सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पूर्वाञ्चलका ब्याडमिन्टन खेलाडी छनौट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पूर्वाञ्चलका ब्याडमिन्टन खेलाडी छनौट



धनकुटा, २४ मङ्सिर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका पुरुषतर्फ सात र महिलातर्फ पाँचजना छनौट भएकाछन् । प्रतियोगितामा प्रथम स्थानसहित भोजपुरका विवेक श्रेष्ठ, उपविजेता खोटाङका जीवन आचार्य तथा भोजपुरकै विशाल मोक्तान, सुनसरीका सुजन श्रेष्ठ, सुनसरीका प्रकाश लिम्बू, झापाका प्रनिश ठकुरी र भोजपुरका सुवास तामाङ छनौट हुनुभएको छ ।

छनौट प्रतियोगिताको फाइनलमा पुरुष सिङ्गलतर्फ भोजपुरका विवेक श्रेष्ठले खोटाङका जीवन आचार्यलाई २३–२१, २१–१५ को सोझो सेटमा हराउँदै प्रथम स्थान हासिल गर्नुभएको छ । महिलातर्फ प्रथम स्थानसहित मोरङका सीमा राजवंशी तथा उपविजेता खोटाङका सुजाता राई छनौट हुनुभएको छ । यसैगरी, छनौटभएका अन्य खेलाडीमा सीताकुमारी राई, भोजपुर, रीमा कर्माचार्य, सुनसरी र नीता लम्साल, मोरङ, रहनुभएको छ ।

महिलातर्फको फाइनल खेलमा मोरङका सीमा राजवंशीले खोटाङका सुजाता राईलाई २१–१४ पराजित गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सम्पन्न भएको छनौट प्रतियोगितामा पूर्वाञ्चलका १६ जिल्लाबाट पुरुषतर्फ ६७ र महिलातर्फ ४२ जनाको सहभागिता रहेको थियो ।

छनौटमा परेका खेलाडी आगामी राष्ट्रिय प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद समिति धनकुटाका अध्यक्ष योगेन्द्र राईले बताउनुभयो । रासस