सौतेनी आमा ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सौतेनी आमा !



प्रबिन गौतम

अलि अस्ति मातातिर्थ औसि थियो । सबैले आफ्ना आमाको फोटो फेसबुकको वालमा हालेर स्वाङ पारे । हो कतिले साँच्चै माया लागेर फोन गरे , मिठाई खुवाए होलान् तर धेरैले स्वाङ पारे । तर मेरो न साँच्चै माया देखाउने आमा थिइन , न त स्वाङ पारेर फेसबुकमा फोटो हाल्ने जस्ती आमा ।

आमा ! यो शब्दमा मैले आफ्ना जीवनका अमूल्य बर्षहरु गुमाए । आमा खोज्दै जीवनका त्यस्ता दिनहरू गुमाए जुन दिनहरू न कहिले फर्केर आउनेछन न त अर्को जुनी नै पाउनेछु । संसारभरका बच्चाले आमाको न्यानो काख पाउँदा म तिनै आमा खोज्न कहिले पल्लो गाउँ चाहार्थे त कहिले वल्लो गाउँ । तर आमा भेटाईन , बरु आमाको नाममा एउटा आईमाई भेटाए । जसले न आमाको माया दियो , न त संसारभर मिल्ने खुसी । ती दिनको एकै छिन याद गर्छु ।

बाले रक्सी खाएर रातदिन आमालाई कुटन थालेपछि एक दिन आमा बेपत्ता । भन्छन् नि , सन्तानको खुसीका लागि आमाले आफ्नो प्राण समेत त्याग्छन भनेर । तर अँह ! झुटो रहेछ ।

मेरी आमाले हाम्रो खुसीको लागि बाको कुटाई समेत सहन सकिनन अनि एक रात हिडिन । तर पनि ती आमा प्रति मेरो कुनै गुनासो छैन । किनभने उनको गर्भमा नौ महिना बसेर काखमा तीन वर्ष भन्दा धेरै खेलेको हु । उनले आफ्नो कर्तव्य पूरा गरिन या गरिनिन , त्यो भगवानले हिसाब किताब गर्दै होला तर मेरा लागि त्यति पनि धेरै थियो । बच्चैमा छाडेर जाने आमा प्रति आभारी छु ।

आमा हिडेपछी बाले अर्कि ल्याए । तिनी हाम्रा लागि ल्याईएकी आमा थिइन । बाको नजरमा निक्कै सुन्दर आमा । तर हाम्रा नजरमा कुनै भूत वाला फिल्मको भुतेनी जस्ती । अनि महसुस हुन थाल्यो आमाको माया ।

बाले रक्सीको नशामा आमालाई कुटदा खुट्टा पकडेर आमालाई नकुटन आग्रह गर्ने हामीहरुलाई अब यिनै आमाले कुटन थालिन । फरक यत्ति थियो , त्यो बेला आमालाई बचाउने हामी हुन्थ्यौ भने यति बेला अझ खुट्टा भाच्न लगाउने बा हुन्थे । अरू थप दुई झापट लगाउन आग्रह गर्दै भन्थे “ खुट्टा सुट्टा भाच्दे त्यस्को । ”
अनि हामी तिनभाई आमा खोज्न कहिले पल्लो गाउँ पुग्थ्यौ अनि कहिले वल्लो गाउँ । तर आमा धेरै टाढा थिइन । जिउदै थिइन , तर अर्कैको भैसकेकी थिइन ।
बाध्य भएर उन्लाई भुल्दै गयौ , नयाँ आमालाई चिन्दै गयौ ।

सँगै बस्न थालेपछि जनावरको पनि माया लाग्छ रे ।साँच्चै हो यो कुरा ! मलाई मेरो घरको पेटारी बाख्री , तिखे गोरु अनि पिन्टु कुत्ताको अति माया लाग्थ्यो । पेटारी बाख्रीलाई बाघले खाएको दिन मैले भात खाईन , तिखे गोरु बुढो भएर मर्दा म धरधरी रोएको छु अनि पिन्टु कुत्ता हराउदा खोज्दै हिडेको छु एक हप्ता सम्म । तर मेरी नयाँ आमाले हाम्रो माया मान्ने त परैको कुरा यमराज भन्दा खतरनाक दुस्मन देख्थिन अनि लखेटथिन जीवनका अनगिन्ती दोबाटो सम्म । जहाँ बाट आमा एकापट्टि कुद्थिन अनि हामी अर्को पट्टि ।

