सरकार गठनमा कांग्रेस-माओवादीको यस्तो तयारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकार गठनमा कांग्रेस-माओवादीको यस्तो तयारी



वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको सामान्य समीक्षा भए पनि प्रत्यक्ष भेटवार्ता नै भएर कुराकानी भने भएको छैन। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

दोस्रो चरण (२१ मंसिर) मा सम्पन्न चुनावअगाडि १७ मंसिरमा यी दुई नेताबीच छलफल भएको थियो। त्यसयता ओली-दाहाल भेट भएको छैन। ओलीले चुनाव परिणामपछि बुधबार दाहालसँग छलफलका लागि आग्रह गरेका थिए। तर, दाहालले आफू मतदाताबीच व्यस्त रहनुपर्ने कारण खुलाएपछि ओली-दाहालबीच बुधबार भेट हुन पाएन। दाहाल बिहीबार मध्याह्न मात्र काठमाडौं आइपुग्नेछन्। भरतपुर महानगरपालिका वडा नम्बर ६, ८ र ९ का मतदातासँग बिहानै भेटेर मध्याह्नसम्म काठमाडौं आउने गरी दाहालले कार्यक्रम बनाएका छन्।

दाहाल काठमाडौं आएसँगै ओलीसँग हुने भेटवार्तामा नयाँ सरकार र पार्टी एकतालगायत विषयमा छलफल हुने माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए। ‘ओलीजीले बुधबार नै भेटघाटको कुरा गर्नुभएको थियो तर अध्यक्ष (दाहाल)को जिल्लामै कार्यक्रमको व्यस्तताका कारण सम्भव भएन। बिहीबार दुई नेताबीच भेट भएर छलफल हुन्छ’, उनले भने।

दुई नेताबीच अबको सरकारको नेतृत्वका विषयमा मोटामोटी छलफल चलिसकेको छ। निर्वाचन परिणाममा एमाले ठूलो दल बनेपछि एमाले अध्यक्ष ओलीले नै नयाँ सरकारको नेतृत्व गर्ने अनौपचारिक समझदारी भइसकेको छ। तर, त्यसको औपचारिक निर्णय नभएका कारण मात्र ओलीको नाम प्रस्तावका रुपमा आउन भने सकिरहेको छैन।

एमाले सचिव प्रदीप ज्ञवालीले सरकार ओलीको नेतृत्वमा बन्नेमा दुई पार्टीमा विमति नभएको बताए। ‘सरकार केपी ओलीको नेतृत्वमा बन्छ, यसमा दुई पार्टीबीच विमति छैन तर यसको औपचारिक निर्णय मात्र भई नसकेको हो’, ज्ञवालीले भने, ‘त्यसले पनि अब छिट्टै औपचारिकता पाउँछ।’

संविधानको धारा ७६ ले प्रतिनिधिसभातर्फको सम्पूर्ण नतिजा सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले बहुमत प्राप्त दल वा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई नयाँ प्रधानमन्त्री चयन गर्न सक्ने प्रावधान संविधानमा रहेका कारण पनि नयाँ सरकार गठनको गृहकार्यमा नेता जुट्न थालेका हुन्।

आयोगले प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक गरेर समानुपातिक तर्फको पनि अन्तिम गणनाको काम अहिले गरिरहेको छ। यस हिसाबले पनि अबको सात-दश दिनभित्रै सम्पूर्ण परिणाम आउने देखिन्छ। जसकारण यी दुई पार्टीले चुनावलगत्तै गर्ने भनेको पार्टी एकता भने सरकार गठन पछि नै धकेलिने निश्चितप्राय देखिएको छ।

‘चुनावको सबै परिणाम आएसँगै आन्तरिक र संयुक्त बैठक पनि हामी बस्दै छौं, सरकार गठन प्रक्रिया थालिहाल्छौं, पार्टी एकताको काम पनि अगाडि बढ्छ, त्यसको कतिपय काम एकता संयोजन समितिले अगाडि बढाएको पनि छ,’ ज्ञवालीले भने, ‘निर्वाचन परिणाम आएको एक महिनाभित्र सरकार गठन गरिसक्ने गरी अगाडि बढ्नुपर्ने भएकाले हामी त्यतातिर केन्द्रित हुन्छौं। तर, पार्टी एकता प्रक्रिया पनि बढाउँछौं र फागनुसम्म टुंग्याउने गरी जान सक्छौं।’

एमाले अहिले तत्काल नयाँ सरकार गठन गरिहाल्ने पक्षमा बढी केन्द्रित हुन चाहेको देखिन्छ भने माओवादीले एकता प्रक्रियाको सम्पूर्ण कार्ययोजना तयार पारेर सरकारको प्रक्रियामा जान चाहेको देखिन्छ। माओवादी अध्यक्ष दाहालको चाहना अहिले त्यस्तो देखिन्छ। अध्यक्ष दाहालले १७ असोजमा एमाले-माओवादीबीच भएको समझदारीका आधारमा अब पार्टी एकता प्रक्रिया अगाडि बढाउन चाहेका छन्।

पार्टी एकता प्रक्रिया र सरकार गठनको काम एकैपकट टुंगो लगाउने गरी दाहालले सोचिरहेका छन्। त्यसको खुलासा उनले गृहजिल्ला चितवनमै पत्रकारसँग पनि गरिसकेका थिए। ‘निर्वाचनको सबै परिणाम आइसकेपछि हामी पार्टी एकता संयोजन समितिमा तुरुन्तै बस्छौँ। हाम्रो कोसिस सकेसम्म पार्टी एउटै बनाएर सरकार बनाउनतिर हुन्छ। तर, सरकार बनाउन ढिला गर्न नहुने प्राविधिक कानुनी कारणले त्यसो भएछ भने पनि पार्टी एकताको सम्पूर्ण योजना र कार्यक्रम बनाएर सरकार बन्छ,’ दाहालको भनाइ थियो।

दाहालको त्यस्तो सोचको पुष्टि अझ माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले पनि गरे। ‘अध्यक्षले सकभर सरकार गठनअगावै पार्टी एकता, नभए पनि एकता प्रक्रियाको कार्ययोजना बनाएर नयाँ सरकार गठनमा जाने सोचिरहनुभएको छ,’ चितवनमा अध्यक्ष दाहालसँगै रहेका उनले भने, ‘पार्टी एकताका लागि अब दुई वटा पार्टी कमिटीलाई एउटै बनाउँदै लैजाने विषय हो, यसको गृहकार्य गर्ने र सरकार पनि गठन गर्ने गरी अध्यक्षले सोचिरहनुभएको छ।’ दाहालको व्यस्तताका कारण अहिले उनले आफ्नै पार्टीका नेतासँग यस विषयमा छलफल गर्न भने पाएका छैनन्।

पार्टी नेता पनि आफ्नै गृहजिल्लामा रहेका कारण यस विषयमा छलफल भई नसकेको माओवादी अर्का सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले बताए। ‘एउटै कम्युनिस्ट केन्द्र बनाउने, समाजवादको मोडेल तयार पारेर आर्थिक समृद्धि र विकासमा जाने भन्ने मूल सैद्धान्तिक विषयमा सहमत भइसकेपछि पार्टी एकता गर्ने कुरामा हामीमा केही समस्या छैन,’ सापकोटाले भने, ‘हामी सबै अहिले आ-आफ्नै निर्वाचन क्षेत्रमा रहेका कारण छलफल गर्न भ्याएका छैनौं, अब केही दिनमै यस विषयमा घनीभूत छलफल हुनेछ।’