सिटौला प्रत्यक्षबाटै चुनाव लड्ने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सिटौला प्रत्यक्षबाटै चुनाव लड्ने



काठमाडाैं/कात्तिक १३  ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन् । पार्टीले उनको नाम समानुपातिक सूचीबाट झिकेर प्रत्यक्षकै उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने निश्चित भएको हो । सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा ३ बाट सातौं पटक चुनाव लड्न लागेका हुन् । यसअघि पार्टीले उनको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेर निर्वाचन आयोगलाई बुझाएको थियो । अाजको कान्तिपुरमा खबर छ-तर, सिटौलाको तीव्र असन्तुष्टि, कार्यकर्ताको चौतर्फी दबाबका कारण पार्टीले आइतबार उनको नाम समानुपातिक सूचीबाट हटाएको हो ।

सिटौलालाई प्रत्यक्षबाटै उम्मेदवार बनाउने निर्णय शुक्रबार बसेको कांग्रेस संसदीय समितिको बैठकमा भएको थियो । तर, गठबन्धनमा असर पर्ने भन्दै सार्वजनिक गरिएको थिएन । लोकतान्त्रिक गठबन्धनअन्तर्गत झापा ३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गर्दै आएको थियो । उक्त क्षेत्रबाट राप्रपाले महामन्त्री राजेन्द्र लिङ्देनलाई उम्मेदवार बनाउने बताउँदै आएको थियो । तर, सिटौलाले क्षेत्र छाड्न नमानेपछि पार्टी सभापति शेरबहादुर देउवा पछि हटेको कांग्रेस स्रोतको भनाइ छ । सिटौला प्रत्यक्षकै उम्मेदवार बन्ने भएपछि गृहजिल्लाका कार्यकर्ता खुसी भएका छन् ।

पार्टीले नाम समानुपातिकमा राखे पनि सिटौलाले आफ्नो क्षेत्रमा चुनावको तयारी दुई साता अघिदेखि नै सुरु गराइसकेका छन् । सिटौलाको निर्देशनमा क्षेत्रीय समितिले वडाहरुमा वुथ समिति, तरुण दल, नेपाल महिला संघ र टोल समितिहरु बनाइसकेको छ ।

पार्टीभित्र शीर्ष वरीयतामा रहेका सिटौला रणनीतिक नेताका रुपमा चिनिन्छन् । शान्ति प्रक्रिया र गणतन्त्र प्राप्तिका एक मुख्य पात्र हुन् । सिटौलाले उक्त क्षेत्रमा ०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । ४८ मा सिटौला एमालेका द्रोणचार्य क्षेत्रीसँग पराजित भएका थिए । कार्यकाल नसकिँदै उनको निधन भएपछि ०५० मा भएको उपनिर्वाचनमा भने सिटौला निर्वाचित भएका थिए । ६ महिनापछि भएको मध्यावधिक निर्वाचनमा सिटौला एमालेका पुष्पराज पोखरेलसँग पराजित भएका थिए । त्यसपछि ०५६ र ०७० मा सिटौला निर्वाचित भए । ०६४ मा माओवादीका पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए ।

कांग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको उक्त क्षेत्रमा दोस्रो संविधानसभा चुनावमा राप्रपा उदय भयो । उसका लिङ्देन एमालेलाई पछि पार्दै सिटौलाका निकटतम् प्रतिस्पर्धी बने । स्थानीय तहको चुनावमा उक्त क्षेत्रभित्र पर्ने चारवटा स्थानीय तहमध्ये राप्रपाले दुईटाको प्रमुख जितेको छ । त्यसकारण गठबन्धनभित्र प्रदेश नं. १ मै राप्रपाले उक्त क्षेत्र मात्र माग गर्दै आएको थियो । तर, जिल्लावासीले एमाले अध्यक्ष केपी ओलीपछि जिल्लाकोतर्फबाट सिटौलालाई राष्ट्रिय राजनीतिमा विकल्पका रुपमा हेरेका छन् । केही दिनअघि जिल्ला आएका सिटौलालाई कार्यकर्ताहरुले कुनै हालतमा प्रत्यक्षबाटै उम्मेदवार बन्न आग्रह गरेका थिए. ।