उनी ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

उनी !



-बल पुन

पुस महिनाको चिसोमा नाईट बसको यात्रा गर्नु पर्ने हुनाले मोटों ज्याकेट लगाएकोछु। साथमा बुढ़ीले बुनेको लामो मफ़लर र टोपी ऑंखा मात्र देखिने गरी लगाएर तुलसीपुर चौकमा काठमाण्डू जाने बस पर्खिदैछु।बस तुलसीपुर चौकमा ६:०० बजे सम्म आई पुग्छ।

प्रदेश तथा प्रतिनिधि सभाको लागि भएको चुनावमा मतदान गर्न अफिसबाट छुट्टी लिएर आएको थिए, तर घराईसी कामले गर्दा एक साता लेट फर्किदैछु। काममा जसरी पनि भोलि हाज़िर हुनु पर्छ नत्र मेरो जागिर जान्छ। घड़ी-घड़ी दामोदर चौक तिर बस आएकोछ कि नाई हेर्छु, बस कतै देखिन्न, केही र कसैलाई पर्खिनु मान्छेको लागि सार्है गाह्रो काम हो भन्थे,त्यो म अनुभव गर्दैछु। जाड़ों मौसमले गर्दा अन्ध्यारो पनि हुन लागेको छ।

मेरो आँखा फेरि बाटो तिर गयो र मेरो सम्पूर्ण ध्यान म तिर आउँदै गरेको एउटा आकृति ले तान्यो। त्यो आकृति र अनुहार अस्पष्ट भए पनि चिनेको जस्तो लाग्यो। झलझली एउटा अनुहार मेरो मस्तिष्क मा आयो, त्यो अनुहार जस्लाई मैले कहिले बिर्सन सक्दिन। त्यो आकृतिको म तिर बढ़ी रहेको प्रत्येक पाइला सँग उसको अनुहार पनि प्रस्ट हुँदैछ र म अतीत मा जादैछु।

म पॉंगबाट बडाचौरको माध्यमिक विद्यालयमा ९ मा भर्ना भएको थिये। उनी पनि तेही विद्यालयमा मेरो क्लासमा थिई। क्लास को पहिलो दिन देखि नै म उनी तिर आकर्षित भएको थिये।उनी हॉंस्लो अनुहारको थिइन। उनको अनुहारमा एउटा अलग्गै चमक, ज्योति थियो। मलाई लाग्छ त्यो चमक र हॉंसिलो अनुहारले नै होला मलाई आकर्षित गरेको। उनले पनि मलाई कहिले काही लुकीलुकी हेर्ने गर्थिन।

म मगरको छोरो उनी क्षेत्रीको, जात नमिले पनि हामी एक आर्कोमा आकर्षित भएको थियौ ।शायद त्यो नै माया थियो! उनको थाहा भएन तर मैले माया नै गरेको थिए, त्यो पक्कै पनि टिनएजमा हुने आकर्षण मात्र थिएन।

म बडाचौर कोठा लिएर बस्थे भने उनी घरबाट विद्यालय आउने जाने गर्थिन। बेलुकी बिदा हुँदा म उनलाई पर नपुग्दा सम्म हेरी रहन्थे। सधैँ क्लास चलिराखोस भन्ने लाग्थ्यो।पहिला असाध्यै मन पर्ने शनिवार मेरो दुस्मन झैँ भएको थियो र शनिवार कहिल्यै न आओस चाहन्थे। मेरो मन मा हिन्दी फ़िल्म जो जिता वही सिकंदर को “पेहला नशा, पेहला खुमार! नयॉं प्यार है, नयॉं ईन्तेजार!!” गीत बजी रहन्थयो।

शुक्रवार आधी छुट्टी पछि म सधैँ गाउँ जान्थे र आइतबार बिहान क्लास भेट्न वापस बडाचौर फर्किन्थे। पहिला विद्यालय जान नमान्ने मलाई, आज भोलि गाउँ जान मन लाग्दैन थियो। कहिले काँही केही कामले उनी शनिवार पनि बडाचौर झरी भने देख्छु कि भन्ने मनसाय मन मा हुन्थयो। गाउँ गए पनि मन सधैँ उतै हुन्थयो, एक-दुई पटक आमा र बहिनी हरुले पनि “तैले तरुनी बनाएको छस कि के हो?” भनेर जिस्काएको थिये।

यहाँ मेरो हालत चाहदा-चाहदै पनि उनी सँग बोल्न नसकेर ख़राब भएको थियो। अरू सँग मज्जाले बोल्ने तर उनको अगाड़ी पर्दा मेरो पुरा जिउ नै लुलो भईदिने, बोल्छु भन्ने तर मुख बाट एउटा शब्द निकालनै गाह्रो! कस्तो गाह्रो हुँदो रहेछ आफ्नो मन परेको मान्छे सँग मनको कुरा पोख्न?! म उनलाई माया गर्छु भन्न चाहन्थे तर सकी राखेको थिएन, म किन डराई राखेको थिये?! उनको अस्वीकारबाट कि स्वीकारबाट?!

