ट्रकले तीर्थयात्रीको भीडलाई धक्का दिदाँ ११ जनाको मृत्यु
नयाँ दिल्ली, । उत्तर भारतमा शुक्रबार एक ट्रक तीर्थयात्रीको भीडलाई धक्का दिँदै गुड्दा कम्तीमा ११ तीर्थयात्रीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मिकस्थलतर्फ हिँडिरहेको तीर्थयात्रीको ठूलो भीडलाई चम्पावत जिल्लाको विचाई–टनकपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले अधिकारीले बताए । घटनास्थल उत्तराखण्डको राजधानी शहर देहरादूनबाट ३१२ किलोमिटर दक्षिणपूर्वमा पर्छ ।
चम्पावतका उप–प्रशासक हेमन्त कुमार वर्माले सिन्ह्वा न्यूज एजेन्सीसँगको कुराकानीमा भने, “चम्पावतमा आज एउटा ट्रक तीर्थयात्रु हिँडिरहेको स्थानमा अनियन्त्रित गतिमा गुड्दा भएको भयानक दुर्घटनामा तीर्थाटनमा हिँडेका कम्तीमा ११ जनाको निधन भएको छ । घटनामा १९ तीर्थालु घाइते भएका छन् ।” उनले घाइतेहरूलाई स्थानीय विभिन्न अस्पतालमा उपचारका लागि पठाइसकिएको बताए।
अधिकारीका अनुसार उक्त स्थान हुँदै कम्तीमा २५० तीर्थालु खाली खुट्टा तीर्थस्थलतर्फ जाँदै थिए ।
घटनामा मृत्यु हुने र घाइते भएका प्राय उत्तर प्रदेशकै बराइली जिल्लाबाट धार्मिक उद्देश्यका लागि गएका थिए ।
प्राप्त पछिल्लो विवरण अनुसार ट्रकका चालक घटनापछि फरार रहेका छन् भने प्रहरीले चालकको खोजी गरिरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार ट्रक एक्कासी भीडतर्फ बढिरहँदा तीर्थाटनमा हिँडेका सबैजना रोइ कराई गर्दा उक्तस्थानमा कोलाहल मच्चिएको थियो । भारतमा चालकको लापर्वाही, कमजोर सडक संरचना तथा क्षमताभन्दा अत्यधिक भार लिएर सवारी चलाएका कारण वर्षेनी हजारौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । रासस/सिन्ह्वा