'संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

'संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत'



पोखरा, माघ ९ गते । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्रहित विपरीत भएको बताउनुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय मोर्चा सङ्गठनको आयोजनामा आजदेखि पोखरामा सुरु तीनदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधान संशोधनका लागि सारिएका चारवटै बुँदा राष्ट्र एवम् जनताका लागि आवश्यक नभएको बताउनुभयो ।

पहाड एवम् तराईलाई छुट्याउने, राष्ट्रिय एकता एवम् राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउँदै उहाँले त्यसबाट देशलाई जोगाउन एमाले सक्रियताका साथ लागेको धारणा राख्नुभयो ।

संविधानको कार्यान्वयनका लागि देशमा निर्वाचन हुनुपर्ने भए पनि वर्तमान सरकारले यस विषयलाई आफ्नो प्राथमिकतामा नराखी अन्य कुरामा अल्मलिएको अध्यक्ष ओलीको भनाइ थियो ।

देशका विद्यमान चुनौतीलाई पार लगाउने शक्ति एमालेमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सो अवसरमा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिवर्तनको मोडमा देश बढिरहेको बताउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभयो ।

राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानलाई कमजोर बनाउने षड्यन्त्रस्वरुप जातीय, धार्मिकलगायतका विषयलाई उछाल्ने प्रयास भएको बताउँदै उहाँले त्यस्ता षड्यन्त्रबाट प्रभावित नबन्न पनि कार्यकतालाई आग्रह गर्नुभयो ।

एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले गुट उपगुटबाट माथि उठेर पार्टीलाई आगामी दिनमा अझै सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।

युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले आन्दोलनका उपलब्धि संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् पार्टीका मोर्चा सङ्गठन संयोजक गोकर्ण विष्टले तीनदिने भेला एवम् प्रशिक्षण कार्यक्रममा मोर्चाअन्तर्गतका विभिन्न २० वटा सङ्गठनका पदाधिकारी गरी करिब ४०० जनाको सहभागिता रहेको जानकारी दिनुभयो । रासस