राजपाको एक बर्ष: न नीति न नेतृत्व - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राजपाको एक बर्ष: न नीति न नेतृत्व



‘महाभारत युद्ध पाँच पाण्डवले लडेका थिए अब राजपा पनि त्यही शैलीमा अगाडी बढ्नेछ । ’ राजपा नेताले पार्टी एकता लगत्तै यस्तै भनेका थिए । ‘महन्थ ठाकुर युधिष्ठिर हुन् । महेन्द्र राय यादव भिष्म हुन् । शरदसिंह भण्डारी अर्जुन हुन् । हामीसँग राजेन्द्र महतो पनि छन,’ एकता घोषणा सभामा राजकिशोर यादवले भनेका थिए । तर पाँच पार्टी मिलेर एक भएको एक बर्ष वित्यो त्यसको कुनै झनक मिलेको छैन ।

आज राजपाले पार्टी एकताको बर्षगाँठ मनाउँदैछ । यो बिचमा भएका तीनवटै तहको चुनावमा राजपाले बलियो उपस्थित देखाउन सकेन । प्रदेश नम्बर २ मा पनि संघिय समाजवादी फोरम भन्दा कमजोर देखियो । देशभरीको उपस्थित छैन । सरकारमा सहभागिता नहुँदा बार्गेनिङ क्षमता पनि कमजोर बनेको छ । एक बर्षमा प्रष्ट नीति तय गर्न सकेन । महाधिवेसन गरेर नेतृत्व नचयन गर्न सकेको छैन । पाँचै जनाले आफ्नै हैसियतमा दावी गरिरहेका छन् ।

मुद्दामा पनि कमजोर
संशोधनको विषयमा सहमति भइसकेको छैन । तर, संशोधनका आधारहरु तय भइसकेका भने छैनन । फोरम सरकारमा जाने भएपछि आपूmहरु पनि सरकारमा जानुपर्ने तर्क राजपाभित्र बलियो छ । हुन त वाम गठबन्धनले सरकारमा राजपालाई ल्याउने गरि छलफल अगाडि बढाएको छैन । तर, राजपामा नेताहरु नै सरकारमा जाने गरि आफ्नै पहलमा सम्वादमा छ । राजपाभित्र ६ वटा गुट छन् । त्यसैले पनि सरकारमा जान आन्तरिकरुपमै समस्या छ । एकातिर बढीमा ३ वटा मन्त्रालय पाउने संभावना छ । तर, ६ वटा गुटका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने भएकाले आन्तरिक समस्या जटिल भएको हो ।

राजपाका एक नेताका अनुसार सरकारसँग उपराष्ट्रपति र ३ वटा मन्त्रालय मागिएको छ । त्यो अवस्थामा राजपाभित्रको एउटा पक्षले महन्थ ठाकुरलाई उपराष्ट्रपतिमा पठाउने लवि गरेको छ । ठाकुरलाई उपराष्ट्रपतिमा सेटल गर्न सकिए राजेन्द्र महतो पार्टीको अध्यक्ष हुनेछन । १७ जना प्रतिनिधिसभाका सांसदमध्ये १० जना राजेन्द्र महतो पक्षधर निर्वा्चित छन् ।

त्यसैले महतो पक्ष ठाकुरलाई सरकारी कोटामा सेटल गर्न मनसायमा छन् । सोही कारण महतो अहिले वामगठबन्धनको सरकार जानुपर्ने तर्क गरिरहेका छन् । त्यसैगरी महतोलाई साथ दिनेमा महेन्द्र राय यादव र शरतसिंह भण्डारी पनि हुन । उनीहरु पनि सरकारमा जानुपर्ने तर्क गरिरहेका छन् । अहिले राजकिशोर यादव सरकारमा जान नहुने अडानमा छन् भने अनिल झा मौन देखिएका छन् । महन्थ ठाकुर उपराष्ट्रपति पाए जाने कि भन्ने मनस्थितिमा रहेको राजपामा एक नेताको दावी छ ।