शिक्षकहरुले अध्यापनसंगै आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्छ : के.सी. - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

शिक्षकहरुले अध्यापनसंगै आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्छ : के.सी.



बागलुङ, ५ असोज । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेडका उपाध्यक्ष मनकुमारी केसीले आम विद्यार्थीहरुलाई शिक्षाको ज्योती दिने शिक्षकहरुले आफ्नो पेशागत मर्यादासंगै समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्नु पर्नेमा जोड दिनु भएको छ ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको छैठो वार्षिक साधारणसभाको बिहीवार उद्घाटन पछि बोल्दै केसीले यस्तो बताउनु भएको हो ।
समाजका हरेक क्षेत्रमा शिक्षकहरुको प्रभाव छ, जनचेतना अभिवृद्धिदेखि सामाजिक कार्यमा शिक्षकले गरेका कामले नै जनताका सच्चा साथी शिक्षक भएको प्रसंग कोट्याउदै उहाँले अब शिक्षकहरुले जनतालाई आयआर्जन कसरी गर्ने, वचत कसरी गर्ने लगायत आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानमा अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । गाउँघरमा धेरै स्रोतहरु खेर गैरहेका छन्, ति स्रोतको पहिचान, परिचालन, उत्पादन र प्रशोधनका लागि जनतालाई सचेत बनाउने काममा शिक्षकहरुको भूमिका नै प्रभावकारी हुने भएकाले राज्यले शिक्षकहरुलाई परिचालन गर्ने वातावरण सिर्जना गर्नु पर्ने उहाको भनाइ थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य टिकाराम सापकोटाले शिक्षकहरुले आफ्नो जिम्मेवारीलाई प्रभावकारी र समय सापेक्ष बनाएर शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिनु पर्ने बताउनु भयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले भर्खर संसदबाट पारित भएको सहकारी ऐनका बारेमा जानकारी गराउदै ऐनले सहकारी क्षेत्रलाई थप प्रवद्र्धन गर्न योगदान गर्ने बताउनुभयो । उहाँले सहकारी ऐनले धेरै राम्रा कुरा ल्याएको र केही अझै सुधार गर्नु पर्ने विषय रहेको भन्दै उहाँले सहकारी ऐनमा उल्लेख भएको विषयहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, संस्थाका कानुनी सल्लाहकार डिल्लीराज गौतम, सल्लाहकारहरु अनन्तबहादुर खड्का र विष्णुप्रसाद शर्मा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गोविन्दबहादुभण्डारी, संस्थाका लेखा संयोजक थानेन्द्र प्रसाद गौतम, शेयर सदस्य माधव प्रसाद उपाध्याय लगायतले शिक्षक सहकारीले समाजका अन्य क्षेत्रलाई प्रभाव पर्ने गरी आफ्ना गतिविधि सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष हिमालयप्रकाश श्रेष्ठको स्वागत र सचिव भीमप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा सचिव गौतमले प्रगति प्रतिवेदन, कोषाध्यक्ष महेन्द्रबहादुर कार्कीले आर्थिक प्रतिवेदन, लेखा संयोजक थानेन्द्रप्रसाद गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बागलुङ जिल्ला कार्यक्षेत्र रहेको शिक्षकहरुले सञ्चालन गरेको संस्थामा हाल ३ सय ७२ जना शेयर सदस्य, ४४ लाख शेयर रकम र ६७ लाख लगानी रहेको कोषाध्यक्ष कार्कीले जानकारी दिनु भयो । संस्थाले विद्यालय तथा शिक्षण संस्थाहरुलाई आवश्यक पर्ने छपाई सम्बन्धी काम गर्नका लागि गत वर्षदेखि नमुना अफ्सेट प्रेस सञ्चालन गरेको छ । रंगित प्रेस सञ्चालन गरेपछि शिक्षकहरुले आफ्नै प्रेसमा छपाई गर्न थालेको कोषाध्यक्ष कार्कीले जानकारी दिनुभयो । साधारणसभाले दिपक गौतम अध्यक्ष रहेको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा हिमालय प्रकाश श्रेष्ठ, सचिवमा दिनेश अधिकारी, सहसचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा महेन्द्रबहादुर कार्की रहनु भएको छ ।

समितिका सदस्यहरुमा फणिन्द्र आचार्य, नेत्रराज सिलवाल, बालकृष्ण सापकोटा, होमनाथ गौतम, डिल्लीराज उपाध्याय, राजेश श्रेष्ठ, कृपा पौडेल र चित्रबहादुर केसी रहनु भएको छ । साधारणसभाले हरिराम अधिकारी संयोजक तथा भूपेन्द्र खड्का र भिमबहादुर थापा सदस्य रहेको लेखा समिति चयन गरेको निर्वाचन उपसमितिका संयोजक डिल्लीराज गौतमले जानकारी दिनुभयो ।
पत्रकार महासंघको भवन निर्माणका लागि सहयोग नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण कार्यका लागि शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले ५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
संस्थको छैठौ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष दिपक गौतमले नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई नगद रकम हस्तान्तरण गर्नु भएको हो । हामी सबैको रहर ः नेपाल पत्रकार महासंघको घर भन्ने नाराका महासंघले भवन निर्माण गर्न थालेको छ । भवन निर्माणका लागि महासंघले १ करोड ३० लाख रुपैया बजेटको व्यवस्थान गर्दैछ । स्थानीय तह, जिल्ला तथा केन्द्रीय स्तरका विभिन्न कार्यालय, संघ संस्था, सहकारी संघ संस्था लगायत व्यक्तिगत रुपमा समेत भवन निर्माणका सहयोग प्राप्त भइरहेको अध्यक्ष शिरिषले जानकारी दिनुभयो ।