किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

किन साम्पाओलीविरुद्ध उत्रिए मेस्सी ?



मस्को- समूहगत चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलले पराजित भएपछि अर्जेन्टिनाका सिनियर खेलाडिहरु खासगरी लियोनल मेस्सी,जेभियर मस्चेरानोले अर्जेन्टिना फुटबल संघका अधिकारीसँग तत्कालै छलफल गरे।

छलफलमा उनीहरुले टोली प्रशिक्षक जर्ज साम्पाओलीमाथी आफ्नो विश्वास नरहेको बताउँदै रणनिती नै कमजोर रहेका कारण अर्जेन्टिना असफल भएको निष्कर्श निकाले। लगत्तै अर्जेन्टिनाले प्रशिक्षक साम्पाओलीलाई बर्खास्त गर्दै छ भन्ने चर्चा चल्यो।

त्यसको खण्डन गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा अर्जेन्टिना फुटबल संघका कार्यकारी प्रमुख क्लाउडियो तापियासहित केही सिनियर खेलाडी पनि उपस्थित थिए। तापियाले साम्पाओलीलाई तत्कालै बर्खास्त गर्ने चर्चाको खन्डन गरे। कार्यक्रममा साम्पा‍ओली भने उपस्थित थिएनन्।

विषेषगरी तीन जनामात्र डिफेन्डर खेलाउने साम्पाओलीको रणनितीको चर्को आलोचना भइरहेको छ। यी प्रशिक्षकले टोलीका स्टार स्ट्राइकर मेस्सीलाई सदुपयोग गर्ने रणनिती बनाउन नसकेको आरोप छ। समूहमा पहिलो खेलमा आईसल्यान्डसँग १-१ गोलको बराबरी खेलेकाे अर्जेन्टिना दोस्रो खेलमा नमिठो हारपछि संकटमा परेको छ। मंगलबार हुने समूहको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई हराएमात्र अर्जेन्टिनाको अगाडि बढ्ने सम्भावना रहने छ।

दुई पटकको विजेता तथा साविक उपविजेता अर्जेन्टिना सन् २००२ यता समूहगत चरणबाट बाहिरिएको छैन। पाँच पटक फिफा वर्ष खेलाडी घोषित मेस्सीको लागि यो अन्तिम विश्वकपका भएका कारण अर्जेन्टिना विश्वकप जित्ने लक्ष्यसहित यो प्रतियोगितामा आएको थियो। टोलिको लगातार कमजोर प्रदर्शनपछि डिएगो म्याराडोनासहित पुर्व अर्जेन्टिनी खेलाडीले प्रशिक्षक साम्पाओलीप्रति आक्रोश पोखेका छन्।

क्रोएसियाविरुद्धको खेलमा चर्चित खेलाडीहरु गोन्जालो हिग्वेन, एन्जेल डि मारिया, पाउलो डिबाला लगायतलाई सुरुवाती टोलीमा समावेश गरिएको थिएन। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार नाइजेरियाविरुद्ध हुने खेलमा टीमको छनोटमा साम्पाओलीको भुमिका रहने छैन।

उनीहरुले आईसल्यान्डविरुद्ध गोल गरेका एगुएरोलाई नाइजेरियाविरुद्ध सुरुवाती टोलीमा समावेश नहुने उल्लेख गरेका छन्। पहिलो खेलमा क्रोएसियासँग २-० गोलले पराजित भएको नाइजेरिया दोस्रो खेलमा आईसल्यान्डलाई २-० गोलले हराउन सफल भएको थियो।

विश्वकप चलिरहँदा प्रशिक्षकविरुद्ध खेलाडी उत्रिएको यो पहिलोपटक होइन। सन् २०१० को विश्वकपमा फ्रान्सका खेलाडीले प्रशिक्षक रेमन्ड डोमेनेखसँग प्रशिक्षण गर्न अस्विकार गरेका थिए। निकोलास एनेल्कालाई आफुसँग विवाद गरेको भन्दै डोमेनेखले स्वदेश फिर्ता गरेपछि बाँकी खेलाडी प्रशिक्षकविरुद्ध उत्रिएका थिए।

त्यस विश्वकपमा साविक उपविजेताका रुपमा सहभागी भएको फ्रान्स समूहमा केवल एक अंक मात्र प्राप्त गरी घर फर्किएको थियो। सन् २०१२ देखि २०१६ सम्म चिलीको प्रशिक्षक रहेका साम्पाओलीलाई त्यसपछि अर्जेन्टिनाले जिम्मेवारी दिएको थियो। साम्पाओली चिलीको प्रशिक्षक रहेका बेला अर्जेन्टिना दुई पटक कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो।