विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरु यी हुन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरु यी हुन



काठमाडौं । रुस विश्वकप २०१८ यहि महिनादेखि सुरु हुँदैछ । दर्शक तथा फुटबलप्रेमीलाई यो खुल्दुली हुन सक्छ कि अहिलेसम्म विश्वकपमा कुन–कुन खेलाडीले सबै भन्दा बढी गोल गरेका छन् ?

कुनै यस्ता खेलाडी हुन्छन्, जसलाई सधैँ सबैले सम्झन्छन् । फुटबलको तारा भन्छन् । विश्वकप फुटबलमा त्यस्तो कमै खेलाडी छन् जसलाई सिंगो युगले सलाम गर्छन् । यतिबेला विश्वकपले ह्वातै माहोल बनाएको छ । जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न १२ वटा रंगशालामा विश्वकप फुटबल आयोजना हुँदैछ ।

सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल २१ औं संस्करणसम्म आईपुग्दा कुन खेलाडीले कस्तो प्रदर्शन गरे ? अनि ती खेलाडीले कति गोल गरे ? सबैको जिज्ञासा र कौतुहलता हुन सक्छ । त्यसैले अहिलेसम्मको विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई समेटेका छौं ।

मिरोस्लाभ क्लोज (जर्मनी)

जर्मनीका मिरोस्लाभ क्लोज त्यस्ता खेलाडी हुन् जसले विश्वकप फुटबलमा सबैभन्दा बढी गोलको कीर्तिमानी कायम गरेका छन् । उनले विश्वकपमा १६ गोलको रेकर्ड राखेका छन् ।
सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकप फुटबलमा गोल गर्दै क्लोजले विश्वकप फुटबलको इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको नाममा आफ्नो नाम लेखाउन सफल भए । उनले २०१४ को विश्वकपको सेमिफाइनलमा आयोजक राष्ट्र ब्राजिलविरुद्ध एक गोल गर्दै १६ गोलको कीर्तिमान राखेका थिए । यसअघि ब्राजिलका रोनाल्डोको नाममा १५ गोलको रेकर्ड थियो ।
क्लोजले सन् २००२ देखि २००६, २०१० र २०१४ मा गरी १६ गोलको रेकर्ड राखेका हुन् । उनले ४ विश्वकपमा २४ खेल खेलेका छन् ।

रोनाल्डो (ब्राजिल)

रोनाल्डो कुनै एक जमनाका उत्कृष्ट फरवार्ड हुन् । जसको नामले पुरै टिम हच्किने गर्दथ्यो । रोनाल्डोले विश्वकपमा १५ गोल गरेका छन् । विश्वकपमा १९ खेल खेलेका रोनाल्डो पेलेपछिको उत्कृष्ट ब्राजिलियन फुटबलर भनेर चिनिन्छन् ।
उनले सन् २००२ मा दक्षिण कोरिया र जापानमा सम्पन्न भएको विश्वकपमा ८ गोल गरेका थिए । उनले फाइनल खेलमा जर्मनीविरुद्ध २ गोल गरेका थिए ।
उनकै दुई गोलको कारण ब्राजिलले जर्मनीलाई २–० गोलले पराजित गर्दै पाचौ पटक विश्वकपको उपाधि उचालेको थियो । ब्राजिललाई ऐतिहासिक सफलता दिलाउन मुख्य भूमिका खेलेका रोनाल्डो त्यो विश्वकपको सर्वाधिक गोलकर्ता बनेका थिए । उनले विश्वकपमा सर्वाधिक १५ गोलको कीर्तिमान राखेका थिए । पछि सन् २०१४ मा क्लोजले उनको रेडर्क तोडेका हुन् ।

गर्ड मुलर (जर्मनी)