कुददा कुद्दै कहिले कालापार पुर्‍यायो त कहिले खाडी तर लखेटन अझै छाडदैनिन । हामी बुझ्ने भयौ , आमालाई आमाकै दर्जा दिन चाह्यौ तर उनी कहिले आमा बन्न सकिनन । हजारौँ लाखौँ कोसिस गरिए होला । अनगिन्ती पटक आफ्नै आमाको माया देखाईए होला तर न आमाको मन पग्लियो न त बाले आमालाई सम्झाउन सके । सधैँ एक्ला भयौ , कुकुरको छाउरा जस्तै । कहिले यता कहिले उता । अहिले पनि भौतारिन्छु उस्तै गरी ।
आमाका नाममा हजारौँ स्टाटस पोष्टिन्चन साथीहरू । पढछु , लाईक गर्छु तर कमेन्ट गर्न सक्दिन । किनभने मेरो जीवनमा आमाको अर्थ छुट्टै छ । जन्मदिने आमाले छाडेर गएपछि कर्म दिने आमाले सधैँ चुसिन , कहिले पसिना चुसिन त कहिले रगतै चुसिन । यो अवस्थामा पुर्‍याउने तिनै आमा हुन जसले हाम्रो खुसी भन्दा ठुलो आफ्नै खुसी ठानिन अनि एउटा नर्कमा हामी तीन भाइलाई छाडेर आफू स्वर्ग जस्तो सुन्दर संसारलाई रोजिन ।
आजभोली जन्मदिने आमालाई देख्छु । उनी खुसी छिन । हाम्लाई छाडेर बसालेको नयाँ घर उनको लागि स्वर्ग जस्तै सुन्दर छ । तर हाम्लाई एउटा जीवनमा न आमाको महत्त्व दिलाउन सकिन न त बाल्य अवस्थाको महत्त्व महसुस गराउन सकिन ।

साँच्चै पीडा दायी थिए ती दिन । लेख्ने पढने उमेरमा सौतेनी आमाको कुटाई बाट बच्न कहिले खोलाको बगरमा बस्थ्यौ त कहिले बनमाराको झाडीमा लुक्थ्यौ । कति सम्म पीडित थियौ भने जाने आफन्तको घर सम्म थिएन । आएका आफन्तहरु नयाँ आमाको कचकच बाट आजित थिए । उनीहरू भन्थे “ तेरा घरमा अब आईदैन , कस्तो अलक्षिणा स्वास्नी ल्याएको तेरो बाउ ले ? ”

हामी आफै अचम्म थियै , उनीहरू हाम्लाई प्रश्न गर्थे । संसारमा अरू धेरै नारी थिए , अरू धेरै आमा बन्न लाएक आईमाई थिए होलान् तर मेरा बा ले यिन्लाईनै भेटाए जसले हाम्रो स्वर्ग जस्तो संसारलाई नर्क बनाईदिईन ।

पढाइको महत्त्व आजभोली बुझेको छु । त्यो बेला साथीहरू किताब बोकेर स्कुल जाँदा रुखको टुप्पा बाट या बारीको कान्ला बाट लुकेर हेर्न बाध्य भए , किनभने हाम्रो भाग्यमा लेखेको थिएन । आमाले पकाएको खायर बाको हात समातेर स्कुल जाने उमेरमा म भागेर कालापार पुगेको हु । अब यसको दोष कस्लाई दिनु ? मेरो भाग्यलाई या ती नयाँ आमालाई ? जो सौतेनी आमा बनेर हाम्रो जीवनमा आईन ।

आमाका अनेक रूप हुन्छन् रे । मेरो अर्थमा चैँ दानवको रुममा सौतेनी आमा आउँदा रैछन जसले हामी जस्ता अभागीलाई तहस नहस पार्दा रैछन । सोच्छु ! के यस्ती आमालाई दण्ड दिदैनन ती भगवानले , जसले हाम्रो भाग्यमा पीडा लेखेर आफ्नो कर्तव्य पूरा भएको महसुस गरे ।
भगवान् बाट भरोसा त मलाई त्यतिबेलै उठेको हो , जतिबेला आमा खोज्दै म दिनरात भौतारिन्थे । भोकै सुत्दा सपनी मा आमाले खुवाएको मात्र देख्थे । बिपनिमा न आमा हुन्थिन न पेटमा केही अन्न तर पनि खोजिरहन्थे मेरी आमा ।

भगवान् हुन्थे भने छाडेर जाने आमाको सट्टा अर्कि आमा नै पठाउथे , सौतेनी आमाको रूपमा दानव होइन । मैले आमा भेट्टाईदिन भगवान् लाई पुकारा गर्दै हिडेकोबेला यता बा ले नयाँ आमा भित्राए , जसले गर्दा पनि भगवान् प्रतिको मेरो भरोसा टुट्यो तर पनि मन्दिर देख्दा ढोग्छु , चाडवाडमा भगवानलाई सम्झिन्छु अनि भन्छु “ प्लिज भगवान् ! आमाको नाता दिएर सौतेनी आमा कसैलाई नदे ।”