टेक्सासको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

टेक्सासको विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु



अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् ।

शुक्रबार ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ ।

घटनामा संलंग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको केही समयपछि ट्वीट गर्दै आफ्नो प्रतिक्रियामा भनेका छन्, ‘सुरुवाति खबर राम्रो छैन ।’

त्यसपछि ट्रम्पले अर्को ट्वीट लेखेका छन्, ‘टेक्सासमा भएको अपूरणीय क्षतिप्रति म दुःख व्यक्त गर्दछु । सान्टा फि विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी, यो त्रासदीपूर्ण घडीमा म सधैँ तपाईँहरुको साथमा छु ।

यसै वर्ष अमेरिकाको फ्लोरिडाको एउटा विद्यालयमा भएको गोलीकाण्डमा परि १७ विद्यार्थी तथा कर्मचारीको ज्यान गएको थियो । यो घठनापछि अमेरिकामा हतियार राख्न पाउने कानुनी प्रावधानविरद्ध व्यापक प्रदर्शन भएको थियो । त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पले विद्यालयलाई हतियार निषेधित क्षेत्र बनाउने प्रतिवद्धता जनाएका थिए । ’