एसएसपी ठूलेले भने सिधै एक्सनमा जाने हो ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एसएसपी ठूलेले भने सिधै एक्सनमा जाने हो !



हिमाल पोस्ट / २१ माघ, काठमाडौं ।  महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी ठूले राईले अपराधीविरुद्ध आफू सिधै एक्सनमा जाने बताएका छन् ।

ठूले राई तीनै प्रहरी अधिकृत हुन्, जसलाई सशस्त्र द्वन्द्वकालमा माओवादीले अपहरण गरेको थियो । अपहरणमा पर्दा उनी डीएसपी थिए । तत्कालिन सरकारले माओवादी नेता देव गुरुङलाई जेलबाट छाडेपछि उनी अपहरणमुक्त भएका थिए ।

 

माओवादी नेतृत्वको सरकारकै पालामा हालै ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसएसपी राईले भने, ‘प्रहरीले योजनामा काम गर्ने होइन, सिधै एक्सनमा जाने हो । तर अपराध अनुसार ।’

पछिल्लो समय ललितपुर लागुऔषध कारोबारीदेखि टोले गुण्डाको आश्रयस्थल बन्न लागेको गुनासो छ । एसएसपी राईले भने अपराध अनुसार कारबाही हुने बताउँछन् । उनले भने, ‘म भर्खर आएको छु । कसले सेल्टर लिएको छ कि छैन हामी खोज्छौं ।’

उनका अनुसार उनी पहिल्यै सूची बनाएर आएका छैनन् । भन्छन्, ‘निगरानी गर्छु । निगरानीबाट सूचना आउँछ । त्यसका आधारमा कार्वाही गर्ने यो शैली हो ।’

उनले अघि भने, ‘यस्तो कारबाही गर्छु उस्तो कारबाही गर्छु भनेर पहिल्यै भन्ने होइन । अपराध अनुसारको सजाय दिने हो । अपराध गर्नेविरुद्ध प्रहरीले कुनै सम्झौता गर्दैन ।’

साथै उनले बोलेर नभई काम गरेर देखाउने बताएका छन् । ‘लागूऔषध कारोबारी होस् या अरु कुनै धन्दा होस् । सबैलाई कानुनको दायरामा ल्याउने मेरो ड्युटी हो । त्यसमा कुनै सम्झौता हुँदैन,’ उनले भने ।