सबै अमेरिकी कुटनितिक कर्मचारीलाई देश छोड्न पुटिनको चेतावनी । - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सबै अमेरिकी कुटनितिक कर्मचारीलाई देश छोड्न पुटिनको चेतावनी ।



१६ साउन, काठमाडौँ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार आफ्नो देशमा रहेका अमेरिकी ७५५ कूटनीतिक कर्मचारीलाई देश छोड्न चेतावनी दिएका छन् । उनले वासिंगटनसँग लामो समयसम्म सम्बन्ध सुधार हुन नसक्ने बताउँदै रुस र अमेरिकाबीचको सम्बन्धमा देखिएको तिक्तता उत्कर्षमा पुगेको बताएका छन् ।

रुस विरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएपछि पुटिनले उक्त कदम चालेको समाचारमा माध्यमले जनाएका छन् ।

एजेन्सीहरूका अनुसार, रुसले उठाएको उक्त कदमलाई अमेरिकाले दुर्भाग्यपूर्ण र अनैतिक भनेको छ । अमेरिकाको स्टेट डिपार्टमेन्टका एक अधिकारीले भनेका छन्, ‘‘रुसले हाम्रा राजनीतिज्ञहरूलाई देश छोड्न भनेको छ । हामीले यो आदेशको प्रभावको आकलन गरिरहेका छौँ । यससँगै हामीले यसको जवाफ कसरी दिने भनेर हेरिरहेका पनि छौँ ।’

रुसको विदेश मन्त्रालयले यसअघि वासिंगटनले सेप्टेम्बरसम्ममा आफ्ना कूटनीतिक कर्मचारीको सङ्ख्या कम गरेर ४५५ मा सीमित गरोस् भनेको थियो । अमेरिकामा आफ्ना ४५५ कूटनीतिज्ञ रहेकाले रुसमा पनि त्योभन्दा बढी नराख्ने रुसको भनाइ थियो । तर राष्ट्रपति पुटिनले रसिया–२४ टेलिभिजनसँगको साक्षात्कारमा रुसमा रहेका अमेरिकाका दूतावास र महावाणिज्य दूतावासमा एकहजारभन्दा धेरै व्यक्तिहरूले काम गरिरहेको बताउँदै ७५५ व्यक्तिहरूले रुसमा आफ्नो काम बन्द गर्नुपर्ने बताएका थिए ।

पुटिनले साक्षात्कारमा भने, ‘‘वासिङ्टनसँग हाम्रो सम्बन्धमा तत्काल परिवर्तनको कुनै आशा छैन । हामीले धेरै पख्र्यौं । हामीलाई परिस्थिति सुध्रिन्छ भन्ने आशा थियो तर लाग्छ परिस्थिति सुध्रिने नै भयो भने पनि केही समय लाग्न सक्छ ।’’

अमेरिकी सिनेटले बिहीबार २०१६ को अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसको तथाकथित संलग्नता र २०१४ मा क्रिमियामाथि कब्जा गरेको विषयलाई लिएर प्रतिबन्ध कडा बनाउने विधेयक पारित गरेको थियो । यो विधेयक पारित भएपछि अमेरिकाले रुसप्रति समेत ईरान र उत्तर कोरियासँग गरेजस्तै व्यवहार गर्न खोजेको अनुमान गरिँदै आएको छ ।