तिहारमा १० करोड रुपैयाँको फूलको कारोबार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तिहारमा १० करोड रुपैयाँको फूलको कारोबार



बुटवल : गएको महान पर्व तिहारमा करिब १० करोड रुपैयाँको फूलको व्यवसाय भएको छ । पुष्प व्यवसायीले अपेक्षा गरेकोभन्दा बढी फूलको कारोबार भएको जनाइएको छ । उनीहरुले ग्राहकहरुको माग अनुसार पर्याप्त मात्रामा फूलहरुको आपूर्ति गर्न नसकेको स्वीकारे ।

फ्लोरीकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष दिलिप वादेले तिहारमा समग्रमा १५ लाख संख्या मालाको बिक्री हुने अनुमान गरिएकोमा त्योभन्दाबढी २० लाख संख्यामा बिक्री भएको बताए । यद्यपि अझै माग अनुसार आपूर्ति हुन नसकेको उनको बुझाइ छ । “एशोसिएशनले ११ लाख संख्या हाराहारीमा सयपत्रीको माला बिक्री हुने अनुमान गरेको थियो,” उनले भने “तर सो संख्या बढेर १५ लाख मालाको बिक्री भएको छ ।” ३ लाख मखमली मालाको बिक्री हुने सोचिएकोमा उक्त संख्या बढेर साढे ३ लाख पुग्यो ।

त्यस्तै गोदावरी लगायत मालाहरु १ लाख ओटा बिक्री हुने अनुमान गरिएकोमा त्यसमा पनि ५० हजार संख्या बढेको एशोसिएशनको भनाइ छ ।
भारतदेखि ३ लाख सयपत्रीको माला ल्याउने भनिएतापनि माग बढेको कारणले साढे ४ लाख संख्या ल्याउन परेको थियो ।

उपाध्यक्ष वादेले सयपत्री मालाको मूल्य तिहारमा केहि बढेको बताए । उनका अनुसार भारतमा प्रतिगोटा ४०÷४५ रुपैयाँ पर्ने माला ६०÷६५ रुपैयाँसम्म बिक्री भएको थियो ।

बाँकी मखमली, गोदावरी लगायत मिक्स मालाहरुको मूल्यमा भने खासै उत्तारचढाव आएको थिएन । मखमली मालाको प्रतिगोटा ३०÷४० भने, गोदावरी लगायत मिक्स मालाको प्रतिगोटा मूल्य न्यूनतम २ सय रुपैयाँ रहेको एशोसिएशनको भनाइ छ ।