शिवजीलाई आयकर नलाग्ने तर छोरा गणेशलाई कर लाग्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

शिवजीलाई आयकर नलाग्ने तर छोरा गणेशलाई कर लाग्ने



काठमाडौँ, २१ जेठ । पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ ।

यो विभेदलाई देवस्थलको व्यवस्थापनमा लागेका पशुपति विकास कोष र गुठी संस्थानले सुल्झाउन सकेका छैनन् ।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले अर्थ मन्त्रालयले देवस्वमा आयकर नलगाउनु भनी परिपत्र गरे पनि आन्तरिक राजस्व कार्यालयले देवस्वमा कर नलिन मिल्दैन भन्दै कर कट्टा गरिरहेको बताए ।

उनले कर कटाउनु गल्ती भयो भनेर आन्तरिक राजस्व कार्यालयले एक समय काटिएको कर पनि फिर्ता गरेको स्मरण गर्दै पुनः कर छोड्नै हुँदैन भनेर आयकर कट्टा गर्न थालेको बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनका अनुसार पशुपतिनाथको आयस्थामा कर बुझाउनुपर्ने दायित्व कोषलाई नभए पनि पशुपतिनाथका मूल पूजारीसहित अन्य पुजारी र भण्डारीले बुझ्ने पारिश्रमिकमा आयकर लाग्ने र नाथको आयस्ता भेटीमा कर नलाग्ने दाबी गरे ।

संविधानअनुसार सङ्घीय व्यवस्थामा गुठी आयस्ता बाहेकको रकम मात्र सञ्चित कोषमा दाखिला हुने र सङ्घीय वा प्रदेश सरकारले पनि देवस्वको रकमलाई प्रदेश वा सङ्घीय सरकारको कोषमा दाखिला नहुने व्यवस्था गरेको छ ।

यसो भए पनि हाल पशुपतिनाथको भेटी, दान दातव्यलगायतका आयस्तामा कर नलाग्ने तर सूर्य विनायकलगायत उपत्यकाका चार विनायक, चार नारायण र गुठी संस्थानअन्तर्गतका साढे दुई हजारभन्दा बढीका देवताको आयस्तामा भने यो कर लागिरहेको छ ।

संस्थानका प्रशासक नारायण चौधरीले संविधानको मर्म र भावना विपरीत देवताको आयस्तामा आयकर लगाउनु गैरसंवैधानिक कार्य भएको दाबी गर्दै यसलाई हटाउनुपर्ने बताए ।

देव मन्दिरको आयस्तालाई राजस्वमा मिसाउँदा दोष लाग्छ भनेर विगतका संविधानमा पनि देवस्व र राजस्व अलग गरिएको हो तर यसको विपरीत कार्य भइरहेको संस्थानका प्रवक्ता थपलिया बताए ।

यस विषयमा आन्तरिक राजस्व विभागका पदाधिकारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

गुठी संस्थानका प्रवक्ता थपलियाले भने, ‘पशुपतिनाथको आयमा कर लाग्दैन तर उनैका छोरा सोह्हाते गणेश र मरु गणेशलाई आयस्तामा आयकर लाग्ने गरेको छ ।  यस्तो पनि ठीक हो त ?’ गोरखापत्र दैनिकबाट