स्वास्थ्य शिबिर लिएर मर्चवार पुग्यो प्रदेश सरकार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

स्वास्थ्य शिबिर लिएर मर्चवार पुग्यो प्रदेश सरकार



बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले रुपन्देहीको मर्चवारमा स्वास्थ्य शिबिर गरेको छ । गणतन्त्र दिवसको अवसरमा मर्चवार क्षेत्रमा विशेषज्ञ र उपकरण सहितको स्वास्थ्य शिबिर पहिलो पटक आयोजना भएको हो ।

मर्चवारी गाउपालिकाको रायपुरमा भएको शिबिरमा करिव एक हजारले स्वास्थ्य जाच गराएका छन् । शिबिरको एक कार्यक्रमकाबीच मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले समृद्ध प्रदेश र सुखी जनता अभियानलाई सार्थक बनाउन सरकार पिछडिएको क्षेत्रमा कार्यक्रम लिएर आएको बताए । मर्चवार नेपालको स्वाभिमानसंग जोडिएको भुगोल भएको भन्दै उनले त्यसको उचित विकासमा प्रदेश सरकारले महत्वपूर्ण काम गर्ने बताए ।
गणतन्त्रको प्रत्याभुती दिलाउनका लागि सरकारले जनस्तरमा कार्यक्रम गर्ने उनले बताए । मर्चवारको शिक्षा, स्वास्थ्य, कृषिको विकासका लागि काम हुने उनले बताए । गाउपालिका स्तरमा भएका समस्यालाई प्रदेश सरकारसमक्ष ल्याउन उनले आग्रह समेत गरे ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा, स्वास्थ्यबाट पछि परेको सबै प्रदेशको भुगोलको विकासमा प्रदेश सरकारको पहिलो प्राथमिकता रहने बताए । उनले शिक्षा, स्वास्थ्य जस्ता विषयमा लार्पबाही नगरी कार्यसम्पादन गर्न समेत कर्मचारीहरुलाई आग्रह गरे ।
त्यस्तै गाउपालिकाका अध्यक्ष केशवानन्द बानियाले सिचाई र स्वास्थ्यका क्षेत्रमा योजना ल्याइदिन प्रदेश सरकारलाई आग्रह गरे । बिजुली, सडकको काम स्थानीय तहले नै गर्ने भन्दै उनले मर्चवारको सयौ हेक्टर जमिनलाई सिचाई पुराइदिन उनको आग्रह थियो ।
वार्ड नम्बर २ का वडाध्यक्ष सुरेन्द्र मिश्राले स्वास्थ्यचौकीका लागि एम्बुलेन्स उपलब्ध गराउन माग गरे । सुत्केरी महिलालाई मोटरसाइकलमा कुटाउनु परेको भन्दै उनले जनताको स्वास्थ्यमा ख्याल गरिदिन अनुरो गरे ।
स्वास्थ्य शिबिरमा लुम्बिनी अञ्चल अस्पतालका चिकित्सकहरुले चेकजाच गरेका थिए । सबै विभागका विशेषज्ञले स्थानीयको परीक्षण गर्दै निशुल्क औषधि समेत प्रदान गरिएको थियो । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डन डा. कृष्ण खनालको नेतृत्वमा दर्जन बढी चिकित्सकको सहभागिता रहेको थियो ।
भिडियो एक्सरे, सर्जरी, हाडजोर्नी, प्रसुती, छाला लगायतका सेवाहरु उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले वताए ।