सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी



राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।

पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए। नेता यादवले विकास, निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

नेता यादवले सरकारले विकासको सपना देखाएपनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। यसअघि राजपाका नेताहरुले प्रधानमन्त्री ओलीलार्इ बालुवाटार नै पुगेर आफुहरु आन्दोलनको तयारीमा रहेको जानकारी दिएका थिए।

सरकारले संविधान संशोधन लगायतका आफ्ना मागलार्इ बेवास्ता गरेकाले राजपा चिढिएको छ। लामो समयबाट राजपाले संविधान संशोधन र रेशम चौधरीको रिहार्इ लगायतका माग सरकारसामु राख्दै आएतापनि सरकारले उक्त विषयलार्इ बेवास्था गरेकाले आफुहरुले सरकारलार्इ दिएको समर्थन फिर्ता लिन बाध्य हुन लागेको राजपाका एक नेता बताउँछन्।

राजपा स्रोतका अनुसार जेठ २५ गते बोलाइएको राजनीतिक समितिको बैठकले सरकारलार्इ दिएको समर्थन र आन्दोलनको कार्यदिशाबारे छलफल गर्नेछ। उक्त बैठकले पार्टीको महाधिवेशन र संसदीय दलको चुनावको तिथिमिति लगायतका कुराहरुको टुंगो लगाउने राजपाका नेताहरुले जनाएका छन्।