स्वीट सेल्फी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्वीट सेल्फी



दीपक घिमिरे

उ गलत मान्छे हो भन्ने थाहा थियो तर उ सँग टाढिन सक्दैनथे किन कि उ मेरो मालिक जस्तै फोरम्यान थियो ।

उसले एक दिन मलाई काम बाट रोक्दै भन्यो “ चाय पिनेके लिए अफिस मे आजा ! ”

म छक्क परे । काम बाट निकालेर नेपाल पठाउछ या कुनै दण्ड सजाय दिन्छ भन्ने आफ्नै सोच मनमा सजाउदै उसको अफिसमा गए ।

“ लो स्याण्डविच खाओ ! ” उसले अफिसमा बस्न नपाउदै एउटा रोटिमा बेरेको अचम्मको आईटम खान दियो । मैले क्वाप क्वाप खादै भने “ बहुत मिठा हे ! ”

उ किच्च हास्यो , जुङ्ग मिलाउदै भन्यो “ उमर कितना हे तेरा ? ”

म डराए , तै पनि भन्नै प¥यो “ अठार साल हुवा हुँ ! ”

उसले गाला चिमोट्दै भन्यो “ अरे वा ! आजा गले लग जा ! ”

म उसको अँगालो बाट फुत्केर काम गर्ने ठाउँ मा आए । उ हेरेको हे¥यै भयो । ”

उ मलाई अनौठो खालको माया गर्दथ्यो । उसको माया भित्र मैले धेरै डर देख्दथे । तै पनि उ फोरम्यान हो , टाढा हुनै सक्दैनथे । उ कहिले के भनेर जिस्काउथ्यो त कहिले के भनेर ।

एक दिन पाकेको खजुरका गेडा दिँदै भन्यो “ ए खालो , गरम होजाएगा । सेहद के लिए बहुत अच्छा हे । ”

त्यसै त अरबको गर्मी , त्यसमा पनि गरम गराउछ भन्दै खजुर दिएपछि मैले भने “ ज्यादा मिठा पसन्द नहि हे , आँप खालो । ”

उसले फेरि गाला चिमोटदै भन्यो “ इतना प्यार से दिया हु , खाले । ”

खानै प¥यो , डराउदै खाए ।

उ मलाई सेक्सी नजरले हेरिरह्यो , मानौ म कुनै च्वाँक केटी हुँ । म लजाउदै भएनी दुई चार गेडा खजुर खाए अनि बिदा हुँदै भने “ अब काम पे जा सक्ता हु अरबाप ? ”

उसले मुसुक्क हास्दै बिदा दियो , म डराउदै बाहिरीय ।

म काममा आएको एक हप्ता बित्यो । शुक्रवारको दिन यहाँ बिदा हुँदो रहेछ । बिदाको दिन निद्रा नै नलाग्ने ! यो अरब अचम्मको ठाउँ रहेछ । जुन दिन बिदा छ त्यो दिन चार बजे आँखा खुल्ने तर काम भएको दिन सधैँ मोबाइलको आलार्मले हामीलाई उठाउने ।

निद्रा नलागेर उकुस मुकुस भएसी म उठे । फ्रेस भएर दुबईमा बस्ने सुवास शर्मालाई फोन गरे । पहिलो हेल्लोमै उसले भन्यो “ आज घुम्न पर्च , म अबुधाबी आउछु । भेटम्ला है । ”

मैले नाई भन्ने कुरै भएन , उसले आफै ठाउँ फिक्स र्गयो “ त्यो अबुधाबी कोर्नेचमा ठिक दस बजे भेटम्ला है । ”

घडीमा पाँच बजेकै थिएन । रनेदाई उठेर मोबाइलमा गेम खेल्दै थिए । किस्ने , बिस्ने अनि बाले लगायत सबै मोबाइलमै व्यस्त थिए । कोही गेम खेल्दै थिए त कोही छप्की सँग गफमा मस्त थिए ।

उहीँ सुपा जस्ता ठुला खबुस र एक माना चिया खाएपछी म तयार भए । आठ बजिनसक्दै म कोर्नेच तिर लम्किय । बाटोमा सुवास सँग फेरि कुरा भए , उ पनि उता बाट हिडिहाल्यो ।

बेल्चा खेलाउदा हत्केलामा उठेका पानी फोका फुटेर घाउ बनेका थिए , हात देखाउनै लाज लाग्ने । सुबासे सँग लजाउन पर्थेन तै पनि हल्का लाज लागि हाल्दो रैछ ।

आधा घण्टा कोर्नेच पार्कमा कुरेपछी सुबासे झुल्कियो , कालो अनि ख्याउटे अनुहार लिएर । टाढै बाट बत्तिस दन्त देखाउदै हात उठायो । अनि नजिक आएर ग्वाम्म अँगालो मा¥यो ।

घामले जलेको अनि दस दिन देखि भोको जस्तो देखिने शुबासेलाई सोधे “ किन यस्तो दुब्लाको बे ? खानै नपाको जस्तो छस त ? फेसबुकमा त च्वाँक फोटा हाल्या हुन्चस ? ”

सुईय सुस्केरा हाल्दै भन्यो “ तनाप छ दाजी ! खानुको फिक्स छैन , सुत्नुको फिक्स छैन । अनि कहाँ बाट अन्वार चकिलो होस । त्यो फोटा त सबै स्विट सेल्फीको कमाल हो यार । ”

