नेपाल रोग नै नलाग्ने देश हो: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नेपाल रोग नै नलाग्ने देश हो: प्रधानमन्त्री ओली



बिराटनगर– प्रधानमन्त्री केपी ओलीले नेपालीहरु विद्वान पुर्खाका सन्तान भएको बताएका छन्।

शनिबार प्रदेश १ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘जतिबेला लिपी थिएन, त्यसबेला पनि हाम्रा विद्वान पुर्खाले विद्या बाँडेका थिए। हामीसँग त्यस्ता पुर्खाको जिन छ।’

उनले नेपालमा प्रदुषणका कारण मात्रै रोग लगाेको बताएका छन्। ‘हाम्रो देश सामान्य प्रदुषित भएर मात्रै हो नत्र रोग नलाग्ने देश हो’, प्रदेशसभामा उनले भने।

प्रधानमन्त्रीले जनताको अपेक्षा र भरोसालाई पूरा गर्न सांसदहरुलाई आग्रह गरेका छन्। ‘हामी ठूलो परिवर्तनपछि नयाँ अभिभारा पूरा गर्ने बाटोमा अघि बढेका छौं’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले पुराना अनुपयुक्त शासन व्यवस्था र प्रणाली होइन, जनपक्षीय प्रणाली लागु गर्नुपर्ने बताए।

प्रधानमन्त्रीले हिमाल र वातावरणप्रति पनि चिन्ता व्यक्त गरेका छन्। ‘हरेकले भौगोलिक अवस्थिति र वातावरणका लागि योगदान गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो देशमा प्रकृतिको अद्भूत रचना छ।’

उनले हाम्रो प्रकृति सुन्दरमात्रै नभइ जीवनमय पनि भएको चर्चा गरे।

प्रधानमन्त्रीले प्रदेश १ असाधारण प्रदेश भएको बताए। ‘विश्व चिनाउने सगरमाथा सहितका हिमाल छन्’, उनले भने, ‘यो असाधारण चिज हो।’

प्रधानमन्त्रीले अाफूले पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि नछोड्ने प्रतिबद्धता प्रदेश १ को सभामा पनि दोहोर्‍याएका छन्। यसअघिका विभिन्न भाषणहरुमा उनले यो प्रतिबद्धतालाई प्राथमिकता दिने गरेका थिए।

प्रधानमन्त्रीले विकासका लागि पैसा ठूलो कुरा नभएको बताएका छन्। ‘अब ठूला र योजनाबद्ध विकास गर्नुपर्छ’, उनले भने, ‘केन्द्र सरकारले सहयोग गर्छ।’

प्रधानमन्त्रीले सरकार शासन गर्नका लागि नभइ सेवा, सुशासन र विकास गर्नका लागि हुनुपर्ने बताए। ‘६० लाखदेखि ८० लाख जनता निरपेक्ष गरिबीको रेखामुनि छन्’, उनले भने, ‘तिनीहरुलाई खान दिने जिम्मेवारी हाम्रो हो।’