एमालेको उम्मेदवार बन्न यस्ता छन कडा मापदण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेको उम्मेदवार बन्न यस्ता छन कडा मापदण्ड



काठमाडौं :

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ ।

बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बहुमतबाट त्यो सम्भव नभएको खण्डमा न्यूनतम एक महिलासहित तीन जनाको नाम प्रत्यक्ष निर्वाचनका लागि जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, असोज १९ र २० मा जिल्ला कमिटीका बैठक बस्ने ती नामलाई आफ्नो राय सुझावसहित जिल्ला कमिटीमा पठाउनुपर्ने व्यवस्था गरेको छ ।

असोज २२ र २३ मा प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट प्राप्त राय, सुझाव र सिफारिससहित स्थायी समिति बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने छ ।

एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरूले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रूपमा एक जनाको नाम सिफारिस गर्नुपर्ने बैठकको निर्णय छ । प्राप्त सुझावका आधारमा स्थायी कमिटीले उम्मेदवारको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी बैठकले पार्टी स्थायी कमिटीलाई सुम्पेको हो ।

गत आइतबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पार्टीले प्रदेश २ मा उम्मेदवार छनोट गर्दा ध्यान पुर्‍याउन नसकेको र चुनाव प्रचारप्रसारका लागि पनि कार्यकर्ता परिचालन गर्न नसकेको नेतृत्वले स्वीकार गर्नुपर्ने नेताले सुझाव दिएका थिए । पहिलो र दोस्रो तहको स्थानीय तहको निर्वाचनमा २७६ स्थानमा जितेर पहिलो पार्टी बनेको एमाले प्रदेश २ मा पछिल्लो मतपरिणामअनुसार १८ स्थान जितेर पाँचौं स्थानमा छ ।

क्षेत्रीय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीबाट उम्मेदवार सम्बन्ध प्राप्त सुझाव र सिफारिसको आधारमा मात्रै असोज २६ र २७ मा बस्ने स्थायी कमिटीको बैठकले उम्मेदवारको अन्तिम निर्णय गर्ने गरेको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले बताए । निर्वाचन तालिकाअनुसार समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । समानुपातिकतर्फ नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखेर दलित, आदिवासी जनजाति, खस, आर्य, मधेसी, थारू र मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी सिफारिस गर्नुपर्नेछ ।

एमालेको आइतबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने मापदण्डका लागि स्थायी समितिलाई जिम्मा लगाएको थियो । तर, उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णयसमेत गरेको थियो ।

आइतबारको केन्द्रीय कमिटीको आठौं बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभामा सात वटै प्रदेशमा एमालेले सरकार गठन गर्ने योजनासहितको ओलीको प्रतिवेदन पारित गरिसकेको छ । त्यस आधारमा अगाडिका स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटलाई अलि व्यवस्थित पार्न खोजेको देखिएको छ । क्षेत्रीय कमिटी जिल्ला कमिटी र प्रदेश कमिटीले उम्मेदवारको नामावली पठाउँदा बैठकको निर्णयपुस्तिकको फोटोकपीसहित प्रमाणित गरेर पठाउनुपर्ने प्रावधान राखिएको छ ।

प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले टिकट वितरण व्यवस्थित गर्दै पार्टीले जित सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको बताए । प्रदेश २ मा पार्टीले अनपेक्षित परिणाम हात पारेपछि त्यसको पार्टीले गम्भीर समीक्षा गरेको थियो ।

यस्तो छ मापदण्ड

एमालेले पार्टीमा सक्रिय, सार्वजनिक प्रतिष्ठामा आँच नआएको, असल आचरण भएको, पार्टीमा सक्रिय र समाजमा लोकप्रिय छविका साथै निर्वाचनमा विजय सुनिश्चित गर्न सक्नेलाई मात्रै टिकट दिने भएको छ । स्थानीय निर्वाचनमा बागी विद्रोही भएको, पार्टीलाई असहयोग गरेको तथा विवादास्पद भूमिका भएकालाई उम्मेदवार नबनाउने स्पष्ट गरेको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधि उम्मेदवार बन्न नपाउने भएका छन् । यसअघि संविधानसभामा समानुपातिक सदस्यमा रहेकालाई पुनः समानुपातिक उम्मेदवार नबनाउने भएको छ । तर, महिलाको हकमा भने अलि लचिलो व्यवस्था गरिएको छ ।

यसअघि वरिष्ठ नेताहरू एकभन्दा बढी स्थानबाट उम्मेदवारी दिने गरेको भए पनि यसपटक भने त्यस्तो गर्न नपाउने भएका छन् । निर्वाचन ऐनमा रहेको उक्त प्रावधानलाई पार्टीले कार्यान्वयनमा ल्याउन खोजेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झलनाथ खनाल र सुवास नेम्वाङ इलामबाट, वामदेव गौतम बर्दियाबाट अध्यक्ष केपी ओली झापाबाट वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं-२ बाट, महासचिव ईश्वर पोखरेल काठमाडौं-५ र नेता शंकर पोखरेल दाङबाट निर्वाचन लड्ने निश्चित भएको पार्टी स्रोतले जानकारी दिएको छ । टिकट दिँदा समावेशीता र भौगोलिक सन्तुलन कायम गरिने पार्टीले जनाएको छ । ज्ञवालीका अनुसार समानुपातिक र प्रत्यक्षतर्फ एकै समय २६ असोजमै उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।