गर्ड मुलर त्यस्ता जर्मन खेलाडी हुन् जसको नाममा अहिलेसम्म नतोडिएको विश्व कीर्तिमान छ । उनले विश्वकप फुटबलमा अहिलेसम्म १४ गोल गरेका छन् । सन् १९७० मा मेक्सिकोमा सम्पन्न भएको विश्वकपमा उनले १० गोल गरेका थिए । यो विश्वकपमा २ ह्याट्रिक गोल पनि गरेका थिए । बुल्गेरिया र पेरु विरुद्ध ह्याट्रिक गोल गरेका थिए ।
त्यस्तै सन् १९७४ को विश्वकपमा पनि उनले ४ गोल गर्दै विश्वकपमा कुल १४ गोलको रेकर्ड राखेका थिए । उनको रेकर्ड रोनाल्डोले पछि तोडेका थिए ।

जष्ट फन्टाइन (फ्रान्स)

जष्ट फन्टाइन विश्वकप फुटबलमा सबैभन्दा बढि गोल गर्नेको सूचिमा चौथो स्थानमा छन् । तर, उनको विश्व कीर्तिमान यस्ता छन् जुन तोड्न अहिलेसम्म कुनै खेलाडीले पनि तोड्न सकेका छैनन् । फ्रान्सेली स्टाइकर फन्टाइन त्यस्ता खेलाडी हुन् जसले विश्वकपमा १३ गोल गरेका छन् । सन् १९५८ को विश्वकपमा फन्टाइनले एकै विश्वकपमा १३ गोलको कीर्तिमान बनाए थिए ।

समूह चरणमा पाराग्वे विरुद्ध ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, उनले विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा जर्मनी विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए ।

पेले (ब्राजिल)

पेले फुटबलका पिता हुन् । फुटबलमा जादुगर भनेर चिनिने पेलेले विश्वकपमा भने १२ गोल मात्रै गरेका छन् । यद्यपी पेले जतिको सफल खेलाडी सायदै होलान् । पेलेले ब्राजिललाई ३ वटा विश्वकपको उपाधि दिलाएका छन् । सन् १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिलले जित्दा पेले मुख्य खेलाडी थिए । पेले ब्राजिलका मात्रै महान खेलाडी होइन् पुरै विश्वको महान खेलाडी हुन् ।

स्यान्डोर कोक्सिस (हंगेरी)

हंगेरीका स्यान्डोर कोक्सिस त्यस्ता खेलाडी हुन् जसले आफ्नो देशको नेतृत्व गर्दै विश्वकपमा ११ गोल गरेका छन् । उनी जस्ता खेलाडी हंगेरीले सायद पाउन मुस्किल छ । किनभने कोक्सिसले सन् १९५४ को विश्वकपमा ११ गोल गरे । उनले विश्वकपमा ५ खेल खेलेका थिए ।
उनले समूह चरणको खेलमा जर्मनी विरुद्ध ह्याट्रिक सहित ४ गोल गरेका थिए । जुन खेलमा हंगेरीले जर्मनीलाई ८–३ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । उनको यो स्कोर एकै विश्वकपमा सर्वाधिक गोल बनेको थियो । तर पछि सन् १९५८ को विश्वकपमा कोक्सिसको रेकर्डलाई तोड्दै फन्टाइनले एकै विश्वकपमा १३ गोलको कीर्तिमान बनाएका थिए ।

जुर्गेन क्लिन्समन (जर्मनी)

जर्मनीका जुर्गेन क्लिन्समनले विश्वकपमा ११ गोल गरेका छन् । उनले पनि सन् १९९०, १९९४ र १९९८ गरी तीन विश्वकपमा ११ गोल गरेका थिए । उनले तीन विश्वकपमा १७ खेले खेल्दै उक्त गोल गरेका थिए ।

गाव्रियल बाटिस्टुटा (अर्जेन्टिना)

विश्वकप फुटबलमा अर्जेन्टिनाको तर्फबाट सबैभन्दा बढि गोल गर्ने खेलाडी हुन् गाव्रियल बाटिस्टुटा । अहिलेसम्म कुनै पनि अर्जेन्टिनाली खेलाडीले १० गोलभन्दा बढी गोल गर्न सकेका छैनन् । अर्जेन्टिनाका लागि बाटिस्टुटाले सन् १९९४, १९९८ र २००२ मा गरी १० गोल गरेका हुन् ।

