के अख्तियारमा सेटिङ् मिलाएकै हुन् उपेन्द्रकान्त अर्यालले ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

के अख्तियारमा सेटिङ् मिलाएकै हुन् उपेन्द्रकान्त अर्यालले ?



भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले प्रमुख आयुक्त दीप बस्नेतका प्रेस संयोजकलाई भेटेर सेटिङ मिलाएको खुलासा भएको छ ।

अख्तियार स्रोतका अनुसार पुस २४ गते दिउसो अर्यालले प्रेस संयोजक भवानी सुवेदीसँग नक्सालको एक रेष्टुरेन्टमा गोप्य भेटवार्ता गरेका हुन् ।  जसलाई लिएर अख्तियारभित्र विरोध शुरु भइसकेको छ । अनुसन्धानको दायरामा तानिएका र अख्तियारमा बयान दिइरहेका जो कोहीसँग पनि अख्तियारका कुनै पनि कर्मचारीले बाहिर भेट गर्न नमिल्ने आचारसंहिता हुँदा हुँदै सुवेदीले भने अर्यालसँग भेटेर आफ्नो मर्यादाकै खिल्ली उडाएका छन् ।

निलम्वित पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की र भारतिय राजदूतावाससँग नजिक रहेका सुवेदी अख्तियारमा ‘पावरफूल’ कर्मचारीका रुपमा चिनिन्छन् ।

स्रोतका अनुसार आफ्नो मुद्दा मिलाईदिएको खण्डमा आकर्षक उपहार दिने आश्वसन दिएर अर्यालले सुवेदीलाई प्रभावमा पारेका छन् । मुद्दा मिलाएर अख्तियारकै आयुक्त बन्ने लक्ष्य बोकी हिंडेका अर्यालमाथि पदिय दुरुपयोग गरी झण्डै पाँच करोड रुपैयाँ (गैर कानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा अख्तियारले छानविन गरिरहेको छ ।

फागुनको पहिलो साता अख्तियार प्रमुख बस्नेतको पदावधि सकिने भएपछि रिक्त रहने आयुक्त पदमा जान अर्यालले आफ्नो मुद्दा मिलाउन खोजेका हुन् । पछिल्लो समय अख्तियारकै आयुक्त नवीन घिमिरे आफूमाथि पूर्वाग्राहि रुपमा लागि परेको भन्दै अर्यालले घिमिरे विरुद्धसमेत विभिन्न नेताहरुकहाँ लविङ गरिरहेका छन् ।

बस्नेतको ठाउँमा घिमिरे प्रमुख आयुक्त बन्ने पक्का पक्की भएपछि बस्नेत जानु अघि नै मुद्दा मिलाउने डिजाइनमा अर्याल लागि परेका हुन् । उता, अर्यालले बुझाएको सम्पत्ति विवरण चित्त बुझ्दो नदेखिएपछि अख्तियारले पटक–पटक बयान लिई अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

अर्यालले हुन्डी कारोबारी पवन सरीयाको समूहसँग मिलेर अकूत सम्पत्ति आर्जन गरेको उजुरीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । अर्यालले सिन्धुलीको दुधौलीदेखि भक्तपुरको सूर्यविनायकमा आफन्तको नाममा भ्रष्टाचारबाट आर्जन गरेको रकमले सयौं रोपनी जग्गा खरिद गरेको अनुसन्धानका क्रममा खुलिसकेको छ ।

अर्यालले सम्पत्ति विवरणमा पुख्र्यौली घर सिराहाको आँप बिक्री गरी आर्जित सम्पत्ति भनेर उल्लेख गरे पनि त्यसमा कुनै मेल नखाएको खुलेको छ । अख्तियारका निलम्वित पूर्व प्रमुख लोकमानसिंह कार्कीको निर्देशनमा कार्कीका सम्धी रोहीणी थपलियालाई प्रहरीको सामान खरिदको टेण्डर दिंदा कमिसन खाएको विषयमा पनि अर्यालमाथि अनुसन्धान भइरहेको स्रोतले बतायो ।

प्रहरीको लत्ता कपडा र रासन खरिदमा समेत ठेकेदारबाट अर्यालले एक पूर्व एआईजी मार्फत करोडौं कमिसन बुझेको पनि अनुसन्धानका क्रममा खुलेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।