रोकिएन चेलीबेटी बेचबिखन : तेस्रो मुलुक जान कञ्चनपुरको बाटो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

रोकिएन चेलीबेटी बेचबिखन : तेस्रो मुलुक जान कञ्चनपुरको बाटो



वैदेशिक रोजगारीको आवरणमा चेलीबेटी बेचबिखन

बसन्त न्यौपाने
पुनर्वास, कञ्चनपुर । मानवजीवनकै कलंकका रुपमा रहेको चेलीबेटी बेचबिखन नेपालमा अझै समस्याकै रुपमा रहेको छ । मानवजीवनको विकासको सेरोफेरोबाट सुरू भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि संसारमा यस्ता अपराधहरु झनै बढ्दै गएका छन्।

मानिसभित्र मानवीयभन्दा बढी दानवीय व्यवहार हाबी हुँदा चेलीबेटी बेचबिखन, बलात्कार, यौनजन्य हिंसाजस्ता थुप्रै समस्याहरुको पुनरावृत्ति भइरहेका छन् । विगत केही समयदेखि वैदेशिक रोजगारीका लागि बाहिरिने तर त्यसबारे पर्ने समस्याका बारेमा चेतना नभएका चेलीहरु अधिकतम रुपमा बेचबिखनको उच्च जोखिममा छन् ।
हरेक क्षेत्रबाट चेलीबेटी बेचबिखन न्यूनीकरणका प्रयासहरु हुँदै आए पनि त्यसको प्रभावकारिता त्यति भएको पाइँदैन । नेपालमा भइरहेका दर्जनौँ आपराधिक घटनामध्ये चेलीबेटी बेचबिखन एउटा डरलाग्दो समस्याका रुपमा रहिआएको छ ।

मानव जीवनको विकासको सेरोफेरोबाट शुरु भएको मानवीय हिंसाका प्रकृतिहरु फेरिए पनि चेलीबेटी बेचबिखनका घटना रोकिएका छैनन् । कञ्चनपुरको हकमा चेलीबेटी बेचबिखन समस्याका रुपमा देखापरेको सरोकारवाला निकायले बताएका छन् । सरकारी र गैरसरकारी संस्थाले चेलीबेटी बेचबिखन रोक्न अभियानमा वर्षेनी लाखौँ पैसा खर्च गरेपनि न्यूनीकरण भएका छैनन् ।

त्यस्तै कञ्चनपुरको दक्षिणी क्षेत्र हुँदै भारततिर लैजादै गरेको अवस्थामा बैशाख ९ गते आइतबार राति दलाल सहित एक जना किशोरीलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा नुवाकोट घर भएकि सुकमाया तामाङ र बेलौरी घर भएका कृष्ण मल्ल रहेका छन।

पुनर्वासमा रहेको महिला विकास शाखा र निडस कञ्चनपुरको सक्रियतामा सोमबार सांझ पुनर्वास नगरपालिका १ को मध्य भागमा पर्ने बैसाखी हुँदै भारत तिर मोटरसाइकल बाट लैजाने क्रममा नेपाल भारत सिमा स्तम्भ २०१ नजिकै रहेको भारतीय एस.एस.बि ले नियन्त्रणमा लिएर लामो समयको सोधपुछ पछि दुबै जनालाई अबेर राति ईलाका प्रहरी कार्यलय बेलौरी बुझाएको थियोे।

नुवाकोट घर भएकि २० वर्षकी सुकमाया तामाङ रहेकी छन् भने भारत लैजाने बेलौरी नगरपालिका १ बैसाखीका २८ वर्षका कृष्ण मल्ल रहेका छन्। युवतीले दिएको बयान अनुसार आफू संगै रहेका दुई जना युवतीलाई भने भारत कटाइसकेको उनलेे बताइन् ।

पीडित तामाङले भनिन् ,- ‘नुवाकोट देखि कञ्चनपुर सम्म आइपुग्दा मल्लले मलाई आफ्नो घरमा नै बस्न लगायो र मैले त्यहाँ अरु दुई महिलालाई पनि देखे तर उसले हामीलाई एकअर्काका बीचमा सम्बाद हुन नसक्ने गरि अलग अलग कोठामा राख्यो, दलालको जालमा फस्दै छौं भन्ने हामीलाई होस नै भएन”। सुरुमा दुई जनालाई भारत पारी पुर्याइ पुनः आफुलाइ लगिएको उनले थपिन्।

युवती बेचबिखन गर्ने गिरोहमा संलग्न मल्ललाई नेपाल प्रहरीको रहोवरमा महिला शाखा पुनर्वासकि सदस्य सुकमाया मुक्तान र निडस नेपाल कञ्चनपुरकि सामाजिक परिचालिका सुनिता तामाङले मानव बेचबिखन तथा ओसारपसार एेन अन्तर्गत कृष्ण मल्लको नाउँमा मुद्दा दायर गरि महेन्द्रनगर लगिएको थियोे। मल्ल सहित चेलीबेटी बेचबिखनमा संलग्न अन्य गिरोहको खोजी गरि मानव बेचबिखन एेन अन्तर्गत कार्वाही हुने ईलाका प्रहरी कार्यलय बेलौरिका प्रहरी निरीक्षक कृष्ण दत्त भट्टले बताए ।

कमजोर आर्थिक अवस्था, शैक्षिक ज्ञान नहुनु, चेतनाको कमी, बेरोजगार, सीमा समस्या, छोटो समयमा धेरै पैसा कमाउने लालसा जस्ता कारणले प्रभावित भएर महिला जीवनका सबै रहर खोसिएको पत्तो नपाउँदा बेचबिखनमा पर्ने गरेको महिला अधिकार कर्मीहरुको भनाइ छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दलालहरुले खुला नाकाको फाइदा उठाउदै जिल्लाको दक्षिणी क्षेत्रको बाटोलाई बढी प्रयोग गरिने भएकोले दक्षिणी क्षेत्रमा नागरिक सहायता केन्द्र स्थापना हुनुपर्ने महिला अधिकारकर्मी तथा स्थानीय को माग रहेको छ ।