सुपा देउरालीमा पर्यटकको संख्या दोब्बर  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सुपा देउरालीमा पर्यटकको संख्या दोब्बर 



अर्घाखाँची ।

प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । विगतका वर्षको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्या दोब्बरभन्दा बढी छ । विगतका वर्षमा दैनिक २ सयदेखि १ हजार भक्तजन आउने गरेकोमा अहिले दैनिक १ हजारदेखि २ हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष प्रीतम थापाले बताएका छन् ।

नेपाल मन्दिरै मन्दिरको देशको रूपमा चिनिन्छ र यहाँका कतिपय मन्दिरमा मासिक लाखौं भेटी सङ्कलन भए पनि उपयोग भएको सुनिँदैन, तर जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्त्वको यस मन्दिरको भेटी भने विकास निर्माणका काममा उपयोग भइरहेको छ ।

मन्दिरमा चढाएको भेटीबाट खाँचीकोटस्थित आदर्श माविमा ६ जना र सीतापुरस्थित शान्ति निमाविमा ४ शिक्षकलाई तलब उपलब्ध गराउन मासिक १ लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले जानकारी दिए । यस्तै सन्धिखर्कमा रहेको पाणिनि वेद विद्याश्रमका लागि वार्षिक १ लाख २० हजार उपलब्ध गराउनुका साथै अन्य विकास निर्माणका काममा पनि सहयोग उपलब्ध गराउँदै आएको उनले बताए ।

गत वर्ष सो मन्दिरमा रू. ६० लाख आम्दानी भएको थियो भने यस वर्ष रू. ८० लाख पुग्ने अनुमान छ । वैशाख १ गते नयाँ वर्षका दिन १२ हजारभन्दा बढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा १ लाख ९ हजार ८ सय भेटी सङ्कलन भएको उनको भनाइ छ ।

मन्दिरको दर्शनका लागि अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रूपन्देहीबाट बढी पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत धार्मिक पर्यटक सुपादेउरालीमा दर्शन गर्न आउनेको भीड लाग्ने गरेको छ ।

विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले विद्यालय सञ्चालनमा सहज भएको आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले बताए । मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन विद्यालय सञ्चालन, विकास निर्माण, बिरामीको उपचारमा सहयोग गर्दै आएको छ । धेरै भेटी सङ्कलन हुने नेपालका अन्य ठूला मन्दिरमा पनि उठेको भेटी यसैगरी सामाजिक काममा लगाउनुपर्नेमा समितिका उपाध्यक्ष गोवद्र्धन थापाले जोड दिएका छन् । सुपादेउराली नजिकै नरपानीको डाँडाको मनोरम दृश्यका साथै विभिन्न हिमाल देखिने भएकाले यस क्षेत्रको पर्यटन विकासमा पनि टेवा पुग्ने देखिएको छ । रासस