तीन जिल्ला जोड्ने तीनमुखे पुल अलपत्र - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

तीन जिल्ला जोड्ने तीनमुखे पुल अलपत्र



गुल्मी, २ असोज । तीन जिल्लाको संगमस्थलमा बन्न लागेको तीन मुखे पुल अलपत्र परेको छ । गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको सगंम स्थल रिडिमा निर्माणाधीन अवस्थामा रहेको तीन जिल्ला जोडने तीनमुखे पुल यतिवेला अलपत्र परेको छ । सम्झौता अनुसार ०७४ असार ९ गतेभित्र पुल बनिसक्नुपर्ने हो ।

सम्झौता भएको मिति असारमै सकिएको भए पनि पुलको एउटा पिल्लर समेत बन्न सकेको छैन । ठेकेदारको लापरवाहीका कारण पुलनिर्माण कार्य अत्यन्तै सुस्त गतिमा अगाडि बढेको भन्दै स्थानीय समेत आक्रोशित भएका छन् । गुल्मी, पाल्पा र स्याङ्गजाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रिडीमा तीन जिल्लालाई जोड्ने नेपालकै नमूना तीन मुखे पुल भएकाले पुलप्रति धेरैको उत्साह र चासो रहेको भएपनि निर्माण व्यवसायीको कारण पुल अलपत्र परेको हो । सबैको धेरै उत्साह र चासो रहेको ३ जिल्ला जोड्ने ३ मुखे पुल अहिले अलपत्र परेको रिडीका व्यापारी रविलाल पन्तले बताए ।

‘समयमै पुल निर्माण हुन्छ भनेर हौसिएका थियौँ’, पन्तले भने– ‘काम पनि साह्रै ढिला गरी शुरु भयो, शुरु भए पनि निर्माण कार्यले निरन्तरता पाउन सकेन ।’ उनका अनुसार निर्माणको जिम्मा लिएको कम्पनीका कारण पुन निर्माणमा ढिलाई भएको बताए । अहिले एउटा बनिरहेको पिल्लरमा समेत ठेकेदारले सरकारी मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेकाले त्यसको कुनै औचित्य नभएको पन्तको भनाई छ ।

तत्कालीन नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र सभासद चन्द्र भण्डारीले पुलको २०७१ मंसिर १५ गते शिलान्यास गरेका थिए । नयाँबाटो–रुविना–मना जे.भी कम्पनीले पुलको निर्माण गर्ने जिम्मा पाएको थियो ।

नेपाल सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सड्क बिभाग (डोलिडार) ले निर्माणका लागि ठेक्का प्रदान गरेको थियो । ९ करोड ८८ लाख २६ हजार तीन सय ३२ रूपैयाँको लागतमा ठेक्का सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ । पुलको कुल ५ सय ४० मिटर लम्बाई, प्रत्येक ३ वटा लट्टाको लम्बाई ९ सय ८० र कालीगण्डकीको बीचमा सात सय मिटरको गोलाई भएको पिल्लर रहने सम्झौतामा उल्लेख छ । सम्झौता भए पनि बीचकै पिल्लरको २० प्रतिशत कामसमेत अहिलेसम्म हुन सकेको छैन । कालीगण्डकी करिडोरसँगै रुरु क्षेत्रमा बन्न लागेको तीन मुखे पुलले देशकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास स्थानीयमा रहेको थियो ।

यता रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतमले ठेकेदारकै लापरवाहीका कारण पुल निर्माण काम अगाडि नबढेको बताए । ‘सम्झौता कहिलेसम्मको होे निर्माणको जिम्मा पाएकालाई नै थाहा छ’, उनले भने– ‘ठेकेदारले लापरवाही गरेपछि अहिले अलपत्र भएको हो ।’ उनका अनुसार निर्माणको क्रममा नेपालमा नाकाबन्दी, भूकम्प लगायतका समस्याहरू आए पनि बेलामा ठेकेदारले कानमा तेल हालेर बसेकाले काम समयमै नसकिएको उनको भनाई छ । ढिला सुस्तिको बारेमा धेरै पटक खबरदारी गरिएपनि आफूहरूको कुनै अर्थ नरहेको स्थानीय सुन्दर कसजुले बताए । विभाग, मन्त्रालय र महानिर्देशकसम्म डेलिकेसन गयौँ’, उनले भने– ‘सम्झौता सकियो, कुनै माखो मरेन ।’

पुल निर्माणको जिम्मा पाएको नयाँबाटो–रुबिना—मना जेभिका प्रतिनिधी महेन्द्र अधिकारीले नक्सा बनाउने समय धेरै लाग्नुका साथै देशमा नाकाबन्दीका कारण निर्माणमा ढिलाई भएको बताए । गएको असारमै निर्माण सम्पन्न गरिसक्नु पर्ने अधिकारीले भने‘ देशको असहज परिस्थीती र नक्सामै धेरै समय बित्यो अव दशै तिहारपछि कामले तिव्रता पाउँछ ।’ उनका अनुसार आफूहरूले २ वर्षको म्याद थप्नका लागि अनुरोध गरिरहेको बताए । नेपालको लागि तीन मुखे पुल नयाँ भएकोले सामान र काम गर्ने मेकानिकको समस्या समेत समयमै काम नहुने कारण बनेको उनको भनाई छ । ‘मुख्य धेरै समय र महत्वपूर्ण काम भनेकै पिलरको हो’, उनले भने– ‘अब वर्षा पनि रोकिएको छ छिट्टै काम शुरु गरेर आगामी असारभित्रमा काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।’