राष्ट्रियसभा निर्वाचनका लागि एमालेमा पाएको सिटभन्दा चार गुणा धेरै सिफारिस - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

राष्ट्रियसभा निर्वाचनका लागि एमालेमा पाएको सिटभन्दा चार गुणा धेरै सिफारिस



काठमाडौं । एमालेका प्रदेश कमिटीले राष्ट्रियसभाको निर्वाचनका लागि भागबन्डामा पार्टीले पाएको सिटभन्दा चार गुणा धेरै सिफारिस गरेका छन् ।

माघ ३ को वाम गठबन्धनको कार्यदल बैठकले राष्ट्रियसभाका निर्वाचन हुने ५६ सिटमध्ये ४३ सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । एमालेको भागमा परेका २९ सिटमा तोकिएभन्दा धेरै सिफारिस आएको हो । राष्ट्रियसभाका लागि गरिएका सिफारिसमा पूर्वसांसद् तथा पूर्वमन्त्री समेत छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मापदण्डअनुसार पठाउनु पर्नेमा धेरै पठाउँदा उम्मेदवार छनोट गर्न कठिन भएको एमाले सचिव प्रदीप ज्ञवालीले बताए। ‘प्रदेश १ र २ बाट धेरै सिफारिस आएका छन् । एउटा सिटमा ३ जनाको सिफारिस गर्न भनिएकोमा धेरै सिफारिस आएका छन् । मापदण्डभित्र रहेर छनोट गरिने छ’, उनले भने । उनले एमालेको स्थायी समितिको सोमबारको बैठकले प्रदेशबाट सिफारिस नामको टुंगो लाग्ने बताए । माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्नुपर्छ ।

एमालेको स्थायी समितिले राष्ट्रियसभा सदस्य चयनका लागि निश्चित मापदण्ड तय गरेको थियो । योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्‍याएका तथा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नउठेका तथा समानुपातिक सूचीमा नपरेका, विज्ञ तथा विशेषज्ञ छनोट गर्न प्रदेश कमिटीलाई जिम्मा दिएको थियो ।

प्रदेश १ का ६ सिटमा वाम गठबन्धनले उम्मेदवारी दिने भएको छ । एउटा महिला सिट माओवादीले पाएको छ भने ५ सिट एमालेले पाएको छ । तर प्रदेश कमिटीले दलित, महिला अल्पसंख्यक र खुला गरी ४६ जनाको नाम सिफारिस गरेको छ। दलित कोटाका लागि तेह्रथुमबाट विष्णुमाया विक, सुनसरीबाट डीवी शाह शंकर, मोरङबाट खेम नेपाली, झापाबाट गुन्ज बराइलीलगायत सिफारिस भएका छन् । महिलातर्फ भोजपुरबाट जयन्ती राय, सुनसरीबाट इन्धु गौतम, मोरङबाट नयनकला ओझा, मालती सुब्बा, दिव्या चामलिङ राईलगायत १२ जनाको सिफारिस गरिएको छ ।

अल्पसंख्यकबाट सोलुखुम्बुबाट मानवीर राई, खोटाङबाट कर्ण घले, धनकुटाबाट दुर्गा लिंखा, मोरङबाट अम्बरबहादुर धिमाल, वीपी राई, बालेश्वर कामतलगायत १४ जनाको सिफारिस गरिएको छ । मोरङबाट देवमान सम्बाहाम्फे, सत्यनारायण चौधरी, गुरू बराल, झापाबाट, खगेन्द्र चुडाल, हरि शरण सिवाकोटी, देवेन्द्र दाहाल, अग्नी खरेल, रविन कोइरालालगायत पनि सिफारिसमा परेका छन् ।

प्रदेश २ को महिला सिट माओवादी र खुला सिट एमालेले पाएका छन् । वाम गठबन्धनले ६ सिटमा अन्य दलसँग छलफलपछि निर्णय गर्ने भएको छन् । राष्ट्रियसभाका लागि प्रदेश २ बाट ५६ जनाको नाम सिफारिस गरिएको प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डलले बताए । प्रदेश ३ मा एउटा खुलामा माओवादी र बाँकी ६ सिट एमालेले लिएको छ । प्रदेश ३ कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार २४ जनाको नाम सिफारिस गरिएको छ । ‘आएका नाम हामीले सिफारिस गरेका हौं । समानुपातिकमा नपरेका र जिल्लाबाट योगदान गर्र्ने राष्ट्रियसभाका आकांक्षी देखिए’, उनले भनिन् ।

प्रदेश ४ मा ४ सिटमध्ये दलित तथा एक महिला गरी २ सिट माओवादीले लिएको भने अपांग र बाँकी सिट एमालेले पाएको छ। एमाले प्रदेश ४ कमिटीले १० जनाको नाम सिफारिस गरेको छ । खुला एक सिटमा पोलिटब्युरो सदस्य गणेश तिमिल्सेना सिफारिसमा परेका छन् । महिला २ सिटमा नवलपुरकी रामकुमारी पाण्डेय, गोरखाकी विमला बोगटीसहित ६ जनाको सिफारिस गरिएको छ। प्रदेश ५ मा अपाङ तथा महिला माओवादीले र दलित सिट एमालेले लिएको छ। २ खुला सिट एमालेले लिएको छ । एमालेबाट प्रदेश ५ बाट क्लस्टरअनुसार २४ जनाको नाम सिफारिस भएको छ ।

प्रदेश ६ मा ५ एमाले र ३ सिट माओवादीले लिएको छ । एमालेका ५ सिटमा क्लस्टरअनुसार १५ जनाको सिफारिस गरिएको छ । जाजरकोटबाट भैरवसुन्दर श्रेष्ठ, दैलेखबाट लक्ष्मीप्रसाद पोखरेललगायको सिफारिस गरिएको छ । महिलातर्फ हुम्लाबाट कविता बोगटी, सुर्र्खेतबाट नन्दा गुरूङसहित ४ जनाको सिफारिस गरिएको छ । दलिततर्फ सुर्खेतका तेजबहादुर विक, हुम्लाबाट मल्ले तार्की र मुगुबाट जर्मन नेपालीको सिफारिस गरिएको छ। ५ सिटमा ३ गुणा धेरै सिफारिस पठाएको एमाले नेता यमलाल कँडेलले बताए । ‘८० जना आकांक्षी देखिएपछि छनोट गर्न हम्मे पर्‍यो’, उनले भने ।

प्रदेश ७ मा २ सिट माओवादीले र ५ सिट एमाले लिएको छ । एक सिटमा तीन जनाको दरले सिफारिस गरिएको नेता कर्ण थापाले बताए । ‘६५ जनाको नाम आए पनि मापदण्डअनुसार जम्मा १२ जनाको सिफारिस गरिएको छ’, उनले भने । पुरुष खुलातर्फ कैलालीका महेश्वर पाठक, कञ्चनपुरका विक्रम शाही र अछामबाट शेरबहादुर कुँवर छन् । महिलातर्फ डोटीबाट गौरी ओली, कैलालीबाट कमला ओली, बाजुराबाट राधिका बोहोरासहित ६ जनाको सिफारिस गरिएको छ । दलिततर्फ बैतडीबाट पुनसिंह दयाल, बझाङबाट अफिलाल ओखेडा, डँडेल्धुराबाट चक्र स्नेहीको सिफारिस गरिएको छ ।