सुतिरहेको कुकुरमाथि अलकत्रा र तातो रोडा खन्याएर आधा शरीर पिच गरिएपछि - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुतिरहेको कुकुरमाथि अलकत्रा र तातो रोडा खन्याएर आधा शरीर पिच गरिएपछि



नयाँ दिल्ली: संसारकै धेरै गरिब रहेकोमध्ये एउटा देश भारतमा पशुमाथि भएको एउटा बर्बरताको घटना सामुन्ने आएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि नै रोडा र अलकत्रा खन्याएर पिच गरिएको हो ।

मानवीय सभ्यतालाई नै स्तब्ध बनाउने यो घटनाको फोटो अहिले विश्वभर भाइरल भइरहेको छ । सुतिरहेको कुकुरमाथि अलकत्रा र तातो रोडा खन्याएर आधा शरीरसमेत पिच गरिएपछि चर्को आलोचना सुरु भएको छ।

तातो अलकत्रा र रोडा खन्याएर सडकसँगै आधा शरीर पिच गरिएको कुकुरको ज्यान गएको छ । कुकुर संरक्षण अभियन्तका अनुसार सडकमा सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा खन्याएपछि रोलर चलाइएको थियो । रोलरले थिचेपछि आधा शरीर जलेको अवस्थामा त्यो कुकुरलाई निकालिएको थियो ।

स्थानीयबासी वीरेन्द्र सिंहलाई उधृत गर्दै डेली मेलले प्रकाशित गरेको समाचार अनुसार कुकुरको पछाडिको खुट्टो पुरै जलेको थियो । सडक पिच गर्ने मजदुरले कुकुर नमरुन्जेलसम्म पिच भत्काउन पनि नमानेको स्थानीयले बताएका छन् ।

कुकुरमाथि भएको बर्बरतापछि त्यहाँ भेला भएका पशुं संरक्षण अभियन्ताहरुले भारत सरकारको पब्लिक वर्क्स डिपार्टमेन्टविरुद्ध नाराबाजी गर्दै यो लापरबाहीमा संलग्नमाथि कारबाही चलाउन माग गरेका छन् ।

तर यो डिपार्टमेन्टका अधिकारीहरुले यसमा आफूहरुको दोष नभएको बताउँदै सडक पिच गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई नै दोष थोपर्दै जिम्मेवारी लिनबाट पन्छिएका छन् ।

कुकुरमाथि भएको बर्बर घटनापछि रिसाएका प्रदर्शनकारीले निर्माण कम्पनीमा रोलर र अन्य निर्माण सामाग्री पनि नियन्त्रणमा लिएका छन् । उनीहरुले निर्माण कम्पनीका मालिकालाई घटनास्थलमा उपस्थित हुन चेतावनी दिएका छन् ।

आगराको सरदार पु्लिस स्टेशनका अधिकृत नरेन्द्र कुमारले यो घटनाको जाहेरी दर्ता गरिएको जनाउँदै कुकुरमाथि बर्बर व्यवहार गरेर ज्यान लिने निर्माण कम्पनीलाई काममा प्रतिबन्ध लगाउने तयारी भएको जनाएका छन् ।