राप्रपा दुर्घटनाको मोडमा : कमल थापालाई हटाउनेदेखि पार्टी फुटाउनेसम्मको रणनीति - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राप्रपा दुर्घटनाको मोडमा : कमल थापालाई हटाउनेदेखि पार्टी फुटाउनेसम्मको रणनीति



काठमाडौँ– पार्टीका अध्यक्ष कमल थापाले एकल निर्णय गरेको भन्दै त्यस विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा शीर्ष नेताहरूले गोप्य रणनीति तयार पारेका छन् । उनीहरूले गोप्य भेला गर्दै पार्टी अध्यक्ष कमल थापालाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारीमा लागेका छन् ।

गत जेठ दोस्रो साताबाटै मोर्चाबन्दीमा उत्रेका सो पार्टीका १० जना सांसदहरुलाई पछिल्लो समय समर्थन बढ्दै गएको बताइएको छ । पछिल्लो समय सांसद सङ्ख्या १५ पुग्नुका साथै पार्टीका वरिष्ठ नेता पशुपति शमशेर राणा, दीपक बोहोरा लगायतका नेताहरूले साथ दिएका छन् ।

सो क्रममा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रबादीको समेत सहयोग रहेको बुझिएको छ । पार्टी अध्यक्ष थापाले संविधान संशोधनको पक्षमा राप्रपा रहेको धारणा सार्वजनिक गरेपछि सो पार्टीका सांसदहरु लगातार गोप्य भेला र छलफलमार्फत अध्यक्ष थापाविरुद्धको मोर्चाबन्दीमा लागेका हुन् ।

गत सोमबारयता दिनहुँजसो गोप्य भेला बोलाएर छलफलमा जुटेका उनीहरूले बुधवारसम्म कुनै ठोस निर्णय भने गरिनसकेको बताएका छन् । यद्यपि दैनिकजसो स्थान फेर्दै छलफलमा जुटेका उनीहरूले बुधवार दुई स्थानमा गोप्य भेला गरेका छन् । बुधवार बिहान पहिलो चरणमा राप्रपाकै वरिष्ठ नेता पशुपति शम्सेर राणाको निवास विजयबासमा गोप्य भेला भएको थियो भने दोस्रो भेला ललितपुरमा एक नेताको घरमा राखेका थिए ।

राणा निवास विजयबासमा भएको भेलामा अध्यक्ष कमल थापालाई संसदीय दलबाट हटाएर दीपक बोहोरालाई बनाउने तथा सरकारमा जानुपरे दीपक बोहोरा र विक्रम पाण्डेलाई पठाउने लगायतका विषयमा छलफल भएको छ । त्यो योजना पुरा नभए चालिस–साठिठ्को सङ्ख्यामा सांसद सङ्ख्या पुराएर पार्टी नै फुटाउनुपरे पनि पछि नपर्ने विषयमा छलफल भएको श्रोतले बताएको छ ।

विजयबासपछि स्थान फेरेर लललितपुरको एक घरमा बुधबारै भएको अर्को भेलामा सहभागीमध्येका एक सांसदले अध्यक्ष कमल थापाको अवसरवादी चरित्र नसुध्रिएको, पार्टीको मूल सिद्धान्तबाट विचलित भएको तथा राष्ट्रघाती संविधान संशोधनमा हाम्फालेकाले आफूहरू मोर्चाबन्दीमा लागेको बताए । उनले कुनै पनि हालतमा आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने– ‘अब कमल थापा सच्चिने स्थिति पनि छैन, सच्चिएर पनि काम छैन, त्यसैले हामी आफ्नो रोडम्याप तयार गर्दैछौ, सायद एकदुई दिनमा रिजल्ट आउँछ होला ।’ श्रोतका अनुसार सो भेलामा पुर्वराजा ज्ञानेन्द्र शाहका विश्वासपात्रहरु समेत सहभागी बनेका छन् । भेलामा डा. प्रकाशचन्द्र लोहनीको पार्टी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीका शीर्ष नेताहरू समेत सक्रिय सहभागी बनेका छन् ।

श्रोतका अनुसार उनीहरूको गोप्य भेलामा तत्काललाई संविधान संशोधनबाट सरकार नै पछि हटेपनि फेरी उक्त प्रस्ताव आउन सक्ने भन्दै पुन संशोधनको प्रस्ताव ल्याए जसरी पनि असफल पार्ने विषयमा छलफल भएको छ ।

बुधवारको गोप्य भेलामा सहभागी अर्का एक सदस्यका अनुसार १० जनाबाट सुरु भएको कमल थापाविरुद्धको मोर्चाबन्दीमा अहिले १५ जना सांसद पुगिसकेका छन् । त्यस्तै नेता पशुपति संशेर राणा, दीपक बोहोरा, बुद्धिमान तामाङलगायतको पनि समर्थन रहेको छ । अध्यक्ष कमल थापाको निर्णयविरुद्ध गत जेठ १७ गतेबाटै राप्रपाका सांसद रामकुमार सुब्बाको नेतृत्वमा सुरु भएको मोर्चाबन्दीमा विराज विष्ट, रेसम लामा, रमेश तामाङ, सयन्द्र बान्तावा, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, बबिता लावती मोक्तान लगायत छन् । यीमध्ये केही पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा चलेको आरोप राप्रपा संस्थापन पक्षको छ ।

असन्तुष्ट सांसद तथा नेताहरूको गोप्य भेलाबारे संथापन पक्षले भने सामान्य लिएको बताएको छ । कमल थापा निकट मानिने राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले कुनै एक दुईजना असन्तुष्टहरुको भेला हुँदैमा पार्टीलाई कुनै घाटा नहुने बताए । उनले रातोपाटीसँगको टेलिफोनमा भने– एकदुई जनाले गोप्य भेला गर्दैमा संसदीय दलको नेता फेर्न सक्ने कुरा हुँदैन । त्यो सम्भावना पनि छैन । ’

प्रवक्ता श्रेष्ठले यदि कसैले पार्टीको नीति सिद्धान्त र विधानविपरित गलत काम गरेको पाइएको अनुसासनको कारबाही गर्ने चेतावनी दिए । रातो पाटीबाट