सरकारसंग इच्छाशक्ति छ, देश कायापलट हुन्छ : मन्त्री महासेठ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सरकारसंग इच्छाशक्ति छ, देश कायापलट हुन्छ : मन्त्री महासेठ



भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले चुनावी घोषणापत्रमा उल्लेख गरिएका सबै काम पाँच वर्षभित्र सम्पन्न गरिने दाबी गरेका छन्।

आइतबार रिपोर्टस क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले अहिलेको सरकारलाई काम नगर्न कुनै पनि बहाना नभएकाले पाँच वर्षभित्रमा लक्षित योजनाहरू सम्पन्न गरेरै छाड्ने बताए।

आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिए पनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने बताए ।

साक्षात्कारमा मन्त्री महासेठले पाँच वर्षभित्रमा काठमाडौंमा रेलमार्ग निर्माण हुने दाबी समेत गरे। महासेठले केही दिनभित्र नै काठमाडौं र , ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाडौं उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे।

इच्छाशक्ति भए जस्तोसुकै काम पनि गर्न सकिने उनको भनाइ छ।

‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन। इच्छाशक्ति भएपछि सबै सकिन्छ। पाँच वर्षभित्रमा उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस्,’ महासेठले भने, ‘थाई एयरवेज र नेपाल वायु सेवा निगम एउटै वर्ष स्थापना भएको हो। थाई एयरवेज आज कहाँ पुगिसक्यो। नेपाल वायु सेवा निगम कहाँ छ? इच्छाशक्तिका कारण हो।’

नेपालमा विकासका लागि पर्याप्त स्रोत साधन भए पनि त्यसको सदुपयोग हुन नसक्दा विकास हुन नसकेको भन्दै उनले अब सबै स्रोत साधनको सदुपयोग गरिने बताए।

‘एउटा खानी उत्खनन गर्न सके पनि ५० वर्षलाई पुग्छ। हामीले नसकेको कामबाहिरको सहयोग लिएर गर्न सक्छौं। सहयोग त चीनले पनि लिन्छ नि,’ उनले भने।

विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे।

‘विगतलाई बिर्सौँ। अहिले हाम्रा राजनेताहरुमा इच्छाशक्ति छ। प्रधानमन्त्री ओलीले विकास निर्माणसँग सम्बन्धित सबै मन्त्रालयको सोझै निगरानी गरिरहनुभएको छ।’

अघिल्लो सरकारले देशको अर्थतन्त्र लथालिङ्ग पारेर छोडेको आरोप लगाउँदै उनले आफूहरु उच्च मनोबलका साथ काम गरेर सबै समस्या हल गर्ने बताए।

फरक प्रसङ्गमा महासेठले संघीय समाजवादी फोरम नेपालर राजपा छिट्टै सरकारमा सहभागी हुने दाबी गरे। ‘फोरम र राजपा सरकारमा आउँछन्, ढुक्क हुनुस्। फोरम २ दिनभित्रमा आउँछ । राजपा पनि केहीदिनमा आउँछ,’ उनले भने।