सत्ताको लोभ त्याग्न प्रधानमन्त्री देउवालाई दाहालको दबाब - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सत्ताको लोभ त्याग्न प्रधानमन्त्री देउवालाई दाहालको दबाब



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ताको लोभ त्याग्न दबाब दिएका हुन् ।

बालुवाटारमा भएको भेटवार्तामा देउवाले राष्ट्रपतिकहाँ पुगेको राष्ट्रियसभा अध्यादेश जस्ताको तस्तै पारित नभएसम्म सरकार नछाड्ने संकेत गरेपछि दाहालले जनमतको सम्मान गर्न सम्झाएको दाहालका स्वकीय सचिव जोगबहादुर महराले बताए ।

‘राजनीतिक सहमतिबिना प्रदेश प्रमुख तोक्ने र जनमतविपरीत सरकारको आयु लम्ब्याउने काम नगर्न अध्यक्षले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो,’ महराले भने, ‘प्रधानमन्त्रीले चाहिँ राष्ट्रपतिकहाँ पठाएको अध्यादेश पारित भएपछि सरकार छोड्ने र सरकारमा टाँसिइरहन लालायित नभएको अडान दोहोर्‍यायो ।’ राष्ट्रियसभाको परिणाम नआई नयाँ सरकार गठन हुन नसक्ने र त्यसका लागि राष्ट्रपति कार्यालयमा पुगेको अध्यादेश पारित हुनुपर्नेमा प्रधानमन्त्रीले विशेष जोड दिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार शनिबार बिहान भएको भेटवार्तामा देउवाले दाहाललाई राष्ट्रियसभा अध्यादेश राष्ट्रपतिकहाँ रोकिनु दुःखद् भएको भन्दै एमालेले त्यसमा जनाइरहेको विरोध गलत भएको बताएका थिए । राष्ट्रपति भण्डारीले विधेयकलाई अड्काएको आशंका प्रधानमन्त्रीले गरेको परियारले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।