रिक स्क्यानको माध्यमबाट समेत छिट्टै पैसा तिर्न सक्छन् ।

फोरके कण्टेण्ट एण्ड भच्र्युअल रियालिटी (भीआर)
यो प्रविधिको प्रयोग विश्वकपको इतिहासमै पहिलोपटक हो । फिफाका मान्यताप्राप्त प्रसारण संस्थाहरूले फोरके अल्ट्रा डेफिनिशनमा विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण गरिरहेका छन् । यसबाट उपभोक्ताले यो सुविधा भएका टेलिभिजन हेर्नुको ‘बेग्लै मजा’ अनुभव गरेको बताएका छन् । यसबाहेक टेलिभिजन सेवा प्रसारकहरूले फूटबल फ्यानहरूका लागि भर्च्युअल रियालिटी (भीआर) फीड उपलब्ध गराएका छन् । भीआर फीड उपलब्ध गराउने मिडियामध्ये बीबीसी मुख्यरूपमा देखिएको छ ।

नियर फिल्ड कम्युनिकेशन (एनएफसी)
विश्वकपका खेलमा स्पोर्ट्स एसेसोरिज कम्पनी एडिडासले नयाँ टेक्निकल इन्नोभेशन भिœयाएको छ । जारी खेलहरूमा प्रयोग भएको आधिकारिक बल ‘दी एडिडास टेल्सटार १८’ हो, जसमा एनएफसी चिप रहेको छ । यसले मोबाइल डिभाइससँग सम्पर्क गर्दछ । यसको माध्यमबाट खेल भइरहेका बेला बलको अवस्था, गति, चुनौतीलगायत थाहा पाउन सकिन्छ ।

(एजेन्सीको सहयोगमा)