तराई–मधेसका समस्या आर्थिक र सामाजिक विकासबाट गरिने :नेता पोखरेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तराई–मधेसका समस्या आर्थिक र सामाजिक विकासबाट गरिने :नेता पोखरेल



नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले तराई–मधेसका समस्याको समाधान संविधान संशोधनबाट नभई आर्थिक र सामाजिक विकासबाट गरिने बताएका छन्।

प्रेस चौतारी बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले मधेसको समस्याको समाधान संविधान संशोधनबाट गर्नुपर्छ भन्ने मान्यताको अगुवाइ गर्ने कांग्रेसलाई भन्दा प्रदेश २ का जनताले एमालेलाई बढी स्थानमा जिताएर उसको एजेन्डा रुचाएको बताए।‘तराई मधेसमा समस्याहरु छन्, ती समस्या समाधान गर्न पनि आवश्यक छ’, उनले भने, ‘तर संविधान संशोधनबाट नभई आर्थिक सामाजिक विकास र रुपान्तरणका कार्यक्रमबाट समाधान गर्नुपर्छ भन्ने एमालेको मान्यता हो।

’यस पटकको चुनावबाट मधेसका जनताले आफ्नो समुदायको प्रतिनिधित्व होस् र आर्थिक विकासका कार्यक्रम अगाडि बढून् भन्ने चाहना राखेको उनले बताए।प्रदेश नम्बर २ को चुनावी परिणामलाई विश्लेषण गर्दै नेता पोखरेलले भने, ‘एमाले, कांग्रेस र माओवादी केन्द्रले भन्दा बढी मत मधेसकेन्द्रित दलले पाएका छन्। त्यो जनमत भनेको मधेसी जनताले प्रदेश र केन्द्रमा आफ्नै समुदायको प्रतिनिधित्व होस् भनेर दिएका हुन्।’उनले राष्ट्रिय पार्टीहरुको कुरा गर्ने हो भने प्रदेश २ मा सबैभन्दा बढी मत एमालेले पाएको भन्दै त्यसको अर्थ एमालेको एजेन्डामा मधेसका जनताको समर्थन रहेको दाबी गरे।

‘मधेसवादी दलका नेता राजेन्द्र महतोले त अब वाम गठबन्धनसँग सहकार्य गरेर अगाडि बढ्ने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका छन्’, उनले भने, ‘त्यो अभिव्यक्ति त्यसै आएको होइन, मधेसी जनताको जनमतको अभिव्यक्ति हो।’