उ हास्न खोजे जस्तो मात्र ग¥यो , म चैँ मजाले हासे ।

नेपाल बस्दा हिरो हेन्सम सुबासेको जवानी पनि यै खाडीले लगेछ । उसलाई जिस्काउदै भने “ तलाई फेसबुकमा चिन्नेले प्रतक्ष्य त पक्कै चिन्दैनन होला है बड्डा ? ”

उ लजाउदै भन्यो “ यत्रो चिन्दैनन ! उस्तै त छु नि बे । ”

उसले मनको लड्डु घिउ सँग मस्तले खायो । उ भ्रममा थियो ।

मैले सोचे ! साँच्चै यो आधुनिक जमानामा एन्ड्रोइड मोबाइल हुन्थेन या यस्तै मोबाइल भित्र स्विट सेल्फी नामको क्यामरा हुन्थेन भने फेसबुकमा कसैले फोटा अपलोड गर्थेनन । किनकि चाउरियको अनुहारलाई हिरो बनाउने क्यामरा छदैछ । खिच्यो , मिलायो अनि पोष्टीयो ।

एक छिन भलाकुसारी भए , उसले मलाई यही रोकेर क्याफ्टेरिया गयो अनि दुईवटा बर्गर लिएर आयो ।

बर्गरलाई चट्ट पारेर राख्यो , गोजिबाट चस्मा निकाल्यो चिम्सा आखाँमा घुसायो अनि दुईवटा औला ठड्याउदै सेल्फी खिच्यो । यही स्विट सेल्फी भन्ने क्यामरा बाट ।

तीन चार वटा फोटो खिच्दै सुवासले भन्यो “ रिल सक्किने होइन , बालै भएन नि यार । ”

मलाई भोक लागेको थियो । बर्गर देखेर म लोभिए । उ चैँ फेसबुकमा फोटो पोष्टिन हतारिदै थियो ।

स्विट सेल्फीबाट खिचेका फोटालाई समेत उसले मज्जाले ईडिट ग¥यो अनि फेसबुकमा पोष्टिदै क्याप्सन लेख्यो “ फन विथ फ्रेन्ड इन अबुधाबी कोर्नेच ! ”

फटाफट कमेन्ट आउन थाले । नेपाल बस्ने मेरो माईलो भाइले कमेन्टमा लेख्यो “ मस्ती छ है दादाहरु । ”

मस्ती छ या के छ त्यो त यही मनलाई थाहा छ । बर्गर समात्ने हत्केला हेर्दै सोचे “ परदेश सोच्दा अर्कै अनि भोग्दा अर्कै हुने ठाउँ हो । ”

कुच्चियको डेक्ची जस्तो अनुहार भएको सुबासेले फेसबुक बाटै टन्न तरुनी पट्याएको रैछ । म सँग बसेकै समयमा उसका सयौ कल आए । कसैलाई डिउटीमा छु जानू भन्दै ठग्थ्यो त कसैलाई चुम्मा साटासाट गरेर फकाउथ्यो । म बिचरो उसको चर्तिकला हेरेरै बसे , हुक्क परेपछी सोधे “ कुच्चेको सिल्पटको डेक्ची जस्तो अन्वार छ , कसरी पट्याउछस बे यतिका तरुनी ? ”

उ गलल हास्दै भन्यो “ यो स्विट सेल्फी किन बनाको त बे ? यस्तै कुच्या अन्वारलाई हट एन्ड हेन्सम बनाउनकै लागि यो क्यामरा बन्या हो बुझिस ! ”

मैले बुझेको अनुमान लगाउदै मुन्टो तलमाथि हल्लाईदिए ।

दुई घण्टा कोर्नेचमा बसेपछी उसले मलाई भन्यो “ हिड ! डान्स बारमा गएर बियर पिम । ”

मैले आज सम्म बियर पिएको थिएन । उसलाई नाई भन्दै पाकिस्तानी फोरम्यानको कुरा सुनाए । उ अबुधाबी थर्किने गरेर हास्दै भन्यो “ पठानहरु सँग बचेस बड्डा , नत्र मलद्वारले दुख पाउला । ”

उ हासीरह्यो , म चैँ अझ धेरै डराए ।

परदेशमा एउटा रमाइलो के भने साथी भाइ भेटिएपछी छुट्टिनै मन नलाग्ने । सुबासे दुबई पुग्नु पर्ने मान्छे , म बनियास आउनु पर्ने । हामी दुवै जनालाई छुट्टिन मन थिएन । ठ्याक्कै लभ परेका जोडी जस्तै । तर पनि छुट्टिनु थियो । आउदो रमदान ईदमा उतै दुबईमा भेटने योजना बनाएर छुट्टियौ ।

ट्याक्सीमा चढेर लेबर क्याम्प तिर आउँदै गर्दा एउटा पठानले फेरि फकाउदै भन्यो “ तुम्हारा नम्बर देदो , अगली शुक्रवार दुबई चलेङ्गे ! घुमेङ्गे , फिरेङ्गे , मस्ती करेङ्गे । ”

जता गएनी पठानले नछाडने मेरो नसिब लाई दोष दिँदै रुम सम्म आईपुगे , धन्न पठान सापले बाटैमा बलात्कार चैँ गरेनन ।