एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एसइर्इकाे रिजल्ट चित्त बुझेन ? यसो गर्नुहोस



काठमाडाैं । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको माध्यमिक शिक्षा (एसइई) कक्षा १० काे परीक्षाफलमा आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गर्नसक्ने व्यवस्था गरेको छ । विद्यार्थीले प्रतिविषय रु ५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित शिक्षा निर्देशनालय वा शिक्षा विभाग तथा समन्वय इकाईमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।

पूरक अर्थात ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त गरेको छ र त्यस्ता विषयमध्ये निजले चाहेको विषयमा र मूल परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा दुई विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात ग्रेडवृद्धि परीक्षमा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

कार्यालयले आगामी साउन २३ गते बुधबार बिहान ८ बजेबाट परीक्षा संचालन गर्ने व्यवस्था गरेको नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । २३ गतेबाट परीक्षा शुरु हुने भएपछि विस्तृत रुपमा परीक्षा तालिका भने कार्यालयले केही दिनपछि मात्रै प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो ।

शिक्षा ऐनले कक्षा १२ सम्मलाई विद्यालय तहका रुपमा व्यवस्था गरेपछि उक्त परिवर्तन भएको हो । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने संशोधित ऐनमा व्यवस्था भए पनि यसवर्षसम्म कार्यालयले परीक्षा संचालन एवं नतिजा सार्वजनिक गरेको छ । आगामी वर्षदेखि भने कक्षा १० को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने योजना रहेको बताइएको छ ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेवसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३४८४९, ३१००५, ३५००१, ३४००० र ३३६२४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । नतिजाका लागि शिक्षा मन्त्रालयको www.moe.gov.np, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np मा लगायतमा नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।