उनी दैनिक आउने जाने गाउँ देखेर पनि एक दिन हिम्मत गरेर “तपाईँको घर कहॉं पर्‍यो ?” भनेर सोधे, उनले स्यानो नम्जा बताईन। त्यो बोलचाल बिस्तारै “म तिमि लाई माया गर्छु!” सम्म पुग्यो। मेरो प्रस्ताव उनले स्वीकारेको क्षण म खुसीले पागल जस्तो कराऊ झैँ भएको थिये। कराऊदै पुरा विद्यालय को चक्कर लगाऊँ जस्तो भएको थियो।

हामी मायापिरतीको कुरा गर्दै सँगै बाच्ने-मरने क़सम खादै कहिले मेरो कोठामा एक-आर्काको अँगालोमा बस्थयो। कहिले लुंग्री खोला को तिर मा सलल बग्ने सफा पानी मा खुट्टा डुबाएर घंटो बस्थयो, कहिले सुलिचौर बजारमा डुल्दै हिड़थयो। त्येस पछिका समय दुई वर्ष कसरी र कति छिटो बित्यो थाहा नै भएन।

समयक्रम सँगै एसएलसी भन्ने फलामे ढोका को परीक्षा दिईयो। एसएलसी को रिज़ल्ट को लागि पर्खिनु पर्ने र त्येसको लागि मलाई घर जानु पर्ने भयो। सम्पर्कको लागि अहिले जस्तो हात-हातमा मोबाइल थिएन। गाउँ न गएर तेही बस्न पनि सक्दैन थिये।म सार्है दोधारमा परे, सोच्दा सोच्दै अंतिममा मैले उनलाई विवाह गरेर आफू सँगै घर लग्ने निधो गरे।

मैले उनलाई लुँग्री खोलाको तीरमा भेट्न बोलाएर विवाहको प्रस्ताव राखे।उनले भनिन “म तपाईँलाई धेरै माया गर्छु तर तपाईँ सँग बिहे  गर्न सक्दिन! तपाईँ माग्न आउनु भयो भने बा-आमा ले दिनु हुन्न, भागेर जाने हो भने म पछि को बहिनीहरू लाई दिदी मगर सँग पोईल गई भनेर कसैले ब्याह गर्दैन किनकि हाम्रो जात मिल्दैन!”

उनले बोलेको प्रत्येक शब्द म एकहोरो भई सुन्दैछु।मेरो मनमा क्रोध र दुख दुवै छ र त्यो मेरो ऑंखा बाट प्रस्ट थाहा हुन्छ। म उनलाई हेर्दैछु र उनी भुईलाई हेर्दै भन्दै छिन।उनको त्यो भनाई सके पछि एक क्षणको लागि त्याहा पूर्ण सन्नाटा छायो, शायद त्यो हाम्रो जीवनमा आउन लागेको आँधी भन्दा अघिको सन्नाटा थियो।

म मौन र स्तब्ध एकटक उनलाई हैर्दैछु। केही समय पछि उनले टाउको उठाएर मलाई हेरी, मेरो आँखाबाट निस्केको क्रोध र ऑंखा को कुनामा धेरै मुस्किलले अड्डेको पानीको थोपा पनि देखिन तर केही नबोली फर्किन र म उन लाई सधैँ झैँ पर नपुग्दा सम्म हेरी रहे।उता उनी ऑंखा बाट ओझेल भईन यता मेरो आँखाको कुनामा यति बेर सम्म अड्डेको पानीको थोपा टप्प लुँग्री खोलामा खस्यो र कता बिलायो कता!

एक्सक्युज मी!! मलाई एईटा महिला स्वर ले झस्काऊदै वर्तमानमा फर्कायो। अघि देखेको आकृति मेरो धेरै नजिक आई सकेर मेरो छेउमै उभिएको रहेछ।म एकटक उनलाई हेर्छु, उनी मेरो तेही स्यानो नम्जाको “उनी” हुन तर उनको सिऊदोंमा अरूको सिंदुर छ। शायद त्यो उनको जात मिल्नेको सिंदुर होला।

उनको अनुहारमा समयले बनाईदिएको रेखा हरू अलि-अलि देखिन थालेकोछ तर मेरो “उनी” को अनुहारमा भएको त्यो चमक अझै पनि छ। त्यो अनुहारको चमक जसले गर्दा जातपात बिर्सेर माया गरेको थिए। त्यो चमकले आज पनि एक क्षण मंत्रमुग्ध पारेर हेर्ने बनाएकोछ।

एक्सक्युज मी! सुन्नुस न!म झस्किदै हजुर भने। ६:०० बजे काठमाण्डू जाने गाड़ी गई सक्यो कि छैन? मैले अझै आएको छैन भने। उनले टिकट निकालेर हेर्न लागिन उनको सिट नम्बर ए को ५ रहेछ। मेरो सिट नम्बर ए को ६ हो मैले भने। उनी एक छिन अचम्म मान्दै म तिर हेरिन, अनि भनिन यो स्वर कस्तो चिनेको र पहिला पनि सुनेको जस्तो लाग्यो, तपाईँको घर कता हो?

म मफलर र टोपी मिलाऊदै केही नसुनै झैँ गरेर दामोदर चौक तिर हेर्न लागे………