थोमस मुलर (जर्मनी)

थोमस मुलर विश्वकप फुटबलमा सफल खेलाडी हुन् । उनले अहिलेसम्म १० गोल गरिसकेका छन् । सन् २०१० को विश्वकपमा उनले ५ गोल गरेका थिए । त्यस्तै, उनले सन् २०१४ को विश्वकपमा ह्याट्रिकसहित ५ गोल नै गरेका थिए ।

जर्मनीलाई २०१४ को तेस्रो स्थानसम्म ल्याउन मुलरको निकै ठूलो हात रहेको थियो । त्यसो त, उनले २०१० को विश्वकपको सर्वोउत्कृष्ट युवा खेलाडीको अवार्ड पनि जितेका थिए । त्यस्तै, मुलरले सन् २०१४ को विश्वकपमा पनि तहल्का नै मचाएका थिए । जर्मनीले समूह चरणको पहिलो खेलमा पोर्चुगललाई ४–० गोलअन्तरले पराजितल गर्दा मुलरले ह्याट्रिक गोल गरेका थिए ।

सन् २०१४ को विश्वकप जर्मनीले जित्दा मुख्य खेलाडी थिए, मुलर । जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७–१ गोलअन्तरले पराजित गर्दा मुलरले १ गोल गरेका थिए । केही दिनपछि रुसमा सुरु हुने विश्वकपमा पनि मुलर रहेका छन् । जर्मनीको पहिलो रोजाईमा नै मैदानमा उत्रिने मुलरले यो विश्वकपमा कति गोल गर्लान् ?

ग्यारी लिनकर (इंग्ल्याण्ड)

इंग्ल्याण्डका ग्यारी लिनकरले पनि २ विश्वकपमा गरी कुल १० गोल गरेका छन् । सन् १९८६ र १९९० को विश्वकप उनले खेलेका थिए । १९८६ को विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट समेत पाएका थिए । त्यस्तै, १९९० मा भने उनले ४ गोल गरे । इंग्ल्याण्डका लागि विश्वकपमा सबै भन्दा बढी रन बनाउने खेलाडी हुन् ग्यारी ।

टेओफिलो क्युविलास (पेरु)

पेरुका फरवार्ड टेओफिलो क्युविलासले पनि विश्वकपमा १० गोल गरेका छन् । पेरुले सन् १९७० मा विश्वकप खेल्दा उनी चर्चामा रहेका थिए । त्यसबेला उनले ५ गोल गरेका थिए । विश्वकप १९७० को सर्वोत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका क्युविलासले सन् १९७८ को विश्वकपमा पनि उत्कृष्ट खेलेका थिए । स्कटल्याण्ड विरुद्ध २ गोल गरेका क्युविलासले इरानसँग भने ह्याट्रिक गोल गरेका थिए ।

ग्रेजगर्ज लाटो (पोल्याण्ड)

ग्रेजगर्ज लाटो त्यस्ता खेलाडी हुन्, जसले विश्वकपमा पोल्याण्डका लागि १० गोल गरेका छन् । लाटो मात्रै हुन् विश्वकपमा पोल्याण्डका लागि १० गोल गर्ने खेलाडी हुन् । उनले सन् १९७४ को विश्वकपमा लाटोले ७ गोल गरेका थिए । यद्यपी उनले २ वटा विश्वकपमा भने ३ गोल मात्रै गर्न सके ।

हेल्मुट रहन (जर्मनी)

जर्मनीका फरवार्ड स्वर्गीय हेल्मुट रहनले विश्वकपमा १० गोल गरेका थिए । उनकै महत्वपूर्ण प्रदर्शनले जर्मनीले सन् १९५४ को विश्वकपको उपाधि उचालेको थियो । हेल्मुटले सन् १९५८ को विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले दुई वटा विश्वकप गरी १० खेलबाट १० गोल गरेका थिए ।

एजेन्सीको सहयोगमा